सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म – Nepal Press

सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करण सोमबारदेखि समापन भएको छ ।

फिल्म मार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने नीफको उद्देश्य रहेको नीफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले नीफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताए ।

पोर्चुगलका फिल्म निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई नीफले केन्द्रीकृत गर्न सफल रहेको जनाए । मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र फिल्मका लागि उत्कृष्ट लागेको बताए ।

समापन कार्यक्रममा उत्कृष्ट फिल्म सहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे । सोअनुसार उत्कृष्ट लघु फिल्म अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो ‘बुख्याँचा’ले हात पारेको छ । यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म अन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको ‘गड्स डटर डान्सेस’ले पाएको छ ।

मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको ‘सिभिल सोल्डर्स’ले हात पारेको छ ।

यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको ‘रिटर्न टु द लष्ट इडेन’ले पाएको छ । टर्कीका निर्देशक मुरत सेरीको ‘इन माइ ड्रिम’ पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक फिल्म अन्तर्गत ढोण्डुप छिरिङको ‘आमा खाण्डो’ले हात पारेको छ ।

गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय फिल्म ‘डिक्सनरी’ले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभिनयतर्फ ‘लाटोकोसेरो’ले अवार्ड हात पारेको छ ।

कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, फिल्मलाई अन्तरराष्ट्रियकरण गर्नमा नीफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघसंस्थासँंगको सहकार्यमा फिल्म गतिविधि अगाडी बढाइने जानकारी दिए । कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताए ।

नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने सुझाव

नीफको आजको शुरुवाती सत्रमा फिल्मको आर्थिक एवं गुणात्मकस्तरबारे बहस गरिएको थियो । कार्यक्रममा लेखक युग पाठकले चलचित्र समाजकोे भाषा र संस्कृति देखाउने ऐना भएको र यसले विचारको प्रतिनिधित्व गरेको बताए ।

लेखक तथा पत्रकार बविता बस्नेतले अबका फिल्ममा महिलाको यथार्थ देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिए । साहित्यकार कृष्ण धरावासीले संसारभरिका फिल्म हेरेका दर्शकलाई अब नेपाली फिल्मले आकर्षण गर्नुपर्ने भनाइ राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *