बुटवल विकासमा विवादः सडक बढाउने कि सम्पदा र पार्क जोगाउने ? – Nepal Press

बुटवल विकासमा विवादः सडक बढाउने कि सम्पदा र पार्क जोगाउने ?

रुपन्देही । बुटवलमा सडक विस्तार गर्दा आसपासका ऐतिहासिक पार्क, धार्मिक सम्पदा एवम् शालिकलगायत अन्य संरचना जोगाउने कि भत्काउने भन्ने बहस चर्किएको छ ।

चौराहादेखि गोलपार्कसम्म सडक विस्तारसँगै आस्थाका धरोहर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नाममा बनाइएको पुष्पलाल पार्क, आदिकवि भानुभक्त आचार्यको सम्झनामा बनाइएको भानु पार्क र नेपाल संवतका प्रवद्र्धक शंखधर साख्वाका नाममा बनाइएको पार्क र उनीहरुको प्रतिमा भत्कने भएपछि यो विषय चर्चासँगै विवादमा आएको हो ।

त्यस्तै ट्राफिकचोकमा करिब ३५ वर्षअघि बनेको दुर्गा पञ्चायन मन्दिर विस्थापित हुने भएपछि हिन्दू धर्मावल्म्बीले चिन्ता व्यक्त गरेका छन् । सडक विस्तारसँगै भत्कने संरचनाहरु प्रतिस्थापन गर्ने विषयमा स्पष्ट योजना नहुँदा यसका संस्थापकहरुले पनि चिन्ता गरिरहेका छन् ।

सडक विस्तारका क्रममा ट्राफिकचोकमा रहेको शंखधर साख्वा मूर्ती भत्काइएको छ भने अन्य पार्कहरुमा राखिएका मूर्ति पनि हटाउने तयारी सडक विभागले गरेको छ । यसैगरी दुर्गा मन्दिरको केही भागमा सडक विभागले डोजर लगाएर भत्काएको छ र बाँकी पनि छिटै भत्काउने भनिएको छ ।

बुटवलमा सडक किनारमा बनाइएका पार्क र मूर्तिहरु अधिकांश नगरपालिकाले जग्गा र केही रकम प्रदान गरेर सरोकारवालाहरुको पहल र लगानीमा निर्माण भएका हुन् । यसरी बनेका संरचनाहरुमा राखिएका मूर्तीका व्यक्तिहरुका नाममा ती स्थानको नामाकरणसमेत भएका थिए । अब ती नाम पनि लोप हुने भएका छन् ।

दोस्रोपटक भत्काइँदै छ पुष्पलाल पार्क

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव भएका कारण सो विचारमा आस्था राख्नेहरु हरेक वर्ष पुष्पलाल दिवस मनाउन सो पार्कमा पुग्ने गर्दथे ।

पुष्पलालपार्क बुटवल नगरपालिकाको पहलमा करिब १५ लाखको लागतमा निर्माण गरिएको पूर्वमेयर तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताउँछन् । सडक चार लेनको बनाउने क्रममा पनि उक्त पार्कको आधा भाग भत्काइएको थियो । अहिले पार्क दोस्रोपटक सडक ६ लेनको बनाउँदा पुष्पलालको प्रतिमा र पार्क पूरै भत्कने भएको छ । कम्युनिस्ट पार्टीका संस्थापकको शालिक भएको नाताले त्यसप्रति स्वभाविक रुपमा कम्युनिस्ट पार्टीप्रति आस्था राख्नेहरुले धेरै सम्मान र श्रद्धा गर्ने लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ बताउँछन् ।

‘त्यहाँ पुष्पलालबाहेक अन्य राष्ट्रिय दिवस, पर्व, आन्दोलनका अवसरमा दीप प्रज्वलन गर्ने तथा विभिन्न समर्थन र विरोधका कार्यक्रम पनि हुन्छन् । तर आज सो ठाउँ भत्कने भएपछि अवश्य पनि चिन्ता लागेको छ ।’ उनी भन्छन् ।

एक दशकअघि बुटवलमा निर्माण भएका राष्ट्रिय विभूतिका प्रतिमासँगै पार्क तथा चोकको नामाकरण गरिएको थियो । चोक र मूर्तीसँगै त्यसप्रति मनोभाव जोडिएको धेरैको बुझाइ छ । तर विकास निर्माण क्रममा त्यहाँबाट हटाए पनि अन्य उपयुक्त ठाउँमा राख्नुपर्ने साहित्यकार सरिता श्रीसकोे माग छ ।

‘भानुभक्त होउन् वा पुष्पलाल ! उहाँहरुसँग आ–आफ्नो तरिकाले मनोभाव जोडिएको छ । तसर्थ उपयुक्त ठाउँमा सम्बन्धित निकायले छिटै थप आकर्षक ढंगले पार्क र मूर्ती राख्नुपर्छ, यो काम भत्काउनु पूर्व नै सुरुवात हुनुपर्ने हो’ श्रीसको भनाइ छ ।

धार्मिक महत्वको दुर्गा मन्दिर पनि भत्काइयो, हिन्दू धर्मावलम्बी चिन्तित

ब्यस्त बजारको चोकमा २०४२ सालमा निर्माण भएको दुर्गा पञ्चाङ्ग मन्दिर यस क्षेत्रको पुरानो मन्दिरका रुपमा परिचित छ । सो मन्दिरको पूर्वतर्फको भाग डोजर लगाएर सडक विभागले भत्काएको छ । अब सडक क्षेत्र अधिकारभित्र पर्ने सबै संरचना भत्काउँदा मन्दिरको जम्मा ४ फुट मात्र भाग रहन्छ । यसअघि पनि सडक विस्तार गर्दा पुष्पलाल पार्क र दुर्गा मन्दिरको केही भाग भत्किएको थियो तर अहिले मन्दिर र पार्क दुबै बँच्ने अवस्था छैन । अब मन्दिरको मूर्ती राख्ने ४ फुटबाहेक अन्य ठाउँ नरहने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष हिमलाल भट्टराईले बताए ।

दैनिक साँझबिहान पूजाआजा, विहे, व्रन्तबन्ध आदि हुने गरेको सो मन्दिर कहाँ प्रतिस्थापन गर्ने अझै केही टुंगो नलागेको व्यवस्थापन समितिले बताउँछ । पटकपटक गरी व्यक्ति र संस्थाहरुबाट दान सहयोगमा झन्डै ६० लाख खर्च गरेर बनाएको मन्दिर भत्कने भएपछि भक्तजनको चिन्ता बढेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनचन्द्र रेग्मीले मन्दिरको पूरै भाग नभत्काउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । उनले भने, ‘हामी अध्यामित्क क्षेत्रका व्यक्तिहरुले अनुरोध आग्रह गर्ने हो, अरु के गर्न सकिन्छ र ! यस्तो इतिहास र आस्था बोकेको मन्दिर भत्काएर कहाँ लैजाने, कसरी नयाँ व्यवस्थापन गर्ने योजना नगरपालिकाले गर्नुपर्ने हो, त्यो देखिएको छैन, हामी निरास छौं ।’ उनले बाटो छेउको मन्दिर सवैले जाँदा आउँदा दर्शन गर्न सजिलो र सटर भाडाबाट मन्दिरको दैनिक खर्च चलेको बताए ।

शंखरधरको मूर्ती हटाइयो

नेपाल संवतका प्रवद्र्धक शंखधर साख्वाको सम्झनामा बुटवलको टा«फिकचोकमा रहेको अस्थायी प्रहरी बिट छेउमा बनाइएको शंखधर शाख्वा पार्क भत्काइएको छ । पार्कमा रहेको शंखधरको शालिक निकालेर नेवा पुचको कार्यालयमा राखिएको छ ।

नेव पुचः बुटवल (नेवा समाज विकास परिषद्)का अध्यक्ष काजीमान श्रेष्ठले शंख्खधर शाख्वाको प्रतिमा सडक विस्तारसँगै पार्क भत्कने भएपछि मूर्ती हराउने र फुट्ने डर भएका कारण नेवा पुचःको कार्यालयमा लगेर राखेको बताए ।

उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत थालिएको ईतिहासकार बताउँछन् ।

शंखधरको मूर्तिसहितको पार्क २०६० साल नेपाल सम्वत् ११ सय २३ दिन पारेर स्थपना गरिएको थियो । बुटवल उपमहानगरपालिका र नेवा पुचःको ५ लाख रुपैयाँ लगानीमा स्थापना भएको पार्कमा नेवार समुदायले नेपाल सम्वत् तथा अन्य अवसरमा जस्तै वेल विवाह गर्दा कन्याहरुलाई प्रतिमाको र्दशन गराई पूजाआज गर्ने थलो बनेको थियो ।

अध्यक्ष श्रेष्ठले पार्क हट्ने भएपछि त्यसको पुनस्थापनाका विषयमा अझै केही टुङ्गो नलागेको बताए । ‘अब नयाँ स्थानमा स्थापना गर्नको लागि लाखौं खर्च लाग्ने छ, स्थानको पनि निश्चित छैन’, उनी भन्छन् ।

कहाँ बन्ला अहिलेजस्तो भानुपार्क ?

२०५९ सालमा पाल्पारोडमा बनाइएको भानुभक्त आचार्यको मूर्तीसहितको पार्क हट्ने भएपछि साहित्कारहरुले मन दुःखेको छ । यस क्षेत्रको एक मात्र साहित्यिक पार्क नष्ट हँुदा निराशा छाएको उनीहरुको भनाइ छ ।

बुटवलको पाल्पारोडमा निर्माण गरिएको भानुपार्क यस क्षेत्रमा आदिकवि भानुभक्तको मूर्ती भएको एकमात्र स्थान हो । तत्कालीन पश्चिम नेपाल बस व्यवसायी समितिको सम्पूर्ण खर्चमा २०५९ सालमा आदिकवि भानुभक्त आचार्यको प्रतिभा स्थापना गरेको त्यो बेलाका समितिका उपाध्यक्ष तुल्सीराम बन्जाडे बताए ।

साहित्यकारहरुको अनुरोधमा त्यो बेला ५ लाख खर्च गरेर समितिले निर्माण गरेको उनको भनाइ छ । उनी अब ती ऐतिहासिक व्यक्तिहरुको प्रतिभालाई संरक्षण गर्दै उपयुक्त ठाउँमा राख्ने दायित्व नगरपालिकाको भएका हुँदा त्यसमा ध्यान दिनुपर्ने बताउँछन् ।

उनले भने, ‘नेपाली साहित्यका ऐतिहासिक व्यक्तिको सम्मान गरेर पार्क निर्माण गरेका हौं । अब सडकले हटाउने भएपछि त्यसको निर्माण र संरक्षणको सम्पूर्ण जिम्मा नगरपालिकाले लिएर उपयुक्त ठाउँमा यस्ता प्रतिमाहरु राख्नुपर्छ । त्यसमा नगरपालिकाले ढिला गर्नु हँुदैन ।’

साहित्यकार दलबहादुर गुरुङ्गले आदिकवि भानुभक्तको एक मात्र पार्क भत्कने कुराले सम्पूर्ण साहित्यप्रेमीलाई दुःख लागेको तर विकासको लागि भएको भनेर चित्त बुझाएको बताए । निर्माणको बेला ध्यान पुगेको भए आज यो अवस्था आउने थिएन तर गल्तीबाट पाठ सिकेर चाँडो ती प्रतिभाहरु खडा गरिनुपर्ने उनको भनाइ छ ।

त्यसलाई बुटवलको कुनै राम्रो र स्थायी प्रकारको ठाउँ जस्तै फुलवारी या हिलपार्कमा राख्दा उपयुक्त हुने गुरुङको भनाइ छ । सबै राष्ट्रिय विभूतिहरुको प्रतिभा एकै ठाउँमा राख्दा खर्च पनि कम र सुन्दर पनि हुने तथा हेर्दा पनि सबै ध्यान जाने उनको तर्क छ ।

कसरी होला व्यवस्थापन ?

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक विस्तार गर्दा ३ वटा राष्ट्रिय विभूतिका प्रतिमाहरु हटाउनुपर्ने हुन्छ । ती विभूति कहाँ राख्ने भन्ने विषयमा उपमहानगरले योजना बनाएर राख्ने जनाएको छ ।

तर बुटवल उपमहानगरपालिकाले राष्ट्रिय विभूतिका प्रतिमाहरु संरक्षण गर्दै अन्यत्र व्यवस्थापन गर्ने भनेपनि कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट योजना र जवाफ दिनसकेको छैन ।

नगरप्रमुख शिवराज सुवेदीले राष्ट्रिय विभूतिहरुका मूर्तिहरुलाई संरक्षण गर्दै नगरपालिकाले बनाउन थालेको बुटवल रानीगञ्जमा लैजाने मनसाय बनाएको बताए । राष्ट्रिय विभूतिको मूर्ति सबैको एकै ठाउँमा राख्ने र त्यही संविधान दिवस, सहिद दिवस आदि मनाउने योजना ल्याएको उनको भनाइ छ ।

उनले शंख्वाधरलाई नेवा पुचःमा मात्र सीमित गर्नुभन्दा राष्ट्रिय विभूति पार्कमै राख्न राम्रो हुने उनको तर्क छ । प्रमुख सुवेदीले मूर्तिका स्थापनाकर्ता वा समुदायले फुलवारी अथवा अन्य कतै राख्न जोडि दिनुुहन्छ भने पनि नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ अब विगतको कमजोरीलाई पाठ सिकेर नयाँ ढंगले नगरपालिकाले सोच्नुपर्ने बताउँछन् । उनले ती पार्क र मूर्तिलाई लामो समयसम्म अलपत्र पार्ने काम चाहि गर्नु हँुदैन भन्ने कुरामा समयमै सचेत हुन सुझाव दिन्छन् । उनी भन्छन्–‘अहिले जसरी सडकको क्षेत्राअधिकारभित्र परेका छन् । अब गराउँदा यस्तो होइन्, सधैलाई संरक्षण र सम्मान हुने उपयुक्त ठाउँमा निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

साहित्यकार दलबहादुर गुरुङ्गले यदि सडकको क्षेत्रअधिकारभित्र पर्दछ भने बुटवलको कुनै राम्रो ठाउँमा चाँडोभन्दा चाँडो बनाउनुपर्ने बताउँछन् ।

बुटवलका सफल मूर्तीकार यम थापाले राष्ट्रिय विभूतिहरुको शालिक र पार्कको सम्मानजनकरुपमा व्यवस्थापन गर्दै थप नयाँ बनाउन सुझाव दिन्छन् । उनले प्रतिमाहरुलाई एकिकृत गरेर आर्कषक, सम्मान र संरक्षणसँगै मनोभावनासंग जोडिएर काम थाल्न आग्रह गरे ।
हतार र हचुवाको भरमा जहाँ पायो त्यहि राख्दा प्रतिमाहरुको गरिमा पनि नरहने भन्दै कलाकारको सिर्जनालाई पटकपटक अपमान नगर्न सबैलाई अपील गरेका छन् । नगर विकासका दीर्घकालीन योजनाबिना बनाइएका संरचनाले बजारको सौन्दर्य पनि नदिने र खर्च पनि अनावश्यक हुने भएकाले यसमा ध्यान पुराउनुपर्ने हुन्छ ।

उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले सबैको भावना समेट्नेगरी एकै ठाउँमा राख्ने योजना बनाएपनि निचोडमा नपुगेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर