‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु – Nepal Press

‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु

काठमाडौं । अभिनेता कार्म र लक्ष्मी बर्देवाको जोडी पहिलोपटक पर्दामा एकसाथ देखिने भएको छ । रंगमंचको पृष्ठभूमिबाट आएका दुवैले फिल्म ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् ।

शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले आएको प्रस्ताव सकारेको बताए ।

कार्मले भने, ‘म थिएटरको समयदेखिकै लक्ष्मीको प्रशंसक हुँ । तर, पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनुभएको छ । यो फिल्ममा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’

उता लक्ष्मीले पनि कार्मसँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् । ‘यो लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ ।

केहीमा पैसामा कुरा नमिलेर गरिन, कति भूमिका । यसको कथा र टीम मन परेर गर्ने निर्णय गरेकी थिएँ । यही फिल्ममा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘ किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो ।’

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्राजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने । जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।
२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिन दुलालले खिचेका हुन् । फिल्मलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

उनलाई निर्माणमा सह-निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् ।

रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । जीवन अधिकारीको समेत अभिनय रहने फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म कृपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *