काउन्सिलले सिधाकुरालाई किन हटाउन लगायो प्रकाशित सामग्री ? बस्नेत भन्छन्- आचारसंहिता उल्लंघन भयो – Nepal Press

काउन्सिलले सिधाकुरालाई किन हटाउन लगायो प्रकाशित सामग्री ? बस्नेत भन्छन्- आचारसंहिता उल्लंघन भयो

काठमाडौं । नेपाल प्रेस काउन्सिलले सिधाकुरा डट कममा प्रकाशित सामग्री हटाउन लगाएको विषय अहिले चर्चामा छ । कुनै पनि सञ्चारमाध्यमलाई एकैपटक समाचार हटाउन काउन्सिलले बाध्य पारेको यो पहिले अभ्यास हो ।

गृहमन्त्री समेत रहेका रवि लामिछाने समर्थित मानिएको सिधाकुरा डटकमले ‘द डार्क फाइल’ श्रृंखला नाममा दुई दिनअघि एउटा ‘सनसनीखेज’ समाचार प्रकाशन र प्रसारण गरेको थियो । उक्त समाचारमा ‘स्टङ अपरेसन’ नाममा केही वर्षअघि एउटा गोप्य बैठकमा भएको अडियो कुराकानी समावेश थियो । समाचारमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीस आनन्दमोहन भट्टराईसहित दुई मिडिया मालिकहरुलाई पनि मुछिएको छ । ‘

समाचार प्रकाशन र प्रसारण भएकै दिन प्रेस काउन्सिलले आचारसंहिता विपरित रहेको भन्दै २४ घन्टाभित्र हटाउन निर्देशन दिएको थियो । त्यसको भोलिपल्ट सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगाना छलफलका लाग काउन्सिलमा पुगेका थिए । सो छलफलमा पनि काउन्सिलले समाचार हटाउनै पर्ने अडान लियो । त्यसमा उनीहरुले पनि सहमति जनाएर तत्काललाई समाचार हटाएका थिए ।

सो समाचारका विषयमा सर्वोच्च अदालतमा उपरजिस्टारको तर्फबाट अदालतको मानहानीमा मुद्दासमेत दायर भयो । सो मुद्दामा अदालतले पनि हिजै समाचार हटाउन आदेश गरेको छ । तर, सामाजिक सञ्जालमा थुप्रै सञ्चारमाध्यममा प्रकाशित समाचारलाई काउन्सिल र अदालतले हटाउन लगाएर प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको भन्दै आलोचना गरेका छन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत भने समाचार प्रकाशनयोग्य नै नरहेकाले प्रेस स्वतन्त्रताको प्रश्न नआउने दावी गर्छन् । उनले भने, ‘हामीले यो अडियोसहितको सामाग्री प्रसारण हुनासाथ प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद ठानेका थियौं । काउन्सिलको प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखियो । त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी हटाउन निर्देशन दिएका हौं ।’

उनले प्रविधिको दुरुपयोग हुन नदिन यो घट्नाले सबैलाई सिकाएकोसमेत टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *