यस्तो हुनेछ बाइडेनको ‘इन्द्रेणी’ मन्त्रीमण्डल, संसारकै ‘समावेशी’ क्याबिनेट बनाउने कसरत – Nepal Press
यस्तो हुनेछ बाइडेनको ‘इन्द्रेणी’ मन्त्रीमण्डल, संसारकै ‘समावेशी’ क्याबिनेट बनाउने कसरत
अमेरिकामा मन्त्रिमण्डल गठनको तयारी
विष्णु शर्मा २०७७ माघ ३ गते ७:२५
२०७७ माघ ३ गते ७:२५

काठमाडौं । जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सुरु गर्न लागेका जो बाइडेनको मन्त्रिमण्डलले लगभग पूर्णता पाएको छ । सम्भावित मन्त्रीमण्डलको स्वरुपको चर्चा पनि सुरु भएको छ ।

बाइडेनले छानेका मन्त्रीको अनुहारमा अधिकांश ओबामा प्रशासनकै अनुहार छन् । प्रक्षेपित ती अनुहार मन्त्रीमण्डलमा अटाए भने यसले अमेरिकी प्रशासनमा समावेशिताको कीर्तिमान त बनाउने छ नै, साथै यसले अमेरिकी लोकतन्त्रमा विविधता थप्ने अनुमान गरिएको छ ।

चुनावी अभियान थाल्दादेखि नै बाइडेनले मन्त्रीपरिषद् ‘अमेरिका’जस्तो देखिने बताएका थिए । भन्नुको अर्थ, अमेरिकाले कल्पना गरेको विविधता क्याबिनेटमा प्रतिविम्वित हुनेछ भन्ने हो । बाइडेनले महिलालाई अघि लगाएका छन् भने जातिय अल्पसंख्यकलाई पनि स्थान दिने निश्चित भएको छ । तर, कतिपयले चाहिँ अझै समावेशी हुनुपर्ने धारणा राखेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि आयोजित समारोहमा जो बाइडेन र कमला ह्यारिस लगायत उनको मन्त्रिमण्डलका सम्भावित सदस्यहरु । तस्विरः वालस्ट्रिट जर्नल

यी सबै सम्भावित मन्त्रीलाई विभाजित सिनेटले अनुमोदन गर्नुपर्नेछ । तर, सिनेटमा दलिय मध्यस्थकर्ताको रूपमा छवि बनाएका जो बाइडेनलाई यो अनुमोदन जुटाउन उति कठिन हुनेछैन । वासिङ्टनमा आफ्नो छवि बनाएका र अनुभव बटुलेका ठूला नामलाई बाइडेनले छनौट गरेका छन् ।

बाइडेन र उनको टीमको अहिलेको मुख्य चुनौति भनेकै कोरोनाभाइरस महामारी नियन्त्रण र महामारीले सिर्जना गरेको आर्थिक संकटसँग जुध्नु हो । शनिबारसम्म भाइरसबाट अमेरिकामा ज्यान गुमाउनको संख्या ३ लाख ७० हजार पुगेको छ । लाखौंले जागिर गुमाएका छन् । बाइडेनले छानेका यी सम्भावित मन्त्रीले कोरोनाभाइरस महामारीबाट राहत दिलाउने योजनामा साथ दिनुपर्नेछ । साथै, घरेलु र बाह्य नीतिमा समर्थन जनाउनुपर्नेछ ।

यस्तो हुनेछ सम्भावित मन्त्रिपरिषद्
सेक्रेटरी अफ स्टेट : टोनी ब्लिंकेन
बाइडेन डेलावेयरबाट सिनेटर हुँदाताका यिनी वैदेशिक सम्बन्ध समितिका निर्देशक थिए । सन् २००८ को बाइडेनको राष्ट्रपति चुनावी अभियानमा पनि सहभागि थिए । बाराक ओबामाको दोस्रो कार्यकालमा उनी सहायक सेक्रेटरी अफ स्टेट थिए । बाइडेन उपराष्ट्रपति टोनी राष्ट्रिय सुरक्षा सल्लाहकार समेत थिए । सन् २०१७ मा उनले वेस्टएक्सेज नामक परामर्शदात्री फर्म खोलेका थिए । २०२० को राष्ट्रपति चुनावी अभियानमा उनी बाइडेनको प्रमुख विदेशी मामिला सल्लाहकार थिए ।

सेक्रेटरी अफ दी ट्रेजरी : जेनेट एलेन
अमेरिकी फेडरल रिजर्भलाई नेतृत्व गर्ने पहिलो महिला थिइन् जेनेट । यदि उनी छानिइन् भने अमेरिकी केन्द्रिय बैंकलाई नेतृत्व गर्ने पहिलो महिला हुनेछिन् । साथै, ह्वाइट हाउसको आर्थिक सल्लाहकार पनि । सन–फ्रान्सिस्को फेडको प्रमुखसहित गर्भनर, युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापक पनि थिइन् उनी ।

सेक्रेटरी अफ डिफेन्स : लियोड अस्टिन
४० वर्षभन्दा बढी समय उनी अमेरिकी सेनामा कार्यरत रहे । मध्यपूर्वमा सैन्य अप्रेसन हेर्ने अमेकिरी सेन्ट्रल कमान्डको रुपमा उनी चारवर्षअघि कार्यरत थिए । एरोस्पेस, प्रतिरक्षा कम्पनी रेथियोन टेक्नोलोजी, हस्पिटल चेन टेनेट हेल्थकेयर, स्टिल उत्पादक कम्पनी नुकोर कर्पमा उनी आबद्ध छन् । लियोडलाई नियुक्त गर्न सिनेटको अनुमोदन जरुरी हुन्छ ।

महान्यायाधिवक्ता : मेरिक गारल्यान्ड
सन् १९१७ मा तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले गारल्यान्डलाई डिस्ट्रिक्ट अफ कोलम्बियास्थित पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए । सन् २०१६ मा राष्ट्रपति बाराक ओबामाले सर्वोच्च अदालतको न्यायधीशमा नियुक्त गरे । तर, सिनेटका रिपब्लिकन सांसदले भने उनको नियुक्तीमा सुनुवाइ र मतदान गर्न अस्वीकार गरे ।

सेक्रेटरी अफ दी इन्टेरियर : डेव हालन्ड
हालन्ड अमेरिकी कंग्रेसमा निर्वाचित दुई महिला सांसदमध्ये एक हुन् । उनी पहिलो रैथाने अमेरिकी क्याबिनेट सेक्रेटरी हुनेछिन् । न्यू मेक्सिको राज्यमा बसोबास गर्ने प्युब्लो अफ लागुना जातिबाट उनी प्रतिनिधित्व गर्छिन् । उनलाई यो पदका लागि अमेरिकी आदिवासी जनजाति समूह, प्रगतिशिल राजनीतिज्ञ र केही रिपब्लिकन सांसदको समर्थन छ ।

सेक्रेटरी अफ एग्रिकल्चर : टम भिल्स्याक
ओबामा प्रशासनमा उनले जुन विभाग सम्हाले, त्यही विभागको हाकिमको रुपमा भिल्स्याक पुनरागमन गर्दैछन् । उनी आठवर्षसम्म ओहायो राज्यको गभर्नर बने । उनले राष्ट्रपति पदका लागि सन् २००६ र २००७ सम्म अभियान चलाए तर, ८६ दिनमै पछाडि हटे ।

सेक्रेटरी अफ कमर्स : गीना रायमोन्डो
सन् २०१४ मा रोधी आइल्यान्डको पहिलो महिला गभर्नरको रुपमा गीना निर्वाचित भएकी थिइन् । त्यसअघि उनी स्टेट जनरल ट्रेजररको रुपमा कार्यरत थिइन् । सन् २०१८ देखि २०१९ सम्म उनले डेमोक्र्याटिक गभर्नस एसोसियसनको नेतृत्व गरिन् । निजामति सेवामा प्रवेश गर्नुअघि उनले जुडिथ क्यापिटल नामक संयुक्त लगानी गर्ने एक कम्पनी खोलेकी थिइन् ।

सेक्रेटरी अफ लेवर : मार्टि वाल्स
सन् २०१३ मा बोस्टनबाट निर्वाचित मेयर हुन् यिनी । २०१७ मा पनि उनी मेयरकै रुपमा निर्वाचित भएका थिए । श्रमिक संगठनसँग उनी निकट मानिन्छन् । मेयरको चुनाव हुनुअघि उनी बोस्टनमा स्थानिय श्रमिक संगठनको प्रमुखको रुपमा कार्यरत थिए । अमेरिकी लेवर युनियनका नेता रिचर्ड ट्रम्पकाले यिनलाई लेबर सेक्रेटरीको रुपमा छनौट गरेका हुन् ।

सेक्रेटरी अफ हेल्थ एन्ड हुमन सर्भिसेज : जेभियर बेसेरा
उनी क्यालिफोर्नियाका महान्यायधीवक्ता हुन् । ओबामा कार्यकालको चर्चित स्वास्थ्य कानुनलाई न्यायीकरुपमा प्रतिरक्षा गर्नको लागि वासिङ्टन डीसीसहित २० राज्यको अगुवाइ गर्ने काममा उनी सक्रिय रहे । सन् १९९३ देखि २०१७ मा उनी प्रतिनिधिसभा सदस्य रहे ।

सेक्रेटरी अफ हाउजिङ एन्ड डेभलपमेन्ट  : मार्सिया फज
उनी अमेरिकी कंग्रेसको ब्ल्याक ककसकी पूर्वअध्यक्ष तथा ओहायो राज्यबाट निर्वाचित सांसद हुन् । सन् २००८ देखि उनले क्लिभल्यान्ड क्षेत्रको प्रतिनिधित्व गर्छिन् । कंग्रेसमा कार्यरत हुनुअघि उनी क्यूओगा काउन्टीको एक ल फर्मममा काम गर्थिन् र त्यसपछि ओहायोको सहर वारेन्सभाइलमा पहिलो अश्वेत महिला मेयरको रुपमा निर्वाचित भइन् ।

सेक्रेटरी अफ ट्रान्सपोर्टेसन : पिटी बटगिएग
उनी जो बाइडेनको प्राइमरी प्रतिस्पर्धी पनि थिए । २०१२ देखि २०२० सम्म साउथ बेन्डमा उनी दुई कार्यकाल मेयर पनि बने । उनको प्रशासनले सहरी विकास तथा आर्थिक पुर्नउत्थानको क्षेत्रमा समेत काम गर्‍यो । ३८ वर्षे उनी अफगानिस्तानमा कार्य गरेका र खुल्ला रुपमा चिनिएका गे मिलिटरी भेट्रान पनि हुन् । आयोयाको कससमा उनले बाइडेनलाई प्राइमरीमा निकै चुनौति दिएका थिए ।

सेक्रेटरी अफ एनर्जी : जेनिफर ग्राहोम
सन् २००३ देखि २०११ सम्म उनी मिसिगन राज्यमा डेमोक्राटिक गभर्नर समेत रहिन् । साथै, उक्त राज्यको महान्यायधीवक्ताको रुपमा चार वर्ष काम गरिन् । सन् २०१५ सम्म राज्यले सोलार र हावाबाट नवीकरणीय ऊर्जाको खपतलाई १० प्रतिशतमा लैजानुपर्छ भनेर उनको प्रशासनले निर्णय गरेको थियो । आफ्नो कार्यकालमा उनले समाप्तीको नजिक पुगेको अमेरिकी अटो उद्योगलाई पुनर्जीवन दिन ओबामा प्रशासनसँग पनि निकट रहेर काम गरिन् ।

सेक्रेटरी अफ एजुकेसन : मिगुएल कार्डोना
सन् २०१९ देखि उनी कनेक्टिकट राज्यको एजुकेसन कमिस्नर रहेका छन् । त्यसअघि उनी सोही राज्यको एक प्राथमिक विद्यालयका प्राध्यानाध्यापक थिए । उनका हजुरबा पुस्ता पुुएर्तो रिकोबाट बसाइ सरेका थिए । सन् ८० को दशकमा लाउरो काभाजोजपछि उनी अमेरिकी शिक्षा मन्त्रालय हाँक्ने दोस्रो ल्याटिन मुलका मन्त्री हुनेछन् ।

सेक्रेटरी अफ होमल्यान्ड सेक्युरिटी : अलेजान्द्रो मार्कोस
क्युवाली यहुदी रहेका उनी सन् १९६० मा फिडेल क्यास्ट्रोको शासनकालमा आप्रवासीको रुपमा अमेरिका आएका थिए । तत्कालिन राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा उनले क्यालिफोर्निया राज्यको न्यायधीवक्ताको रुपमा काम गरेका थिए । कानुनी अनुमति बिना अमेरिकामा आइपुगेका बालबालिकलाई वैधता दिने सम्बन्धी कानुनी बिलमा उनले ओबामाको पहिलो कार्यकालमा सहयोग गरेका थिए । पछिल्लो पटक उनी होमल्यान्ड सेक्युरिटीको सहसचिव पनि बने ।

प्रमुख आर्थिक सल्लाहकार : सेसिलिया रोज
प्रिन्स्टन विश्वविद्यालयको श्रम सम्बन्धी अर्थशाष्त्री हुन् उनी । ओबामा प्रशासनको पहिलो दुईवर्षमा उनी आर्थिक सल्लाहकारको रुपमा काम गरिन् । क्लिन्टन प्रशासनमा पनि उनले काम गरिन् । अमेरिकी मन्त्रिपरिषद्को आर्थिक सल्लाहकारको रुपमा उनी नियुक्त हुने पहिलो अश्वेत महिला हुनेछिन् ।

राष्ट्रसंघको लागि अमेरिकी राजदूत  : लिन्डा थोमस ग्रीनफिल्ड
सन् २०१३ देखि २०१७ सम्म दक्षिण अफ्रिका मामिला हेर्ने गरि उनी सहायक सेक्रेटरी अफ स्टेटको रुपमा काम गरिन् । २००८ देखि २०१२ सम्म उनी लिबियाको राजदूत रहिन् । अहिले उनी अलब्राइट स्टोनव्रिज ग्रुप नामक परामर्श फर्म खोलेर अफ्रिका अफेयरमा काम गरिरहेकी छिन् ।

डिरेक्टर अफ न्यासनल इन्टिलिजेन्स  : एभ्रिल हेनिज 
बाइडेन सिनेटको वैदेशिक सम्बन्ध समितिका प्रमुख हुँदा यिनले उनीसँग कानुनी परामर्शदात्रीको रुपमा मिलेर काम गरिन् । ओबामा कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा उनलाई नजिकबाट चिन्नेहरु भन्छन् –सन् २०१५ मा ७० हजार शरणार्थीलाई अमेरिकामा कानुनी मान्यता दिइएको थियो र २०१७ मा यो संख्या बढेर १ लाख १० हजार पुगेको थियो र उनीहरुलाई कानुनी मान्यता दिलाउने काममा हेनिज सक्रिय थिइन् । अमेरिकी सेनामा ड्रोन हमलाबाट हुने क्षतिलाई घटाउने विभाग प्रमुखको रुपमा उनले ओबामा प्रशासनमा काम गरेकी छन् ।

साथै, माइकल रेगन वातावरणी सुरक्षा एजेन्सीको प्रमुखको रुपमा नियुक्त हुने सम्भावना छ । ओबामा कार्यकालमा डेप्युटी चिफ अफ स्टाफ रहेकी इसाबेल गजम्यान साना ब्यापार हेर्ने विभागकी प्रमुख हुनेछिन् । बजेट ब्यवस्थापन हेर्ने महाशाखा निर्देशकमा दक्षिण एसियाली मुलकी नीरा टण्डन नियुक्त हुनेछिन् । चीनको व्यापार मुद्दा हेर्ने क्याथरिन टाय चाहिँ व्यापार प्रतिनिधि हेडको रुपमा हुनेछिन् ।

कागजपत्र विहिन नेपालीलाई ग्रीनकार्डको बाटोमा लैजाने गरि प्राथमिकतमा राख्दै आएको बृहत अध्यागमन सुधारको एजेन्डालाई संसदमा डेमोक्राटको नियन्त्रणले सजिलो पुग्ने विश्वास लिन सकिन्छ ।

ह्वाइट हाउस चिफ अफ स्टाफको पदमा रन क्लेन नियुक्त हुनेछन् । सन् १९८०को दशकमा सिनेटको कानुनी समिति प्रमुखको रुपमा उनले काम गरेका छन् । पूर्व उपराष्ट्रपति अल गोरको कार्यकालमा पनि उनी चिफ अफ स्टाफ रहिसकेका छन् । ओबामा प्रशासन र बाइडेन उपराष्ट्रपति हुँदा पनि उनी कार्यरत थिए । डेप्युटी चिफ अफ स्टाफ चाहिँ जोन मेली डिलोन हुनेछिन् । उनी सन् २०२० मा बाइडेनको चुनावी अभियानकी व्यवस्थापक समेत हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस । जनवरी २० तारिखमा हुने सपथ ग्रहण समारोहको सुरक्षा बलियो बनाउन १० हजार नेसनल गार्ड राजधानी वासिङ्टन र ह्वाइट हाउसबाहिर परिचालन गरिएको छ ।

राष्ट्रपतिको प्रमुख सल्लाहकारको रुपमा डाना रेमस हुनेछिन् । बाइडेन अभियानको प्रमुख कानुनी सल्लाहकारको रुपमा उनले काम गरेकी छन् । ओबामा प्रशासनमा पनि उनले ह्वाइट हाउस सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेकी थिइन् । स्टिभ रिचेट्टी पनि राष्ट्रपतिको सल्लाहकारको रुपमा नियुक्त हुन सक्नेछन् ।

राष्ट्रिय आर्थिक सल्लाहकारमा ओबामाको २००८ अभियानमा संलग्न ब्रायन डिज हुनेछन् । राष्ट्रिय सुरक्षा सल्लाहकारमा जेक सुलिभान हुने तय छ । बाइडेन उपराष्ट्रपति हुँदा ब्रायन सुरक्षा सल्लाहकार समेत थिए । राष्ट्रपतिको बरिष्ठ सल्लाहकारमा माइक डोनिलियोन हुनेछन् । ह्वाइट हाउस प्रेस सेक्रेटरीमा ओबामा प्रशासनमा काम गरिसकेकी जेन साकी हुनेछिन् । घरेलु नीति विभाग प्रमुखमा राष्ट्रसंघका लागि दूत रहिसकेकी सुसन रइस हुनेछिन् ।

सीआइए निर्देशक : विलियम जे बन्स
उनी रसियाका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । डेमोक्र्याट र रिपब्लिकन दुबै राष्ट्रपति कार्यकाल मातहतमा रहेर उनले डेप्युटी सेक्रेटरीको रुपमा काम गरिसकेका छन् । सन् २०१४ मा पेशाबाट अवकास पाएपछि उनी अन्तराष्ट्रिय शान्ति स्थापना गर्ने संस्थाहरुमा क्रियाशिल थिए ।

जलवायु परिवर्तनका विशेष दूत : जोन केरी
ओबामा प्रशासनमा उनी सेक्रेटरी अफ स्टेट रहिसकेका छन् । म्यासाचुसेट्स राज्यबाट उनी सिनेटर पनि हुन् । सन् २००४ को राष्ट्रपति चुनावमा उनी डेमोक्र्याट पार्टीबाट चुनिएका थिए । राष्ट्रिय सुरक्षा परिषद्को रुपमा उनी ह्वाइट हाउसमा रहनेछन् ।

अमेरिकी अन्तराष्ट्रिय विकास प्रशासकको रुपमा ओबामा प्रशासनको अनुभव बटुलेकी समान्था पावर हुनेछिन् । सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसन प्रमुखको रुपमा ग्यारी गेन्सलर हुनेछन् ।

यस्तो लाग्छ –बाइडेन प्रशासन एउटा इन्द्रेणीको रङजस्तै समावेशी महसुस हुन्छ । जातिय र लैंगिक अल्पसंख्यक, पूर्व सरकारी कर्मचारी र टेक्नोक्र्याट, कुटनीतिज्ञ, प्रशासक, जनप्रतिनिधिलाई मिलाएर बाइडेनले मन्त्रिपरिषद्को स्वरुप दिने तयारी थालेका छन् । जनवरी २० मा बाइडेनले राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरे लगत्तै यी मन्त्रीले काम थाल्नेछन् ।

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि खासगरि अध्यागमन र जलवायु परिवर्तनका मुद्दामा ट्रम्प प्रशासनका अलोकप्रिय निर्णयलाई उल्ट्याउने विचारमा छन् ।  चुनावी अभियानको क्रममा बाइडेन नेपाली मतदातासामु पनि पुगेका थिए र यदि राष्ट्रपति भए नेपाल भ्रमण गर्ने उनले वचन दिएको चर्चा पनि छ ।

अमेरिकी संसदका दुबै सदनमा डेमोक्राटको दबदबा हुनेभएपछि यस्तो खुशिको संचार नेपालीमाझ पनि भएको छ । ११ मिलियन कागजपत्र विहिन नेपालीलाई ग्रीनकार्डको बाटोमा लैजाने गरि प्राथमिकतमा राख्दै आएको बृहत अध्यागमन सुधारको एजेन्डालाई संसदमा डेमोक्राटको नियन्त्रणले सजिलो पुग्ने विश्वास लिन सकिन्छ ।

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि खासगरि अध्यागमन र जलवायु परिवर्तनका मुद्दामा ट्रम्प प्रशासनका अलोकप्रिय निर्णयलाई उल्ट्याउने विचारमा छन् । यसको सीधा प्रभाव ११ मिलियन नेपाली कागजपत्रविहिन नेपालीलाई फाइदा पुग्न सक्छ । साथै, चुनावी अभियानको क्रममा बाइडेन नेपाली मतदातासामु पनि पुगेका थिए र यदि राष्ट्रपति भए नेपाल भ्रमण गर्ने उनले वचन दिएको चर्चा पनि छ ।

बाइडेनले जनवरी २० मा राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्दै छन् ।