तीन सीडीओको निर्णय : भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने (आदेशसहित) – Nepal Press

तीन सीडीओको निर्णय : भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने (आदेशसहित)

२५ सिटभन्दा बढी क्षमताका गाडीलाई मात्र अनुमति

काठमाडौं । उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । नयाँ निर्णयअनुसार निषेधाज्ञा असार २१ गते मध्यरातसम्म कायम रहनेछ । 

प्रशासनको निर्णयअनुसार जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ ।  भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन भैरहेका छन् ।

निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध र खुकुलोका प्रावधानहरु भने कायमै रहेको ललितपुर सीडीओ निरौलाले बताए । ‘अहिलेलाई २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्दै चलाउन अनुमति दिने निर्णय भएको छ’ निरौलाले भने ।

उपत्यकामा उल्लेखनीयरुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको उनले बताए । ‘एकैपटक सार्वजनिक यातायात खुलाउँदा संक्रमण पुनः बढ्ने निष्कर्षको आधारमा अहिलेलाई केही खुकुलो मात्र तुल्याएका हौं’ निरौलाले भने ।

 

काठमाडौं उपत्यकाको अवस्था कस्तो छ ?

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म उपत्यकाका तीन जिल्लामा ८ हजार ५०८ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार ३९१, भक्तपुरमा १ हजार ७३२ र ललितपुरमा २३८५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयको आइतबार ४ बजेको तथ्यांकअनुसार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।

मुलुकको सक्रिय संक्रमण ४० हजारमा झर्‍यो

आइतबारसम्म नेपालमा भाइरस संक्रमण दर १९.१ प्रतिशत रहेको छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ ।

आइतबार ९,८३६ नमुना (एन्टीजेन र पीसीआर) परीक्षण गर्दा १,९२० जना संक्रमित थपिएका छन् । मुलुकको सक्रिय संक्रमित संख्या ४० हजार ३३६ मा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर