ए डिभिजनमा बढुवा भएको एकै सिजन रेलिगेसनमा पर्‍यो खुमलटार, पुलिस तेस्रो – Nepal Press

ए डिभिजनमा बढुवा भएको एकै सिजन रेलिगेसनमा पर्‍यो खुमलटार, पुलिस तेस्रो

काठमाडौं । लिग चरणको अन्तिम चरणमा चर्च ब्वाइज युनाइटेड क्लबसँग २-० को नतिजामा पराजित भएसँगै एफसी खुमलटार ए डिभिजन लिगबाट बी डिभिजनमा घटुवा भएको छ ।

२०७९ सालमा बी डिभिजनमा दोस्रो हुँदै शीर्ष डिभिजन यात्रा तय गरेको खुल्टारले २६ खेलमा ८ जित ३ बराबरी र १४ हारको नतिजासहित २७ अंक जोड्न सक्यो ।

दुई टिम रेलिगेशनमा पर्नेमा दोस्रो टिमको टुंगो सनिबार हुने थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीचको नतिजाबाट लाग्नेछ । थ्री स्टार जावलाखेलसँग बराबरी खेले अथवा पराजित भएमा बी डिभिजनमा घटुवा हुनेछ । र, एपीएफ रेलिगेसनबाट जोगिनेछ । भने, जावलाखेललाई हराउन सके थ्री स्टार जोगिनेछ ।

एन्फा कम्प्लेक्समा भएको खेलको १३औं मिनेटमा सुशिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जोसेफ बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा सोही अग्रता जोगाउँदै एक खेल अगावै च्याम्पियन बनिसकेको चर्च ब्वाइजले सिजनको सुखद् समापन गर्यो ।

खुमलटार २६औं चरण सकिँदा २७ अंक जोडेर लिग तालिकाको पुछारमा छ। विजेता चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक जोडेको छ ।

नेपाल पुलिस तेस्रो

अन्तिम चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० को नतिजामा पराजित गरेसँगै नेपाल पुलिस क्लबले तेस्रो स्थानमा रहेर सिजन सकाएको छ ।

च्यासल रंगशालामा भएको खेलको २१औं मिनेटमा अहमद हिजाजीले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म सोही अग्रता जोगाउँदै पुलिसले तेस्रो स्थान सुरक्षित गर्यो ।

पुलिसले २६ खेलबाट ४१ अंक जोडेको छ । पराजित सातदोबाटो समान खेलबाट ३५ अंक जोडेर पाँचौं स्थानमा छ । आजै दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई ४-० ले पराजित गरेसँगै फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *