विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल – Nepal Press

विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल

केही दिनअघि ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता सुनिलकुमार थापाले भने, ‘मलाई एउटै मात्र डर छ । नौ सय करोडमा बनेको भारतीय चलचित्र नेपालमा तीन करोडमा बनेको चलचित्रसँग भिड्दै छ ।’

थापाले दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ लाई संकेत गरिरहेका थिए, जुन ए मेरो हजुर ४ सँगसँगै वैशाख १ मा रिलिज हुँदै छ । पछिल्लो समय नेपाली दर्शकमाझ दक्षिण भारतीय फिल्मले जसरी दबदबा बनाइरहेका छन्, त्यसलाई हेरेर निर्माता थापा पहिल्यै आतंकित बनेका हुन् ।

अहिले व्यापक प्रमोसन भइरहेको ‘ए मेरो हजुर ४’ नेपाली दर्शकका लागि प्रतीक्षित सिरिज हो । यसका अघिल्ला तीन वटै सिरिज दर्शकले मन पराए र निर्मातालाई पनि फाइदाजनक रह्यो । तेस्रो र चौथो सिक्वेलमा अहिलेका सर्वाधिक चर्चित र महँगा सुपरस्टार अनमोल केसी छन्, जसले अहिलेसम्म कुनै पनि फिल्ममा असफलताको स्वाद चाख्नु परेको छैन । र पनि, यसपाला दक्षिण भारतीय फिल्मले आफूलाई अप्ठेरोमा पार्न सक्ने संशयमा छन् निर्माता थापा ।

नेपालका वितरकले अहिलेसम्मकै महँगो मूल्य तिरेर ‘केजीएफ’ नेपालमा ल्याएको बताइन्छ । यसको मतलब उनीहरूले ‘ए मेरो हजुर ४’ लाई पर्याप्त शो नै नदिन सक्ने खतरा समेत छ । विगतदेखि नै नेपालका मल्टिप्लेक्सहरुले स्वदेशी चलचित्रलाई विभिन्न बहानामा हेपाहा र पेलाहा व्यवहार गर्दै आइरहेका छन् । ‘केजीएफ’ का निर्माताका लागि नेपाली बजारले ठूलो महत्त्व अर्थ नराख्न सक्छ, तर नेपालका वितरकका लागि राख्छ ।

यता, ‘ए मेरो हजुर ४’ का लागि नेपाली बजारबाहेक अर्को विकल्प छैन । तीन करोडमा बनेको फिल्मले लगानी उठाउनकै लागि मात्रै साढे आठ करोडभन्दा बढीको ग्रस कलेक्सन गर्नुपर्छ । दर्शकको ठूलो उभार सिर्जना नगरीकन फिल्मले लगानी उठाउन सम्भव छैन । यही भएर निर्माण पक्षले फिल्मको पक्षमा माहोल सिर्जना गर्न अनेक हत्कण्डा अपनाइरहेको छ । हालै युवा पुस्ताका चर्चित र्यापर जी–बबको स्वरमा नयाँ गीत रेकर्ड गराउनु पनि यस्तै एक हत्कण्डा हो ।

भारतीय फिल्मको बढ्दो दबदबा

नेपालमा बलिउड चलचित्रहरूले प्रभुत्व कायम गर्नु कुनै नौलो कुरा होइन । भारतका ठूला स्टारका फिल्म रिलिज हुँदा नेपालका हलहरूमा आफसे आफ भीड जम्मा हुन्छ । स्वदेशी चलचित्रले पनि दर्शक तान्न निकै पापड बेल्नुपर्छ ।

पछिल्लो समय बलिउड मात्र नभएर दक्षिण भारतीय फिल्महरूले पनि नेपालमा मालामाल व्यापार गर्न थालेका छन् । गतिलो र तार्किक स्क्रिप्ट नहुने असामान्य मारधाडबाला फिल्महरूले नेपालका दर्शकहरूलाई लोभ्याउन थालेपछि नेपाली फिल्म निर्मातालाई चुनौती थपिएको छ ।

कोरोनाका कारण लामो समय लकडाउन भएपछि फिल्म उद्योग बन्दजस्तै थियो । हलहरू पनि ठप्प थिए । अहिले भर्खरै हलहरू खुलेर नयाँ चलचित्र रिलिज हुन थालेका हुन् । तर, स्वदेशीभन्दा विदेशी फिल्मले नै नेपाली दर्शकको पैसा गुटमुट्याइरहेका छन् । नेपाली फिल्म दर्शक नपाएर तड्पिरहेका छन् ।

‘बाहुबली २’ले मात्रै नेपालबाट करिब २० करोड हाराहारी ग्रस कलेक्सन गरेको समीक्षक सुशील पौडेल बताउँछन् । यस्तै, गत १७ डिसेम्बरमा प्रदर्शन भएको ‘पुष्पा ः द राइज’ ले १२ देखि १४ करोड ग्रस कलेक्सन गरेको थियो । आलिया भाट स्टारर ‘गंगुबाई काठियावाडी’ले पनि राम्रै कलेक्सन गरेको थियो भने अहिले प्रदर्शन भइरहेको साउथ फिल्म ‘आरआरआर’ ले १० करोड कलेक्सन कटाइसकेको छ । हलमा अझै पनि ‘आरआरआर’ को दबदबा कायम छ ।

यो बीचमा रिलिज भएका नेपाली चलचित्र भने अपवादलाई छोडेर असफल छन् । पल शाह प्रकरणका कारण ‘म यस्तो गीत गाउँछु २’ ले सन्तोषजनक कमाइ गर्यो । अर्को चलचित्र कठपुतलीको व्यापार पनि तैविसेक रह्यो । यसबाहेक कुनै पनि नेपाली चलचित्र बक्स अफिसमा चम्किन सकेका छैनन् । नेपाली चलचित्र कहिले हलमा लाग्छन् र कहिले उत्रिन्छन् भन्नेसमेत पत्तो हुँदैन ।

‘आरआरआर’ भन्दा एक साताअघि प्रदर्शन भएको नेपाली फिल्म ‘चिसो एस्ट्रे’ ले मिडियामा राम्रो समीक्षा पाएको थियो । यसबाट निर्माताहरू पनि आशावादी बनेका थिए । तर, र, दर्शक फिल्म हेर्न हलमा गएनन् । फिल्मले पहिलो सप्ताहान्तमै घुँडा टेक्यो । आइतबारसम्म आइपुग्दा हलबाट उठिसकेको थियो । दर्शकले अब युट्यूवमा यो फिल्म हेरेर प्रशंसा गर्नेछन् । विदेशी फिल्म पैसा तिरेर हेर्न र स्वदेशी फिल्म युट्यूवमा हेर्न बानी पर्दै गएका छन् नेपाली दर्शक ।

‘चिसो एस्ट्रे’ मात्रै होइन, पछिल्लो समय प्रदर्शन भएका अरू फिल्मको पनि यही अवस्था छ । अहिले भर्खरै प्रदर्शनमा आएको ‘हेल्लो जिन्दगी’ को व्यापार दयनीय छ । फिल्मले पोस्टर खर्चसमेत उठाउन नसकेको बताइन्छ ।

साथै सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ले हलमा राम्रो दर्शक पायो । यी दुई फिल्म बाहेक अन्य फिल्मले अपेक्षित व्यापार गरेनन् । धेरै फिल्म प्रदर्शन भए, तर काठमाडौंका गल्लीमा पोस्टर टाँस्ने काम बाहेक केही गर्न सकेनन् । न हलमा दर्शकलाई तान्न सके, न राम्रो कमाइ नै गरे ।

दर्शक हलमा आउन् या नआउन्, तर हलमा प्रदर्शन मिति तय गर्न तँछाडमछाड गरिरहेका छन् नेपाली मेकरहरु । कोभिडका कारण दुई तीन वर्षदेखि थन्किएर बसेका फिल्महरू प्रदर्शनको पर्खाइमा छन् । उपयुक्त प्रदर्शन मितिका लागि हानथाप चलिरहेकै छ । तर, ती फिल्मले दर्शक पाउलान् त ? ती फिल्म हेर्न दर्शक आउलान् त ? खासै आशालाग्दो अवस्था छैन ।

फिल्म वितरक मनोज राठी विदेशी फिल्मले नेपालमा राम्रो व्यापार गरिरहेको बताउँछन्, तर कुन फिल्मले कति ग्रस ग¥यो भनेर चाहिँ खुलाउन चाहँदैनन् ।

उनले भने, ‘राम्रो फिल्मले दर्शक त पाइहाल्छ नि । सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले कमाएकै हो । मुख्य कुरा त दर्शकलाई फिल्म मनपर्नुपर्‍यो । मेकरहरुले दर्शकको रुचिको फिल्म बनाउनुपर्‍यो ।’

किन चल्दैनन् नेपाली फिल्म ?

पछिल्लो समय नेपालमा थुप्रै प्रतिभा वान निर्देशकहरू जन्मेका छन् । परम्परागतभन्दा पृथक् शैलीका मौलिक चलचित्रहरू पनि बनिरहेका छन् । तर, ती फिल्ममा दर्शकको खडेरी छ । आखिर किन ?

निर्देशन दीपेन्द्र लामा नेपाली मेकरले दर्शक रिझाउन नसकेको स्वीकार्छन् । लामाका अनुसार नेपाली दर्शकलाई रिझाउन एकदमै सजिलो छ, तर त्यही सजिलोपनालाई पनि बेवास्ता गर्दा हलमा दर्शक तानिन सकेका छैनन् ।

‘हाम्रोमा साढे दुई घण्टाको फिल्म हेर्दा टाउको नदुख्ने मात्रै भए पुग्छ । तर, दर्शकको टाउको दुखाउने खालका फिल्महरू बनेकाले दर्शक हलमा नआएका हुन्,’ लामा भन्छन्, ‘फर्मुलामा बनेका सिनेमा हुन् ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्महरू । रोहित सेट्टीकोभन्दा थोरै स्तरीय फिल्म हुन् । ‘छक्का पन्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिज राम्रै चलेको हो । मोटामोटी नेपाली दर्शकलाई तर्साउने खालका नभएर ती फिल्म चलेका हुन् ।’

नेपाली मेकरको चेतना कमजोर हुनु नै कमसल फिल्महरू बन्नुको कारक मान्छन् लामा । उनी फिल्मकर्मीको चेतनामै प्रश्न गर्दै भन्छन्, ‘हामी जस्तो फिल्मबारे सोच्छौँ, बुझ्छौँ, त्यो सोचाइ, बुझाइ नै निम्न स्तरको छ । त्यही भएकाले दर्शक नआएका हुन् ।’

‘ए मेरो हजुर ४’ सिरिजका निर्माता थापा एक्ला निर्माता होइनन्, जो विदेशी फिल्मसँग डराए । प्रायः सबै नेपाली निर्माताहरू विदेशी फिल्मसँग डराउने गरेका छन् । उनीहरू याचना गरिरहन्छन्, ‘नेपाली फिल्मलाई माया गरिदिनुस् ।’

तर, यसरी याचना गर्नेभन्दा फिल्मको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउँछन् विज्ञहरू । मेकिङदेखि विषयवस्तु छनोटसम्मको आत्मसमिक्षा हुनुपर्ने उनीहरूको तर्क छ ।

निर्देशक मनोज पण्डित नेपाली मेकरले अझै दर्शकलाई नबुझेको बताए । उनका अनुसार ‘दर्शक भनेका मानिस हुन्’ भनेर नबुझ्नु नै मेकरहरुको ठूलो गल्ती हो । दर्शकप्रतिको सम्मान, उत्तरदायित्व भन्ने पाटोबाट मेकरहरु विमुख भइरहनु नै प्रमुख समस्या देख्छन् पण्डित ।

‘हाम्रा केही स्वार्थ र निश्चित चाहनाका लागि मात्रै फिल्म बनाइरहेका छौँ । फिल्म भनेको आफैँलाई बनाउने हो भन्ने अवधारणामा रमाइरहेका छौँ । तर, आफू पनि दर्शक हो भन्ने बिर्सिरहेका छौँ । दर्शकलाई बेवास्ता गरिरहेका छौँ,’ पण्डितको तर्क छ, ‘दर्शक चेतनशील प्राणी हो भनेर स्वीकार गरेका छैनौँ । दर्शक भनेको प्रश्न हो, चेतना हो । दर्शकलाई के कुराको आवश्यकता हो वा उक्त फिल्म हेर्न किन आवश्यक छ भनेर स्वीकारेका फिल्महरूले दर्शकलाई रिझाएका छन्, कमाएका छन् ।’

आफूले जे दियो, दर्शकले त्यही स्वीकार्नुपर्छ भन्ने चेतनाले निर्माण गरिएका फिल्मलाई दर्शकले पनि उस्तै जवाफ फर्काउने पण्डितको बुझाइ छ । नेपाली फिल्मले दर्शक नपाउनुका कारण पनि दर्शकलाई फिल्म हेर्न बाध्य पार्न खोजिनु नै रहेको बताउँछन् ।

उनी भन्छन्, ‘हामी दर्शकलाई बेवास्ता गर्छौँ, अनि दर्शकले हाम्रो सिनेमा किन हेर्ने ?’

आर्थिक नोक्सानी र सांस्कृतिक अतिक्रमण

हरेक देशले स्वदेशी उद्योगधन्दाको संरक्षणका लागि आयातित वस्तु तथा सेवाहरूमा विभिन्न प्रकारका बन्देजहरू लगाउने गर्छन् । देशको व्यापार घाटा चुलिएको भन्दै हालै नेपाल राष्ट्र बैंकले विभिन्न ३०० वटा वस्तुहरूको आयातमा आवधिक बन्देज लगाउन निर्देशन जारी गरेको छ । तर, विदेशी फिल्महरू नेपालमा अनियन्त्रित आयात भएर ठूलो परिमाणमा नेपाली पैसा विदेशिएकोमा भने कसैको ध्यान पुगेको छैन ।

भारत बन्ने ठूला बजेटका चलचित्रहरू नेपालमा तत्कालै रिलिज हुन्छन् । यसमा कुनै पनि क्राइटएरिया निर्धारण गरिएको छैन । नेपालमा बनेका सानो बजेटका फिल्मले महँगा विदेशी फिल्महरूसँग भिड्नुपर्ने चुनौती छ । ठूला विदेशी फिल्म आएका बेला त नेपाली फिल्मले हल नै पाउन मुस्किल हुन्छ । यसले गर्दा नेपाली चलचित्र उद्योग नै संकटमा परेको छ ।

समस्या यो मात्र होइन । फिल्म भनेका व्यापारिक बस्नु मात्र नभएर कुनै पनि देशको संस्कृति र सम्पदाका प्रतिनिधि पनि हुन् । भारतले आफ्ना फिल्महरूमार्फत विश्बजारमा आफ्नो भाषा संस्कृति विस्तार गरिरहेको छ । नेपालमा पनि पछिल्लो समय भारतीय भारतीय संस्कृतिले व्यापक अतिक्रमण गरिसकेको छ । कस्तो विदेशी फिल्म नेपालमा चलाउन दिने र कस्तो नदिने भन्ने कुनै मापदण्ड नभएकाले भारतीय इतिहास र संस्कृतिको बखान गर्ने, अन्य देशको मानमर्दन गर्ने फिल्महरू पनि नेपालमा निर्बाध चलिरहेका हुन्छन् । कतिपय नेपाल र नेपालीकै बदख्वाइँ गरिएको चलचित्रहरू पनि नेपालमा मज्जाले चलेका छन् ।

बेलाबखत केही क्रान्तिकारी पार्टीहरूले भारतीय फिल्म रोक्नुपर्ने माग उराले पनि यो पक्षबाट अहिलेसम्म गम्भीर बहस कतै भएको छैन । एकातर्फ नेपालीको ठूलो परिमाणमा पैसा विदेशिने, स्वदेशी उद्योग संकटमा पर्ने र अर्कोतर्फ भारतीय भाषा–संस्कृतिले नेपाली समाजलाई लपेट्ने चिन्ताजनक अवस्थालाई चिर्न राज्यले ठोस नीति निर्धारण गर्न ढिलाइ भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *