कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो – Nepal Press

कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम । हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । कमला नदीको पुल निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो ।

नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो स्पान –पिलर) भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । उनका अनुसार पुलमा १२ वटा स्पान रहेको छ । जसमध्ये एउटा एक फिट भासिएको छ ।

उनले भने, ‘पुलको स्पान भासिनुको दुइटा कारण हुनसक्छ । पहिलो डिजाइन नै गलत भएको र दोस्रो डिजाइन अनुसार काम नै नभएको ।’ यो विषयमा छानविनका लागि सरकारलाई प्रतिवेदन पनि बुझाइसेको उनको भनाई छ ।

४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको थियो ।

भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको थियो । यो कुरा सिरहाका प्रजिअ कणेलले पनि बताए । उनका अनुसार लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको छ ।

पुल मात्र ४२ महिनामा निर्माण हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि निर्माण पुरा भएपछि अब आवत–जावत गर्न सहज हुने स्थानीयमा विश्वास जागेको थियो । तर पुलको स्पान भासिएपछि स्थानीय पुनः चिन्तित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *