लिङ्देनको निसानामा कमल थापाको गृहनगर – Nepal Press

लिङ्देनको निसानामा कमल थापाको गृहनगर

हेटौंडा । चैत्र २७ गते हेटौंडाको हुप्राचौरमा भएको आमसभालाई सम्बोधन गर्दै राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देलले भनेका थिए, ‘खासमा मलाई कमल दाइको गृहनगरमा आउन पटक्कै मन थिएन, उहाँको क्षेत्रमा आएर शक्ति प्रर्दशन गर्ने मेरो चाहना पनि हैन, तर यहाँका साथीहरुले आउँनैपर्छ भनेर ढिपी गर्नुभयो त्यसैले म आएँ ।’ उनै लिङ्देन एक महिना नबित्दै फेरि चुनावीसभाका लागि पुनः हेटौँडा आउने भएका छन् ।

राप्रपा मकवानपुरको आयोजनामा आज सोही स्थानमा हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देल हेटौँडा आउँदै छन् । यो पटक उनको दाउ हेटौँडामा राप्रपालाई पुरानै हैसियतमा फर्काउने हुनेछ । राप्रपाबाट कमल थापाकै निकट तथा भरोसायोग्य पात्र दिपकबाहुर सिंहलाई मेयर पदमा ‘हलो’ चुनाव चिह्नबाट निर्वाचनमा उठाउन सफल भएका लिङ्देलको दाउ राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहनगरमा आफ्नो दबदबा कायम गर्नु र थापालाई नैतिक दबाब दिनु हुनेछ ।

हुनत यतिबेला लिङ्देन देशव्यापी रुपमा शक्तिशाली पार्टीविरुद्ध एक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर हेटौँडाको तारान्तर आगमनले एमाले र गठबन्धसँगै थापाको राप्रपा नेपाललाई समेत खुलमखुल्ला ‘च्यालेञ्ज’ दिने रणनीतिको रुपमा लिन सकिन्छ ।

हेटौँडामा गठबन्धमा भएको गडबडले मेयरको उम्मेदवार सिंहलाई फाइदा पुग्ने आँकलन गरिएको अवस्थामा लिङ्देनको दाउ हेटौँडामा आएर थापासँग भएका कार्यकर्तालाई समेत आफ्नो पक्षमा पार्ने देखिएको छ । राप्रपा मकवानपुरले दिएको जानकारी अनुसार आजको आमसभामा थापा पक्षका केही पुराना नेताहरुलाई राप्रपामा प्रवेश गराउने तयारी छ ।

कमल थापानिकटका ‘हेभी वेट’ नेता खिलप्रसाद चौँलागाई, कृष्ण बिडारीलाई एमालेमा भित्र्याइसकेको छ ।

राप्रपा मकवानपुरका हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष रघुनाथ खराल भन्छन् ‘हामीले योपटक हेटौँडामा आफ्नो पुरानो शक्ति फिर्ता गर्ने अभियानलाई महत्वको साथ लिएका छौँ । आज हुने आमसभालाई ऐतिहासिक बनाउने तयारी गरेका छौँ र सोही अनुसारको तयारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर