सामूहिक राजीनामा दिंदै सात मन्त्रीले भने– देशमाथि गम्भीर धक्का लाग्यो – Nepal Press

सामूहिक राजीनामा दिंदै सात मन्त्रीले भने– देशमाथि गम्भीर धक्का लाग्यो

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयप्रति असहमति जनाउँदै मन्त्रिपरिषद्का सात सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका रहेका छन् ।

सिंहदरबारमा कार्यक्रम गरेर सामूहिक रुपमा राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, ऊर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री विना मगर छन्।

प्रचण्ड–माधव पक्षका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन्।

मन्त्रीहरुका तर्फबाट सामूहिक राजीनामा पत्र पढ्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति गम्भीर असहमति भएको जनाए।

त्यस्तै कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुषालले संसद विघटन गर्ने प्रधानमन्त्री निर्णयले देशमाथि गम्भीर धक्का लागेको बताए । उनले यो कदमले वामपन्थी र उदार राजनीतिक प्रबन्धमाथि गम्भीर समस्या आएको बताए ।

‘देशमाथि गम्भीर धक्का लागेको छ’ भुसालले भने, ‘यो वामपन्थी र उदार राजनीतिक प्रबन्धमाथि गम्भीर समस्या आएको छ। यसको सामना नेकपाले गर्नेछ । यो क्षतिलाई पूरा गर्न हाम्रो शक्ति फेरि लाग्नेछ ।

त्यस्तै सिंचाइ, जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले चालेको कदम संविधानविपरीत रहेको बताए। उनले आफूहरुको राजीनामा नेतृत्वको गल्ती सच्याउन दबाब दिने उदेश्यले भएको बताए।

‘जनताको त्याग बलिदानबाट भएको उपलब्धिलाई र पार्टी एकतालाई जोगाउने अझै प्रयत्न गर्छौं’ पुनले भने, ‘यसबाट प्रधानमन्त्रीलाई गल्ती सच्याउन दबाब होस् भनेर हामीले यो कदम चालेका छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर