कानून नबन्दा छ महिनादेखि रेल ‘डेमो’ मै सीमित – Nepal Press

कानून नबन्दा छ महिनादेखि रेल ‘डेमो’ मै सीमित

काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो ।

सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए ।

उनले भने ‘कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।’ आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ ।

कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उनले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । ‘उनीहरु आउन तयार छन्, हामीले चाहिने भएपछि तत्काल ल्याउन सकिन्छ ।’

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट रेल सेट खरिद गरिएको थियो ।

कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । त्यसमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायतका रहने कम्पनीले जनाएको छ ।

नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताइएको छ ।

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ ।

भाडादर र टिकटको विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न ७५ रुपैयाँ भाडादर तोकिएको छ । ‘डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ’, उनले भने ।

कम्पनीले रेलमार्गमा काम गर्नै जनशक्तिलाई दुई साताको तालीम दिइने महाप्रबन्धक भट्टराको भनाइ छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ ।

तत्काल काम शुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको भट्टराई बताउँछन् । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर