सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी दोस्रो स्थानमा उक्लियो – Nepal Press

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवशीय क्रिकेट प्रतियोगितामा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई २७.४ ओभरमा अलआउट गरेसँगै ६३ रनको विजय लक्ष्य पाएको थियो । झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाएर ६४ रन बनायो ।

लुम्बिनीका लागि सौरभ खनाल र प्रकाश केसीले अविजित रहँदै क्रमश: १८ र १७ रन बनाए । त्यस्तै, कप्तान कृष्ण कार्की १५ रनमा आउट हुँदा देव खानालले ९ रनको योगदान गरे । सुदूरपश्चिमका लागि शेर मल्लले २ तथा विनोद लामाले १ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई २७.४ ओभरमा अल आउट गरेको थियो । सशक्त बलिङ गरेको लुम्बिनीका लागि कप्तान कार्कीले १० ओभरमा १७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएका थिए ।

त्यस्तै, अनिल खरेल र विक्रम भूसालले २/२ तथा सन्दीप सुनार र दिपेन्द्र रावतले १/१ विकेट लिए ।

लुम्बिनीको आक्रमक बलिङसामु सम्हालिन नसकेको सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका चार ब्याट्सम्यानले खाता खोल्न सकेनन् भने नरेन्द्र साउद अविजित रहे ।

यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको लुम्बिनी जितसँगै समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको बाग्मती प्रदेश शीर्ष स्थानमा छ । लुम्बिनी समान नतिजा निकालेको साविक विजेता नेपाल पुलिस क्लब नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

समूह चरणका खेल पश्चात दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर