वाईसीएलमा नेतृत्व टुंगो लागेन, पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गर्ने तयारी – Nepal Press

वाईसीएलमा नेतृत्व टुंगो लागेन, पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेतृत्व चयन गर्न असफल भएको छ । शनिबारदेखि जारी सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरेर आजै सम्मेलन टुंग्याउने तयारी गरिएको छ ।

राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्नेगरी आजको बन्द सत्र शुरू भएको र केहीबेरमा सम्मेलन सकिने जानकारी दिए । उनका अनुसार ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक बसेर त्यहीँबाट पदाधिकारी चयन गर्ने सहमति बनेको हो ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए।

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठकले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो । तर, प्रचण्डले अघि सारेको विकल्पमा पनि सहमति बन्न नसक्दा वाईसीएलले अहिले वैकल्पिक बाटो रोजेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर