प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित – Nepal Press

प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

काठमाडौं । मिनाश थापाको ५ विकेटप्रेरित प्रदेश १ ले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा २१६ रनको लक्ष्य पछ्याएको कर्णालीलले ३५ ओभरमा अल आउट हुँदै १५६ रन मात्रै बनाउन सक्यो । सशक्त बलिङ गरेको प्रदेश १ ले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

घातक बलिङ गरेका मिनाशले १० ओभरमा २६ रन खर्चेर २ मेडनसहित ५ विकेट लिए । त्यस्तै ९ ओभरमा २३ रन दिएका दिपेश कँडेलले ३ मेडनसहित ३ विकेट लिएका थिए । ८ ओभरमा ३९ रन खर्चेका मनोज तामाङले २ विकेट लिए ।

प्रदेश १ को बलिङसामु टिक्न नसकेको कर्णालीका लागि बिपिन रावलले ३४ बलमा ८ चौका र २ छक्कासहित ४७ सर्वाधिक ४७ रन बनाए । निश्चल रावलले ३१, कप्तान रबिन्द्र साहीले १८ तथा दिवन पुनले १४ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश नम्बर १ कर्णाली प्रदेशसामु २१६ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रनको योगफल तयार गर्‍यो । प्रदेश १ का लागि कप्तान सिद्धान्तले ९७ बलमा ९ चौकासहित ६६ रन बनाए ।

शुभन्कर उराओले २८ बलमा ३ चौका र २ छक्कासहित ३६, मिनाश थापाले २५ तथा श्रावण यादव र फिर्दोस अन्सारीले १७/१ रनको योगदान गरे ।

कर्णालीका लागि रबिन्द्र शाहीले ८ ओभरमा ३६ रन खर्चेर १ मेडनसहित २ विकेट लिए । अनुज चुनारा र दिनेश अधिकारीले २/२ विकेट लिएका थिए ।

यसअघि गण्डकी प्रदेश, एपिएफ र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको प्रदेश १ प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।

यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको कर्णालीको सेमिफाइन प्रवेशको सम्भावना जिवित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर