भारतले दशैं अघि खोप नपठाउने – Nepal Press

भारतले दशैं अघि खोप नपठाउने

काठमाडौं । भारतले आगामी अक्टोबरभन्दा अघि कोरोनाभाइरसविरुद्धको खोपलाई विदेशमा आपूर्ति नगर्ने भएको छ ।

सरकारी स्रोतलाई उध्दृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार घरेलु मागलाई मध्यनजर गर्दै भारतले उक्त निर्णय गरेको हो ।

भारतको यो कदमले कोभ्याक्स संजालअन्तर्गत हुने भनिएको विश्वव्यापी खोप आपूर्ति प्रभावित हुने देखिएको छ । खरिदका लागि अग्रिम भुक्तानी दिइसकेका नेपाल, बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरुलाई थप समस्या पर्ने देखिएको छ ।

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकले आपूर्ति गर्नमा ढिलाइ गर्ने भएपछि नेपालसहितका अन्य मुलुकले लामै समय कुर्नुपर्ने देखिएको छ ।

देशभित्रै संक्रमण र मृत्युको अवस्था भयावह बनेपछि भारतले गतमहिना खोप आपूर्ति रोकेको थियो । त्यसअघि उसले ६६ मिलियन डोज विश्वव्यापी वितरण गरिसकेको थियो । नेपालले पनि भारतबाट २० लाख डोज ल्याएर खोप अभियान चलाएको थियो । नेपालले बाँकी १० लाख डोज कोभिसिल्ड खोप पाउन बाँकी छ ।

भारतले खोप निर्यात तत्काल नगर्ने भएपछि कोभ्याक्सले अन्य खोप उत्पादक मुलुकहरुलाई खोप आपूर्ति गर्न आग्रह गरेको छ । भारतमा संक्रमण दर २५ मिलियन नाघेको र मंगलबार सर्वाधिक जनाको मृत्यु भएपछि भारतले यस्तो निर्णय गरेको बताइएको छ ।

खोप निर्यात र आपूर्तिको जिम्मा पाएको भारतीय विदेश मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । सिरम इन्स्टिच्युटका प्रवक्ताले भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने भएपछि विदेशका लागि तत्काल खोप आपूर्ति नहुने बताएका छन् ।

नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप आउने आशा थियो तर, कोभ्याक्सलाई पनि सिरमले नै दिने भएपछि त्यस च्यानलबाट खोप तत्काल आउने आशा टरेको छ । कोभ्याक्सले सिरमसँग १.१ बिलियन डोज अस्ट्राजेनेका खोपको सम्झौता गरेको थियो ।

राष्ट्रसंघीय नियोग युनिसेफ प्रमुखले सोमबार जी-सातको बैठकअघि ती मुलुकलाई कोभ्याक्समा खोप आपूर्ति गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशले थप २० लाख डोज मोर्डना, फाइजर र जोन्सन एन्ड जोन्सनको खोप निर्यात गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर