युरो २०२०: डेनमार्कविरुद्ध इङ्ल्यान्डले पाएको पेनाल्टी विवादित, मैदानमा दुई बल ! – Nepal Press

युरो २०२०: डेनमार्कविरुद्ध इङ्ल्यान्डले पाएको पेनाल्टी विवादित, मैदानमा दुई बल !

काठमाडौं । कप्तान ह्यारी केनले गरेको गोलसँगै इङ्ल्यान्ड युरो-२०२० को सेमिफाइनलमा पुग्दा इङ्लिस फुटबलको इतिहासमा नयाँ कीर्तिमान बन्यो । खेलको अतिरिक्त समयमा पेनाल्टी पाएपछि इङ्ल्याण्डको भाग्य खुलेको थियो । युरोपियन च्याम्पियनसीपमा पहिलोपटक इङ्ल्याण्डले फाइनल यात्रा तय गरेको छ ।

ह्यारी केनले हानेको पेनाल्टी रिबाउन्ड हुँदा पुन प्रहार गर्दै गोलमा परिणत गरेका थिए । त्यो गोलसँगै केनले ग्यारी लिनकेकरको युरोपियन च्याम्पियनसिप र विश्वकप समग्रमा सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । तर, उनको त्यो गोल विवादरहित भने बन्न सकेन ।

उत्कृष्ट लयमा रहेका फरवार्ड स्टर्लिङले त्यो पेनाल्टी जितेका थिए । तर, त्यो वास्तवमा पेनाल्टी थिएन भन्ने चर्चाले अहिले विश्व फुटबल गर्माएको छ ।

स्टर्लिङले कसरी जिते पेनाल्टी ?

अतिरिक्त समयको पहिलो हाफमा स्टर्लिङ दुई डेनिस डिफेन्डरलाई बिट् गर्दै पेनाल्टी एरियामा प्रवेश गरेका थिए । डेनिस मिडफिल्डर योहाकिम मेहेलेले गरेको च्यालेन्जपछि मैदानमा स्टर्लिङ लडेसँगै रेफ्रीले इङ्ल्यान्डलाई पेनाल्टी दिएका थिए ।

त्यो इभेन्टलाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पुनः हेरेका थिए । फिल्ड रेफ्रीको निर्णयसँग भीएआर पनि सहमत देखिए । त्यो पेनाल्टी इङ्लिस कप्तान केनले प्रहार गरे । उनका सिधा प्रहारलाई डेनिस गोलकिपर कास्पर स्माइकलले रोकिदिए । तर, रिबाउन्डमा आएको बल पुनः प्रहार गर्दै केनले इङ्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।

यसकारण भयो विवाद

मेहेलेको च्यालेन्जले आफू ढलेको स्टर्लिङले दाबी गरेका थिए । तर, क्लोजअपबाट हेर्दा त्यो ट्याकल एकदमै सामान्य देखिन्थ्यो । त्यो घटनाको रिप्लेमा म्यानचेस्टर सिटीका फरवार्ड स्टर्लिङ मेहेलेले ट्याकल गर्नुभन्दा अगाडि नै लड्न सुरु गरिसकेको स्पष्ट हुन्छ ।

आश्चर्यजनक रूपमा भीएआरले रेफ्रीलाई साइड स्क्रिनमा गएर हेर्न भनेनन् । त्यसैले त्यो पेनाल्टी समर्थक र विश्लेषकसामु एकदमै विवादास्पद बन्यो ।

धेरै फुटबल विश्लेषकसँगै आर्सनलका पूर्व प्रशिषक आर्सेन विङ्गर तथा एस रोमाका प्रशिक्षक जोसे माउरिन्हाले त्यो कुनै पनि हालतमा पेनाल्टी नभएको बताएका छन् ।

मैदानमा दुई बल थिए ?

पेनाल्टी थियो कि थिएन भन्नेबाहेक अर्को पनि विषय विवादास्पद छ । स्टर्लिङले पेनाल्टी जितेको समयमा मैदानमा दुईटा बल थिए र त्यो समयमा खेल रोकिनु पर्थ्यो भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ ।

स्टर्लिङले मैदानको दायाँतर्फबाट बल ड्रिबल गरेर पेनाल्टी एरियामा प्रवेश गरिरहँदा दायाँतर्फको कर्नर फ्ल्याग नजिक मैदानभित्रै अर्को बल देखिन्छ । त्यसले पनि डेनिस समर्थक र फुटबल विश्लेषकको आक्रोश बढाएको छ ।

फिफाको नियम हेर्ने हो भने खेलिइरहेको बललाई कुनै बाधा पुर्‍याएको छैन भने खेल रोक्नुपर्ने बाध्यता रेफ्रीलाई हुँदैन । तर, सामाजिक सञ्जालमा समर्थकहरूले भने त्यो बलले खेलमा बाधा पुर्‍याएको र खेल रोकिइनुपर्ने तर्क गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर