बागमती प्रदेशका ५ जना महिला: जसले प्रत्यक्षतर्फ पुरुषलाई लगाए पाखा – Nepal Press

बागमती प्रदेशका ५ जना महिला: जसले प्रत्यक्षतर्फ पुरुषलाई लगाए पाखा

हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामध्ये दोलखाको मात्रै परिणाम आउन बाँकी छ । यो पटक बागमती प्रदेशका ६६ सीटमध्ये ५ क्षेत्रमा महिला उम्मेदवारले जीत हात पारेका छन् ।

प्रदेशसभा यात्रा गर्नेहरु सबैजना सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । संयोग नै मान्नुपर्छ पाँचै जनाले पुरुष उम्मेदवारलाई पराजित गरेका छन् । महिला उम्मेदवारले प्रत्यक्षतर्फ जित्न सक्दैनन् भने दलहरुको साँघुरो सोचलाई चिर्दै उनीहरुले जीत झण्डा गाडेका छन् ।

यो पटक गठवन्धनको तर्फबाट सिन्धुपाल्चोक १ (१) मा कांग्रेसकी मसिना खड्का विजयी भइन् । खड्काले १४ हजार ६६७ मत ल्याइन् । उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङ १३ हजार ४६६ मतमा रोकिए ।

कांग्रसबाटै प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेकी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हरिप्रभा खड्गी पनि काठमाडौं ६ (१) मा प्रत्यक्षतर्फ जीत दर्ता गर्न सफल बनिन् । खड्गीले ४ हजार ३६१ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका निरेशलाल सिंहले ३ हजार ९३६ मत पाए ।

गठबन्धनको तर्फबाट माओवादीका दुईजना महिला उम्मेदवारले पनि यो पटक प्रत्यक्षमा जीत दर्ता गरेका छन् । दुवैजना माओवादी केन्द्रका बागमती प्रदेशका ‘हाई प्रोफाइल’ उम्म्दवार थिए । सामाजिक विकासमन्त्री रहेकी कुमारी मोक्तानले मकवानपुर २ (१) बाट एमालेका विष्णु ढकालमाथि झिनो अन्तरले जीत हासिल गरिन् । मोक्तानले १९ हजार ९०६ मत ल्याउँदा ढकाल १९ हजार ५८० मतमै रोकिए ।

माओवादी केन्द्रको तर्फबाट बागामती प्रदेशकी पूर्वउपसभामुख राधिका तामाङ पनि नुवाकोट १ (१) बाट आफ्नो जीतलाई निरन्तरता दिन सफल बनिन् । उनले एमालेका सुशीलकुमार खड्कालाई भारी मतान्तरले पराजित गर्दै जीत हासिल गरिन् । तामाङले १६ हजार १६९ मत ल्याँउदा खड्काले १३ हजार ३५० मतमात्र पाए ।

प्रदेशसभामा प्रत्यक्षतर्फ जीत दर्ता गर्ने महिला उम्मेदवारमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर पनि हुन् । आलेमगरले काठमाडौं १० (२) बाट जीत हासिल गरेकी छन् । आलेमगरले ५ हजार ८१८ मत ल्याउँदा एमालेका रामशरण आलेमगरले ५ हजार १८८ मतमात्रै पाए ।

५ जना महिला विजयी भए पनि महिलाको सहभागिता प्रत्यक्षतर्फ बागमती प्रदेशमा ७ प्रतिशतमात्र पुगेको छ । ३३ प्रतिशत अनिवार्य सहभागिता हुनुपर्ने दलहरुले अब समानुपातिकबाट महिलालाई प्रदेशसभामा प्रवेश गराउनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर