सन्दीप दक्षिण अफ्रिका प्रस्थान – Nepal Press

सन्दीप दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने विश्वकप छनोटअघिको अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।

उनी आइतबार राती दक्षिण अफ्रिका उडेका हुन् । काठमाडौं अदालतमा नाबालिग बलात्कारको मुद्दा खेपीरहेका सन्दीप मुद्दाको पेसी हुने र अदालत धाइरहनु पर्ने भएका कारण टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

तर, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै उनका कानून व्यवसायीले लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २१ को तारिख दिएको हो । अब सन्दीपले विश्वकप छनोट सकिएपछि मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्नेछ

नेपाली टिमका बाँकी सदस्य अघिल्लो हप्ता नै दक्षिण अफ्रिका पुगिसकेका छन् । तर, प्रशिक्षक मोन्टी देशाई भने भिसा समस्याका कारण अझै पुग्न सकेका छैनन् ।

विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल टिमले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । पहिलो खेल जुन ८ मा स्कटल्यान्ड र दोस्रो अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेलेर नेपाली टिम विश्वकप छनोटका लागि उतैबाट जिम्बावे प्रस्थान गर्नेछ ।

दक्षिण अफ्रिकाको भ्रमण सकेर नेपालले जुन १८ देखि ९ जुलाईसम्म जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न जानेछ ।

नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्नेछ ।

पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स ९यूएई० सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टीमले सुपर सिक्समा स्थान बनाउनेछन् र दुई टीमले विश्वकपमा स्थान बनाउनेछन् ।

विश्वकप छनोट खेल्ने नेपाली टीमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *