मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन – Nepal Press

मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई कारवाही गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई नभएको बताएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री परिषदमा सहभागी भएका मन्त्रीहरुलाई जनता समाजवादी पार्टी लुम्बिनीले २४ घण्टे स्पष्टीकरण सहित निलम्वन गरेपछि नेता सुमनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘संसदीय दलले निर्णय गरेर सरकारमा सहभागी भएको अवस्थामा प्रदेश कमिटीले कुनै कारवाही गर्न सक्दैन,’ उनले भने, ‘उहाँहरु संसदीय दलको दुई तिहाईले निर्णय गरेर सरकारमा सहभागी हुनु भएको छ संसदीय दल पार्टीको एउटा आधिकारिक अंग हो त्यसले गरेको निर्णय पार्टीकै निर्णय हो ।’

पार्टीका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गरी मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएका थिए । प्रदेश कमिटीले सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिँदै त्यतिन्जेलसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सुमनले लुम्विनी प्रदेशमा अविश्वास प्रस्ताव अगाडि बढाउने नबढाउने बिषयमा कसलाई साथ दिने भन्ने बिषयमा पार्टी केन्द्रमा कुनै निर्णय नभएको बताए । ‘केन्द्रीय कार्यकारिणी समितिले समयमा निर्णय नदिँदा कर्णाली प्रदेशमा दुर्घटना भयो,’ सुमनले भने ।

सुमनले जनता समाजवादी पार्टीको प्रदेश कमिटी समायोजनसमेत नभएको अवस्थामा आफूलाई अधिकार नै नभएको बिषयमा सांसदलाई निस्कासन गरिने भनेर बिज्ञप्ति निकाल्नुको कुनै अर्थ नरहने दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर