गति लिने प्रयासमा सौराहाका होटल, शुरु गर्दै ‘घुमौं सौराहा’ अभियान – Nepal Press

गति लिने प्रयासमा सौराहाका होटल, शुरु गर्दै ‘घुमौं सौराहा’ अभियान

काठमाडौं । कोभिड–१९ को महामारीपछि गत फागुनदेखि पर्यटन क्षेत्र ठप्प छ । विदेशी पर्यटकको आगमन शून्य बराबर छ ।
ठूला होटल पूर्ण रुपमा बन्द छन् । तर, पछिल्लो समय  कोभिडको महामारीबीच पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई जोड दिएका छन् ।

रिजिनल होटल व्यवसायी संघ चितवन सौराहाले पुुस १० गतेदेखि देशव्यापी रुपमा ‘घुमौं सौरहा’ अभियान शुरु गरेको छ । संघका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानका लागि होटल व्यवसायी शुक्रबार विराटनगर आइपुगेका छन् ।

‘आन्तरिक पर्यटकलाई लक्षित गरी पाँचै प्रदेशमा ‘घुमौं सौराहा’ अभियान गरिनेछ । यसको शुरुवात विराटनगरबाट गर्न लागेका छौं,’ उनले भने ।

संघले आज दिउँसो विराटनगरका होटल व्यवसायी, उद्योगी, सामाजिक अभियन्ताआदिका बीचमा ‘घुमौं सौराहा’ अभियान कार्यक्रम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार ‘घुमौं सौराहा’ अभियानअन्तर्गतको प्याकेजमा आन्तरिक पर्यटकलाई चितवनमा घुमाएर सौराहामा नाइट–स्टे गराउने र सौराहाका सबै पर्यटकीय स्थलको भ्रमण गराउने रहेको छ ।

संघले पुस ११ गते प्रदेश नं २ जनकपुर र पुस १२ गते वीरगञ्जमा ‘घुमौं सौराहा’ अभियान कार्याक्रम गर्ने बताएको छ । साथै केही दिन भित्रमा नै अन्य बाँकी पाँच प्रदेशमा पनि कार्यक्रम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

उनका अनुसार अहिले सौराहामा दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका छन् । लकडाउनपछि गत असोजमा खुलेको सौराहाका होटलहरुले आन्तरिक पर्यटकलाई होटलको स्तर हेरी ३० देखि ४० प्रतिशतसम्म खाना र बस्नमा छुट दिएका छन् ।

कोभिड–१९ का कारण शून्यमा झरेको होटलको अकुपेन्सी हाल १० देखि २० प्रतिशत पुगेको छ । आन्तरिक पर्यटन ‘घुमौं सौराहा’ अभियानले होटलको अकुपेन्सी ३५ देखि ४० प्रतिशत पुग्ने संघको आशा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर