महिला सांसदको प्रश्न : संसदमा बोल्दै नबोलेका कुरा पनि मिडियामा कसरी आउँछ ? – Nepal Press

महिला सांसदको प्रश्न : संसदमा बोल्दै नबोलेका कुरा पनि मिडियामा कसरी आउँछ ?

संसदमा महिलाको भूमिका महत्वपुर्ण, तर सञ्चारमाध्यमको प्राथमिकता न्यून

काठमाडौं । ‘संसदीय समिति बैठकमा मैले बोल्दै नबोलेको कुरा मिडियामा समाचार बनेर आयो । कोभिडको बेला स्कूल कहिले खुल्ने हुन् भनृेर भनिन् भन्ने मिडियामा आयो । तर, मैले यस्तो कुरा बोलेकै थिइनँ ।’

शुक्रबार राष्ट्रिय सभा सचिवालयले सिंहदरबारमा आयोजना गरेको राष्ट्रिय सभाका महिला सांसदसँगको छलफलमा राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले यस्तै गुनासो गरिन् । उनले मात्रै होइन, संसद सचिवालयमा रहेको शिक्षा तथा स्वास्थ्य समितिको हल शुक्रबार केहि समय यस्तै गुनासोले गुन्जियो ।

छलफलमा सहभागि अधिकांश महिला सांसदले आफुहरुले भनेको र गरेको कुरा एउटा हुने तर मिडियामा अर्कै समाचार आउने गरेको गुनासो गरे । कतिपय बैठक तथा कार्यक्रममा बोल्दै नबोलेका कुरा पनि सञ्चारमाध्यममा आउँदा आफूहरु नै आश्चर्यमा पर्ने भन्दै उनिहरुले आक्रोश पनि पोखे । राजनीति र संसदीय विषयलाई नै आफ्नो बिट बनाएर काम गरिरहेका पत्रकारले यस्ता कुरामा ध्यान दिन र गम्भिर ढंगले अध्ययन गरेर मात्रै समाचार तथा कार्यक्रम तयार गरिदिन पनि महिला सांसदले सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

‘महिला जनप्रतिनिधिले उठाएका सवाल र आमसञ्चार माध्यमको प्राथमिकता’ विषयमा संसद सचिवालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले महिला सांसद तथा नेताले उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका हुन् । विवादित र राजनीतिक विषय सञ्चारमाध्यमको पहिलो प्राथमिकतामा परे पनि महिला सांसदले उठाएका महत्वपूर्ण र संवेदनशिल विषय ओझेलमा पर्ने गरेको उनीहरुको गुनासो छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सभाका सदस्य डा. विमला राई पौड्यालले कानुन निर्माणमा महिला सांसदको सक्रिय सहभागिता रहेको भन्दै सञ्चारमाध्यमले यस्ता विषय खोजेर समाचार तयार पार्नुपर्नेमा जोड दिइन । राष्ट्रिय सभाको पछिल्लो २ वर्षका तथ्यांक केलाउँदै उनले कानुन निर्माणको क्रममा परिमार्जन भएका ३३ वटा विधेयकमा संशोधन दर्ता गराउने महिला सांसदको सहभागिता ३२ दशमलव ७५ प्रतिशत देखिएको जानकारी पनि गराइन । यस्तै प्रतिनीधि सभातर्फ परिमार्जन भएका ३९ वटा विधेयक हेर्दा संशोधनमा महिला सांसदको सहभागिता ५० दशमलव ६ प्रतिशत देखिएको पौड्यालले बताइन ।

कानुन निर्माणमा महिला र पुरुष सांसदका प्राथमिकता फरक देखिएको उनको भनाइ छ । विधेयक संशोधनमा महिला सांसदको प्राथमिकतामा लैंगिक समानता, जेष्ठ नागरिक, जातिय विभेदजस्ता सामाजिक मुद्दा पर्ने गरेको र पुरुष सांसदको प्राथमिकतामा मिडिया काउन्सिल, सूचना प्रविधि, प्रहरी समायोजनजस्ता राजनीतिक र विवादीत विषय परेको उनको अध्यनले देखाएको छ ।

पौडेलले भनिन्, ‘महिला सांसदको सहभागिता बलियो छ । विषय महत्वपूर्ण पनि छ । तर संशोधन पारित भने कम भइरहेको छ । १० वटा नमुना विधेयकमा महिला सांसदले राखेका ८१ संशोधनमध्ये जम्मा २५ प्रतिशत मात्र स्वीकृत भएको छ ।’

हाल सञ्चारमाध्यममा सामाजिक भन्दा राजनीतिक विषयको प्राथमिकता बढी देखिएको भन्दै पौड्यालले सामाजिक क्षेत्रको कानुन सुधार गर्न सञ्चार क्षेत्रले महिला सांसदले उठाएका सवालका विषयलाई बढाउनुपर्ने र बहस गर्नुपर्ने सुझाव पनि दिईन । कानुन निर्माणमा सक्रिय महिला सांसदसँग अन्तरवार्ता गर्ने, उनीहरुले राखेका सवाल सार्वजनिक बहसमा लैजाने गरेर सञ्चारमाध्यमले महिला सांसदको भूमीकालाई प्रभावकारी बनाउन सघाउनुपर्नेमा राष्ट्रियसभाका महिला सदस्यको जोड छ ।

राष्ट्रिय सभाको शून्य समयमा पछिल्ला २ वर्षमा बोल्ने ४४ सांसदमध्ये २१ जना महिला रहेका, जून राष्ट्रिय सभामा उपस्थित महिला सांसदको तथ्यांकका आधारमा ९५ प्रतिशत भएको र विशेष समयमा बोल्ने ५२ मध्ये १९ महिला अर्थात ८६ प्रतिशत रहेकाले महिला सांसदको सक्रियता र प्रभावकारी भूमीकामा प्रश्न गर्ने ठाउँ नदेखिएको पौड्यालको अध्ययनले देखाएको छ ।

राष्ट्रिय सभामा रहेका चार समितिमध्ये दुई वटा अर्थात ५० प्रतिशत समितिको नेतृत्व महिलाले गरेका र ति समितिले आयोजना गरेका बैठक, सरकारलाई दिएको निर्देशन तथा उठाएका सवाललाई हेर्दा अत्यन्तै प्रभावकारी देखिएको उनले बताईन । महिलाले नेतृत्व गरेकै कारण ति समितिको काममा प्रश्न उठाउनुपर्ने ठाउँ नरहेको पनि उनको भनाई थियो ।

महिला सांसदको कामलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने, महिला सांसदको सहभागिता तथा प्रभावकारिताले सामाजिक रुपान्तरण छिटो हुने, परिवर्तनका लागि सघाउन सक्ने भएकाले सञ्चारमाध्यमले यसतर्फ ध्यान दिन पनि महिला सांसदले सुझाव दिएका छन् ।

महिला सांसदले समाचार सम्प्रेषणमा चित्त नबुझेको, नेतृत्व तहमा महिला नभएका कारण वा अन्य केही कारण प्राथमिकतामा नपर्ने गरेको, सम्प्रेषण भए पनि सन्तुलित र चित्तबुझ्दो नभएको बताए । महिला प्रतिनिधिका विषय निकै कम तर, नकारात्मक विषय धेरै र छिटो आउने तथा सकारात्मक कुरा कम आउने गरेको भन्दै उनिहरुले गुनासो समेत गरे ।

महिला सांसद र सञ्चार माध्यमबीचको दुरी कम गर्न तथा महिला सांसदले निर्वाह गरेका भूमिकालाई थप प्रभावकारी बनाउन समय–समयमा यस्ता अन्तरक्रिया तथा छलफल गर्न आवश्यक रहेको राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले बताईन । आगामी दिनमा पनि सञ्चारमाध्यमसँग निरन्तर छलफल गर्नुपर्ने भन्दै उनले मिडियासँगको सम्बन्धलाई थप प्रभावकारी र सुमधुर बनाउन महिला सांसदसँग आग्रह गरिन् । सञ्चारमाध्यमले पनि महिला सांसदका  भनाई र बिचार लिनेतर्फ ध्यान दिन आग्रह समेत गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *