एमाले जनकपुरको विवाद उत्कर्षमा, महासेठ पक्षधरले गठन गरे समानान्तर कमिटी – Nepal Press

एमाले जनकपुरको विवाद उत्कर्षमा, महासेठ पक्षधरले गठन गरे समानान्तर कमिटी

जनकपुरधाम । नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । नेताहरुको आन्तरिक विवाद जनकपुरधाम महानगर कमिटीमा नै देखा परेको छ ।

मंगलबार एमाले सचिव रघुविर महासेठ पक्षधरले जनकपुरधाममा अधिवेशन गराएर सुरेन्द्र भण्डारीको नेतृत्वमा ८५ सदस्यीय समारान्तर नगर कमिटी घोषणा गरेका छन् । यसअघि एमालेका केन्द्रीय सदस्य यदुवंश झाले अधिवेशन गराइसकेका छन् । उक्त अधिवेशनबाट शुभनारायण मण्डलको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी गठन भएको हो ।

सचिव महासेठ पक्षधरको अधिवेशनमा महासेठकी श्रीमती नेतृ जुली महतो प्रमुख अतिथि थिइन् । पूर्वमन्त्रीसमेत रहेकी उनी अहिले पोलिटव्यूरो सदस्य छिन् । उनको पक्षबाट नगर अध्यक्ष बनेका भण्डारी व्यवसायी हुन् ।

यसअघि सोमबार नेता झाले एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको पहलमा अधिवेशन गराएका थिए । अधिवेशनको प्रमुख अतिथि नेतृ शिला यादव थिइन् । उनको समूहले नगर अध्यक्ष बनाएका मण्डल जनकपुरधाम १३ का वडाध्यक्ष थिए । तर घुसकाण्डमा मुछिएका उनी निलम्बनमा परेका छन् । मुद्दा विचाराधीन रहेको अवस्थामै नेता झा पक्षधरले उनलाई नगर अध्यक्ष बनाइएको हो ।

मण्डल नेतृत्वको कमिटीको उपाध्यक्षमा महेन्द्र प्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सहसचिवमा जय प्रकाश साह चयन भएका छन् । भण्डारी नेतृत्वको कमिटीको उपाध्यक्षमा सन्तोष महतो, सचिवमा राजकुमार साह, उपसचिवद्वयमा रुका मिश्र र दिपनारायण साह रहेको बताइएको छ ।

नेता झा र सचिव महासेठ पक्षधर नेताहरुले आ–आफ्नो पक्षका नगर कमिटी आधिकारिक रहेको दाबी गर्छन् । महासेठ पक्षका नेता शिवशंकर साह हिराले अधिवेशनमा २५ मध्ये २३ वडा कमिटी सदस्यको उपस्थिति रहेकाले भण्डारी नेतृत्वको कमिटी आधिकारिक रहेको दाबी गरे ।

यता, एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले नेताहरुको व्यक्तिगत स्वार्थका कारण जनकपुरधाममा समानान्तर कमिटी गठन भएको प्रतिक्रिया दिए । उनले भने, ‘दुवै समिति रहँदैन । दुवै पक्षलाई बसाएर छलफल गर्छौ । र सहमतिमा अर्काे नयाँ समिति गठन गर्नुपर्ने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर