‘कोभिड हिरो’ श्रेष्ठलाई पुनः बाँके पठाइयो – Nepal Press

‘कोभिड हिरो’ श्रेष्ठलाई पुनः बाँके पठाइयो

रुपन्देही । गत वर्ष कोरोना महामारीको पहिलो लहर आउँदा आफ्नो कार्यकुशलताबाट ‘कोभिड हिरो’ उपाधि पाएका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठलाई लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले पुनः बाँके पठाएको छ ।

कोरोनाको हटस्पट बनेको बाँकेमा जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी महामारी नियन्त्रण गर्न प्रदेश सरकारले तीन महिनाका लागि श्रेष्ठलाई काजमा पठाएको हो । दोस्रो लहरसँगै बाँकेमा स्थिति भयावह बन्न थालेदेखि नै उनको सरुवाको माग भइरहेको थियो ।

मन्त्रालयले साबिक दरबन्दी रहेकै कार्यालयबाट पारिश्रमिक पाउने गरी ३ महिनाको लागि स्वास्थ्य कार्यालय बाँकेमा काज सरुवा गरेको हो ।

पहिलो चरणको महामारीमा श्रेष्ठले खेलेको भूमिका र सक्रियताका कारण स्वास्थ्य सम्बद्ध संघ संस्थाहरुले पनि श्रेष्ठलाई बाँकेमा ल्याउनु पर्ने माग गरेका थिए । बाँकेमा उनी र तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सहितको टिमले पहिलो चरणको महामारी नियन्त्रणमा उल्लेख्य भुमिका निभाएको भन्दै नेपाली सेनाको सैनिक पदक सहित बिभिन्न गैरसरकारी संस्थाहरुले उनीहरुलाई सम्मान गरेका थिए ।

कोरोनाको पहिलो लहर केहि मत्थर भएसँगै श्रेष्ठलाई बर्दिया र प्रमुख जिल्ला अधिकारी कुरुम्वाङलाई इलाका प्रशासन कार्यालय टिकापुर सरुवा गरिएको थियो । केहि दिन अगाडी कुरुम्वाङ अख्तियार सम्पर्क कार्यालय प्रमुख भएर नेपालगन्ज पुगेका छन् भने श्रेष्ठलाई बाँकेमा काज सरुवा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर