छक्कापञ्जा ४ को ‘दर्शन सलाम’- तीतोसत्यका राजसँग कति जम्यो स्वस्तिमाको जोडी (भिडिओसहित) – Nepal Press

छक्कापञ्जा ४ को ‘दर्शन सलाम’- तीतोसत्यका राजसँग कति जम्यो स्वस्तिमाको जोडी (भिडिओसहित)

काठमाडौं । बहुप्रतिक्षित फिल्म छक्कापञ्जा ४ को पहिलो गीत रिलिज गरिएको छ । आज युट्युबबाट रिलिज गरिएको ‘दर्शन-सलाम’ मा तीतोसत्यका बाल कलाकार राज आचार्य र नायिका स्वस्तिमा खड्का तथा दीपकराज गिरी र दीपाश्री निरौला जोडीका रुपमा देखिन्छन् ।

छक्कापञ्जा सिरिजका अघिल्ला चलचित्रहरु जस्तै यसपालि पनि जनजिभ्रोमा झुण्डिने लोकलयको गीतमार्फत माहोल तताउन खोजिएको छ । राज र स्वस्तिमाले उम्दा नृत्य गरेका छन् भने दीपक र दीपाले पनि उत्तिकै मेहनत गरेका छन् ।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यस गीतमा चुनावी प्रचारका दृश्यहरु देख्न सकिन्छ, जसमा दीपकराज नेताको हुलियामा छन् ।

यो चलचित्रमा राजनीतिक विषयवस्तु समेटिएको गीतका दृश्यहरुबाट अड्कल गर्न सकिन्छ । गीतमा चलचित्रका प्रमुख पात्रहरु माग्ने बुढा र बुद्धि तामाङ हैट पनि देखिएका छन् । गीतको अन्त्यमा सानो टिजर पनि समेटिएको छ ।

यसअघिका सिरिजमा छक्कापञ्जा हिट हुन गीतले पनि सहयोग गरेको थियो । अहिलेको गीतले पनि राम्रो सम्भावना देखाएको छ । राजेन्द्र थापाको रचनालाई दीपक शर्माले संगीत दिएका छन् भने डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *