तीन दिनदेखि बेपत्ता बालकको खोजीमा एसपी अधिकारी सक्रिय, बालककी दिदीमाथि अनुसन्धान केन्द्रित – Nepal Press

तीन दिनदेखि बेपत्ता बालकको खोजीमा एसपी अधिकारी सक्रिय, बालककी दिदीमाथि अनुसन्धान केन्द्रित

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता भएका बालक अझै सम्पर्कमा आएका छैनन् । स्थानीय दिलिप बिस्टका नाबालक छोरा विवेक सोमबार ११ बजेदेखि घर नजिकैबाट बेपत्ता भएका हुन् ।

बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दुई दिन टीकापुरमै बसेर घटनाको अनुसन्धान गरेका छन् । तर पनि बालकबारे केही पत्ता लागेको छैन ।

प्रहरीले दुई वटा तालिम प्राप्त कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबारदेखि पोलियोग्राफको माध्यमबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान सकारात्मक दिशातर्फ अघि बढेको प्रहरीको भनाइ छ ।

‘हामी अनुसन्धानमै छौँ । केही दिनमै घटनाबारे तथ्य बाहिर आउँछ’ कैलालीका प्रहरी प्रमुख एसपी अधिकारीले भने ।

प्रहरीले अहिले बालककी दिदी नाता पर्ने पुनम बिस्टबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

दिदी नाता पर्ने १५ वर्षीया बिष्टले हराएको दिन बालकलाई घर नजिकै जामुन खान लगेको बताइएको छ ।

जामुन खाएर फर्किने क्रममा करिब सवा ११ बजेतिर पुनमले विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

उनले आफू करिब पाँच मिनेटमा फर्किँदा विवेकलाई त्यहाँ नदेखेको प्रहरीलाई बताएकी छन् ।

सुरुमा उनले दिएको र अहिले दिएको बयान शंकास्पद रहेको अनुसन्धानमा केन्द्रित प्रहरी अधिकारीको भनाइ छ ।

‘तीन दिनमा हामीले धेरै कुरा बुझेका छौँ’ ती प्रहरी अधिकृतले भने ‘केही दिनभित्रै घटनाको रहस्य बाहिर आउने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर