नेपालमा ल्याइएको खोप ‘सुरक्षित’, यस्ता छन् विज्ञका सुझाव – Nepal Press

नेपालमा ल्याइएको खोप ‘सुरक्षित’, यस्ता छन् विज्ञका सुझाव

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले खोप लगाएपनि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । भारतबाट विहिबार नेपालमा ल्याइएको खोप तुलनात्मक रुपमा सुरक्षित रहेको समेत उनले बताए ।

फाइजरको खोपले नर्वे र भारत लगायतका मुलुकमा मृत्यु र साइड इफेक्ट भएको तर, नेपालमा ल्याइएको खोप सुरक्षित रहेको उनले उल्लेख गरे । चरित्र बदलिरहेको कोरोनाभाइरसको भेरिएन्टले विकसित खोपको प्रभावकारितालाई चुनौति दिने आशंकाका बीच उनको यस्तो टिप्पणी आएको हो ।

नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो

‘भारत र नर्वेमा भएको मृत्यु फाइजरको खोपको कारणले हो, अक्सफोर्डको कोभिसिल्डले हैन’ उनी भन्छन्, ‘कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउन भनेका छन् । नेपालमा आएको यो खोप हैन ।’ उनले भारतमा भएको दुईजनाको मृत्युमध्ये एकको चाहिँ हृदयघातबाट भएको समेत बताए ।

पहिलो चरणमा नेपालमा १० लाख डोज खोप ल्याइएपनि सबै नागरिकको पहुँचमा खोप पुग्न २०२२ को अन्त्यसम्म कुर्नुपर्ने उनको ठम्याइ छ । महामारीको नियन्त्रण हुने बेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्राजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोप नेपाल ल्याइएको हो । जनस्वास्थ्य विज्ञ पाण्डेले यसरी सुझाव प्रस्तुत गरेका छन् :

  • -भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् | ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो | नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो |
  • -नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ | यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो |
  • -भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो | भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ | कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् | नेपालमा आएको यो खोप हैन |
  • -नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ | दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ | तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ |
  • -यो खोपको भारतमा ०.१५ % लाई साइड इफेक्ट देखिएको जनाइएको छ | खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ | यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् |
  • -सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने / गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ |
  • -कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ |
  • -गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन | तसर्थ नलगाउनु सुरक्षित हुन्छ |
  • -दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु / किड्नी / फोक्सो / मस्तिष्क / ब्लीडिंग डिस्अर्डर / प्लेटलेट सम्बन्धि समस्या / स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ |
  • -नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ |
  • -कोभ्याक्स सुबिधा अन्तर्गत २० % जनसंख्यालाई पुग्नेगरि खोप आउँछ | उक्त खोप २ महिनापछि ३ % जनसंख्याको लागि आउँछ | बाँकी १७ % को लागि उपलब्धता अनुसार बिस्तारै आउँछ |
  • -अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ | खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ |
  • – महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ |

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर