व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार दिने – Nepal Press

व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार दिने

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत् जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित वडाको सिफारिसमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै कोभिड-१९ संक्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए ।

नगरपालिकामा हालसम्म ६ सय १६ जनाको पिसिआर परीक्षण गरिएकामा ४ सय ३३ जनाको प्रतिवेदन आउँदा २ सय ९१ संक्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ संक्रमणमुक्त भएका छन् ।

दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १ सय ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास-१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पीसीआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरीद एवम् निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *