प्रज्ञा प्रतिष्ठानका कुलपति भन्छन्- देवकोटाको घर आफैं ढल्ने अवस्थामा थियो – Nepal Press

प्रज्ञा प्रतिष्ठानका कुलपति भन्छन्- देवकोटाको घर आफैं ढल्ने अवस्थामा थियो

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको करिब ७० वर्ष पुरानो घर अहिले चर्चामा छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा उक्त घर भत्काउन थालिएपछि सम्पदाविददेखि साहित्य अनुरागीहरु समेतले विरोध जनाएका छन् ।

जीर्ण अवस्थामा रहेको घर भत्काएर अर्को पुनःनिर्माण गर्ने निर्णय प्रतिष्ठानले दुई वर्षअघि नै लिएको थियो । प्राविधिक टोलीले अध्ययन गरेर उक्त घरको जीर्णोद्दार हुन नसक्ने प्रतिवेदन दिएपछि भत्काएर अर्को बनाउने निष्कर्षमा प्रतिष्ठान पुगेको हो । तर, अहिले घर भत्काउन सुरु गरेसँगै प्रतिष्ठानको निर्णय विवादमा परेको छ ।

देवकोटाले आफ्नो जीवनका करिब १४ वर्ष यस घरमा गुजारेका थिए । देवकोटाको साहित्यका पारखीहरुका लागि उनले प्रयोग गरेका हरेक वस्तुहरु बहुमूल्य छन् । यहाँ त सिंगै घर भत्काइएपछि विरोध आउनु स्वभाविक थियो । देवकोटाको महत्वपूर्ण चिनोलाई संरक्षणका नाममा ध्वस्त पारेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती भने देवकोटाको घर जीर्णोद्दार गर्नै नसकिने अवस्थामा भएकाले भत्काउनु परेको बताउँछन् । पुरानै घरकै स्वरुपमा नयाँ निर्माण गरेर त्यसलाई संग्रहालय बनाइने उनको भनाइ छ ।

‘बाहिरबाट हेर्दा सद्देजस्तो देखिए पनि भित्र यो घर धुजाधुजा भइसकेको थियो,’ उप्रेतीले भने, ‘हामीले नभत्काएको भए केही महिनामा आफैं ढल्ने अवस्थामा थियो ।’ प्रस्तुत छ, उप्रेतीसँग गरिएको कुराकानी नेपाल टकमाः

देशकै एकजना मुर्धन्य साहित्यकारको चिनोको रुपमा रहेको निजी निवासलाई ध्वस्त पार्ने कठोर निर्णय किन लिनुभयो ?

यसलाई त्यसरी बुझ्नुभएन । हामीले ध्वस्त पारेको नभएर पुनःनिर्माण गर्न लागेको हो । देवकोटाको घर भत्काएर यत्तिकै छोडिदिने होइन । त्यही ठाउँमा पुरानै घरको स्वरुप आउनेगरी उही आकार-प्रकारमा नयाँ बनाउने छौं । भूकम्पले भत्काएको दरबार हाइस्कुल जसरी पुनःनिर्माण गरियो नि, त्यस्तै गर्ने हो ।

यसरी ‘डुब्लिकेट’ बनाउनुभन्दा त्यही घरलाई नै संरक्षण र संवर्द्धन गर्न किन सकिएन ?

नसकिने भएरै हो । त्यो घरलाई कुनै पनि तवरबाट टिकाउन नसकिने ठहर भएपछि नै हामीले भत्काउने निस्कर्षमा पुगेका हौं ।

बाहिरबाट हेर्दा घरको संरचना दुरुस्त देखिन्छ । तर भित्र गएर हेर्नुभयो भने सबै भत्केर धुजाधुजा छ । हामीले पहिल्यै त्यसको फोटो/भिडियोहरु सार्वजनिक गरिसकेका छौं । सबै सञ्चारमाध्यममा आइरहेकै थिए । यदि हामीले अहिले नभत्काएको भए ६ महिना वा एक वर्षपछि आफैं भत्किने अवस्था थियो ।

०७२ सालको भूकम्पले नभत्काएको घर कसरी आफैं भत्किन सक्थ्यो होला र ?

भूकम्पले सिंगो घर नढालेको भए पनि भित्र क्षतविक्षत बनाइसकेको थियो । जसले भित्र गएर हेरेका छैनन् उनीहरुलाई लाग्छ कि यसलाई कुनै तरिकाले अड्याएर राख्न सकिन्थ्यो होला । तर, त्यस्तो होइन ।

दुई वर्षअघि म आफैं गएर हेरेको थिएँ । बाहिरपट्टि पाकेको ईंटा लगाइएको रहेछ, तर भित्रपट्टि सबै काँचो ईंटा रहेछ । पर्खालहरु चरचरी चिरिएको थियो । कूकाठको दलिन राखेर माथिपट्टि माटो लगाइएको रहेछ । त्यो सबै भत्केर तल खसिसकेको थियो ।

अहिले ज्याकेटिङ वा रेट्रोफिटिङ गरेर जसोतसो घरलाई अढ्याउन सकिन्थ्यो होला, तर भोलि सानो भूकम्पले पनि ढाल्ने निश्चित थियो ।

तर पनि महाकविले जीवन गुजारेको महत्वपूर्ण सम्पदा मास्नुअघि पर्याप्त सोचविचार नभएको हो कि ? नत्र किन यति विरोध आउँथ्यो ?

मलाई लाग्छ, हामीले पर्याप्त सोचविचार गरेका छौं । सोचविचार मात्र नभएर प्राविधिक अध्ययन नै गराएका हौं । देवकोटाको घरमा संग्रहालय बनाउने भनेर तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट निर्देशन प्राप्त भएपछि मैले नै प्राविधिक टोली बनाएर अध्ययन गर्न लगाएको थिएँ ।

दुई वर्षअघि उक्त टोलीले लामो प्रतिवेदन दिएको छ । प्रतिवेदनमा घरको अवस्था अत्यन्त जिर्ण रहेकाले यसलाई रेट्रोफिटिङ गर्न सकिन्न, बरु यही स्वरुपमा अर्को बनाउँदा उचित हुन्छ भनेर सुझाव दिइएको थियो । त्यही सुझावअनुसार नयाँ संरचनाको डीपीआर त्यतिबेलै बनाएर काम अघि बढाएका हौं ।

अर्को बिर्सन नहुने कुरा के हो भने, देवकोटा जन्मेको र जीवनको लामो समय गुजारेको घर यो होइन । त्यो घर धोविधारामा छ । योभन्दा राम्रो हालतमा छ । सिमेन्ट लगाएर बनाइएकाले त्यसको बाहिर र भित्र दुवैतिरको पर्खाल राम्रो अवस्थामा छ । त्यसलाई जिर्णोद्दार गर्न सकिन्छ । करिब २०० वर्ष पुरानो त्यो घरमा देवकोटा ३४ वर्षसम्म बस्नु भयो । त्यो चाहिँ वास्तविक सम्पदा हो । त्यसलाई हामी संरक्षण गर्न प्रयास गर्नेछौं ।

मैतीदेवीको चाहिँ घर देवकोटाले परिवारमा अंशबण्डापछि ७०-८० वर्षअघि खरिद गर्नुभएको हो । उहाँले खरिद गर्दा एक तल्ला मात्रै थियो । आफूले दुई तल्ला थप्नुभयो । सायद खरिद गर्दा घरको जग कति कमजोर छ भन्ने हेक्का उहाँलाई पनि थिएन । यो घरमा देवकोटाले १४ वर्ष मात्रै बिताउनुभएको हो ।

र, पनि देवकोटाले अन्तिम सास लिएको घर त यही नै हो नि ?

उहाँले अन्तिम सास लिएको त आर्यघाटमा हो । क्यान्सर भएपछि लामो समय अस्पताल बस्नुभयो र नबाँच्ने अवस्था भएपछि अस्पतालबाटै आर्यघाट लगियो । त्यहीँ देहान्त भयो । हो, उहाँले जीवनको अन्तिम कालखण्ड चाहिँ मैतीदेवीकै घरमा बिताउनुभएको थियो ।

अहिले देवकोटाको घर भत्काइरहँदा त्यहाँभित्र रहेका उहाँका सामानहरुको राम्रो हिफाजत नभएको देखियो । हामी गएका बेला पनि कामदारहरुले भग्नावशेषमा पुरिएका कागजपत्र, फोटो, पुस्तक इत्यादि चिजहरु निकालेर यत्रतत्र फालिरहेका थिए । यस्तो हेलचेक्र्याइँ किन ?

त्यस्तो विलकुल होइन । हामीले देवकोटाको घर जिम्मा लिइसकेपछि उहाँसँग जोडिएका त्यहाँ भएका सबै सामग्रीहरु पहिल्यै निकालेर सुरक्षित राखिसकेका छौं । परिवारको रोहबरमा बकाइदा मुचुल्का गरेर ती सामानहरु उठाइएको छ । त्यसपछि मात्रै ठेकेदारलाई साइट जिम्मा लगाइएको हो ।

अहिले बाँकी जे-जति चिजहरु छन्, ती देवकोटाका होइनन् । जहाँसम्म तपाईंले भनेजस्तो कागजपत्र, फोटो, पुस्तकहरु पुरिएको कुरा छ, ती उहाँको घरमा भाडामा बस्नेहरुले छाडेका हुन् । देवकोटाको घर उहाँको देहान्तपछि १०-१५ वर्ष अरुलाई भाडामा लगाइएको थियो । उनीहरुले छोडेर हिँडेका फोटो, पत्रिका, पुस्तक आदि हामीले संरक्षण गर्न आवश्यक थिएन । ती खासै महत्वका पनि थिएनन् ।

त्यहाँबाट संकलन भएका सामग्रीहरु कहाँ राखिएको छ ?

हामीले देवकोटाका परिवारलाई ती सामग्री हिफाजतका साथ राखिदिन अनुरोध गरेका थियाैं । तर, उहाँहरुले आफ्नो घरमा स्पेस नभएको बताउनुभयो । त्यसपछि सबै सामान हामीले प्रज्ञा प्रतिष्ठानमा नै लगेर थन्क्याएका छौं ।

देवकोटाको पुरानो घर जुन स्वरुपमा थियो, अब बन्ने नयाँ घर पनि दुरुस्त त्यस्तै हुन्छ त ?

त्यस्तै बनाउने प्रयास हुन्छ । तर यसमा तपाईंहरुले बुझ्नुपर्ने कुरा के छ भने देवकोटाको घरको मौलिक स्वरुपमा पछि तीनपटक ‘मोडिफाइ गरिएको छ । पहिले छाना भएको घर थियो । त्यो छानो हटाएर पछि च्यादर लगाइयो । त्यो च्यादरलाई पनि पछि हटाइयो र टिन हालिएको थियो । घरमा पहिले ट्वाइलेट थिएन । पछि घर भाडामा दिने भएपछि सिमेन्टेड ट्वाइलेट बनाइयो ।

अब भोलि नयाँ घरमा छानो किन हालेको भन्लान् । तर, देवकोटाले सुरुमा किनेको घर जस्तो थियो, हामीले त्यस्तै निर्माण गर्न खोजेका हौं । अब नवनिर्मित घरको बाहिरी स्वरुप उस्तै हुन्छ, तर भित्र सुविधासम्पन्न हुन्छ । सबै तल्लामा ट्वाइलेट चाहिहाल्यो । अरु सुविधाहरु पनि हुन्छन् । यसलाई कविकुञ्ज संग्रहालय नाम दिएका छौं ।

घर बनाउँदा कस्ता निर्माण सामग्रीहरु प्रयोग हुन्छन् ?

पुरानो घरका चिजविजहरु खासै काम लाग्ने केही छैन । ईंट्टाहरु पनि ९० प्रतिशत ध्वस्त भएका छन् । त्यसकारण नयाँ सामग्रीहरु नै प्रयोग हुने हो । ईंट्टाको आकारप्रकार चाहिँ पहिलेकै जस्तो हुन्छ । भूकम्पले असर नगर्ने बलियो संरचना निर्माण गरिन्छ । बाहिरबाट हेर्दा पुरानै झल्को आउने, तर भित्र मजबुत ढंगले बनाउने गरी डिजाइन गरिएको छ ।

पुरानो भत्काएर नयाँ घर बनाउने कुरामा देवकोटाको परिवारले सहमति दिएका थिए ?

अवश्य पनि । उहाँहरु सहमत नभएको भए त सम्भव नै थिएन नि । देवकोटाको परिवारलाई अढाइ करोड रुपैयाँ दिएर हामीले १२ आना जग्गासहितको घर खरिद गरेका हौं । घर भत्काउने कुरामा उहाँहरुको कुनै पनि विमति छैन ।

अब बन्ने घरको स्वामित्व कोसित हुन्छ ?

खासमा यो घर पहिलेदेखि नै गुठी संस्थानको स्वामित्वमा थियो । त्यस एरियामा जति पनि पुराना घरहरु छन् ती सबै पशुपति महास्नान गुठी अन्तर्गतका हुन् ।

घरलाई म्युजियम बनाउने भनेर ३ वर्षअघि सरकारबाट निर्देशन प्राप्त भएपछि हामीले परिवारसँग कुरा गर्यौं । त्योभन्दा अघि पनि परिवारसँग पटक-पटक कुरा भएको तर सहमति नभएको अवस्था थियो । हामीले चाहिँ अलि गम्भीर ढंगले गुठी संस्थान, मालपोत अधिकृत, सीडीओ कार्यालय, नगरपालिका, प्रज्ञा प्रतिष्ठान र परिवारहरु बसेर छलफल गर्‍याैं र निचोडमा पुग्यौं ।

घरको मूल्यांकन ५ करोड रुपैयाँ भएको थियो । त्यसको आधा रकम गुठी संस्थालाई र आधा परिवारलाई दिने गरी सहमति भएको छ । गुठी संस्थान सरकार मातहतकै भएकाले उसलाई पैसा दिन सरकारले मानेन । त्यसैले अब यो घरको स्वामित्व पनि हामीसँग नभएर गुठी संस्थानसँग नै रहनेछ ।

अब बन्ने संग्रहालयमा के-कस्ता चिजहरु रहन्छन् ?

देवकोटासँग जोडिएका प्रत्येक चिजवस्तुहरु संकलन गर्नेछौं । घरभित्र जेजति सामग्रीहरु भेटिए, ती हामीले सुरक्षित राखेकै छौं । उहाँका पुस्तकहरु संकलन गर्न पनि गाह्रो छैन । उहाँका पाण्डुलिपीहरुका लागि हामी सार्वजनिक आह्वान गर्छौं ।

हामीले उहाँका लुगाफाटोहरु पनि खोजी गरेका थियौं । तर, परिवारले लुगाफाटो सुरक्षित नरहेको बताएको छ । दुईवटा दराज घरमा भेटिएका थिए, तर क्षतिग्रस्त अवस्थामा । त्यसलाई पनि हामीले हिफाजतसाथ राखेका छौं ।

अरु भनेको देवकोटाको प्रतीमा र तस्वीरहरु हुन्छन् । उहाँका भाषणहरुलाई श्रव्य-दृष्य सामग्री बनाएर राख्नेछौं । देवकोटाले प्रयोग गर्नुभएको एउटा हार्मोनियम पनि हामीले पाएका छौं । समग्रमा यो संग्रहालयमा भ्रमण गरेपछि देवकोटालाई नै भेटेर फर्केको महसुस हुन्छ ।

दुई वर्षअघि नै अध्ययन प्रतिवेदन आएर निर्णय भए पनि काम सुरु गर्न किन ढिलाइ भयो ?

हामी एक वर्षअघि नै घर बनाइसक्थ्यौं । तर, सरकारबाट बजेट निकासामा ढिलाइ भयो । गत वर्ष कोभिडका कारण हामीलाई छुट्याएको बजेट अर्कोतिर लगाइयो । यो वर्ष बल्लतल्ल बजेट आयो, गत वैशाखतिर ।

बजेट आएपछि सरकारले स्वीकृत गरिसकेको डीपीआर बमोजिम हामीले टेन्डर आह्वान गर्‍याैं । त्यसमा संग्रहालय बनाएको अनुभव भएको हुनुपर्ने मापदण्ड राखेका थियौं । तर, एउटा कम्पनीले मात्रै टेन्डर भर्‍याे । त्योसँग पनि हामीले खोजेजस्तो अनुभव थिएन ।

त्यसपछि फेरि दोस्रोपटक टेन्डर गर्‍याैं । यसमा पाँचवटा कम्पनी प्रतिस्पर्धामा आएका थिए । त्यसमध्ये सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई छनोट गरेर भर्खरै काम सुरु गरेका हौं । यो कम्पनीसँग पुरातात्विक महत्वका भवनहरु निर्माण गरेको अनुभव पनि छ । घर भत्काउन थाल्नुभन्दा एक हप्ताअघि मात्रै सम्झौता भएको हो ।

काम कहिले सक्ने गरी कति रकममा सम्झौता भएको छ ?

सम्झौताअनुसार उनीहरुले चैत मसान्तसम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गनुपर्छ । बीचमा कोभिडका कारण वा प्राकृतिक प्रकोपका कारण काम रोकिएको खण्डमा ढिलाइ हुन सक्ने ‘कन्डिसन’ राखिएको छ । सात करोड ११ लाख रुपैयाँमा निर्माण सक्ने गरी सम्झौता भएको हो ।

म्युजियम चाहिँ कहिले बनिसक्छ ?

घर हामीलाई हस्तान्तरण भएपछि ६ महिनासम्ममा म्युजियम तयार गरिसक्ने लक्ष्य राखेका छौं ।

अहिले शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ । बाहिर विवाद आएपछि सरकारले तपाईंहरुलाई केही भनेको छ कि छैन ?

हामीलाई केही भनेको छैन । सरकारले बाहिर चलेको हल्लामा विश्वास गर्ने भन्दा पनि वास्तविकता बुझेर नै काम गर्छ । यसैले सरकारले काम रोक्न निर्देशन देला भन्ने लाग्दैन ।

बरु अदालतमा मुद्दा परेको छ । तर अदालतले अन्तरिम आदेश दिएको छैन । के-कति कारणले भत्काउनु परेको हो भनेर कारण देखाउन मात्रै भनेको छ ।

प्रतिष्ठानले देवकोटाको घर मात्रै संरक्षण गर्न खोजेको हो कि भविष्यमा अरु साहित्यकारहरुको विषयमा पनि यस्तो योजना छ ?

संरक्षण गर्न सक्दा त राम्रो हो । तर हाम्रोजस्तो गरिब देशमा सबैको यसरी सरकारले खरिद गरेर संरक्षण गर्न सम्भव छ जस्तो लाग्दैन ।

हामीले त बरु प्रज्ञा प्रतिष्ठाका लागि एउटा छुट्टै प्रशासनिक भवन बनाएर अहिलेको एकेडेमीमा विभिन्न साहित्यकारहरुको इतिहास झल्काउने चिजविजहरु संग्रह गर्ने गरी संग्रहालय बनाउनका निम्ति सिफारिस गरेका थियौं । तत्कालीन प्रधानमन्त्रीले एकपटक देवकोटाको घरमा प्रयास गरौं न भन्नुभयो । त्यसैले अघि बढेका हौं । अब सबैको छुट्टाछुट्टै संग्रहालय बनाउन त सम्भव देख्दिनँ ।

अन्त्यमा, देवकोटाको चिनो एकेडेमीले मास्यो भनेर चिन्ता लिइरहेका उहाँका अनुयायीहरुलाई के भन्न चाहनुहुन्छ ?

हल्लाको पछि लाग्नु भएन । हल्ला त अनेकथरि चलाइएका छन् । देवकोटाको घरमा डोजर चलाइयो भनिएको छ । जबकि उहाँको घर भत्काउन डोजर लगाउनुपर्ने अवस्था नै थिएन । खाली एउटा सिमेन्टेड सेफ्टी ट्यांकी डोजरले उखलेको रहेछ ।

यहाँ कुनै खेलाची तरिकाले काम भएको होइन । विज्ञ टिमले अध्ययन गरेर डीपीआर बनाएर त्यसका आधारमा काम अघि बढाएका छौं । पहिल्यैदेखि यी कुराहरु सञ्चारमाध्यममा आइरहेकै हुन् । अहिले एक्कासी जंग चलेर घर भत्काउन थालिएको होइन ।

देवकोटाको पुरानै घरको झल्को आउने गरी निर्माण हुन्छ । यसमा कुनै सन्देह नगर्न आग्रह गर्छु । कसैलाई अझै सन्देह छ भने विज्ञ टिमले दिएको प्रतिवेदन अध्ययन गर्दा हुन्छ । त्यसमा किन सवलीकरण गर्न सकिएन भनेर स्पष्ट खुलाइएको छ । त्यो प्रतिवेदनलाई हामी केही दिनमा वेवसाइटमै राख्नेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर