फ्लप ज्ञानेन्द्र, हिट दीपेन्द्र ! – Nepal Press

फ्लप ज्ञानेन्द्र, हिट दीपेन्द्र !

काठमाडौं । दुई साताभन्दा बढी समयको शशक्त प्रतिरोधका बाबजुद राष्ट्रिय टोलीको कप्तानबाट हटाउने निर्णय स्वीकार गर्दै खेलमा फर्किएका ज्ञानेन्द्र मल्लका लागि बुधबार सम्पन्न प्रधानमन्त्री कप स्मरणीय रहेन।

राष्ट्रिय टोलीका अधिकांश सदस्यसहित प्रतिभावान खेलाडीहरु तीनवटा विभागीय टोलीमा आबद्ध रहेको अवस्थामा ज्ञानेन्द्र वागमती प्रदेशको नेतृत्व गर्दै प्रतियोगितामा सहभागी थिए। वागमती सेमिफाइनलसम्म पुग्यो पनि तर ज्ञानेन्द्रले व्यक्तिगतरुपमा उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

ज्ञानेन्द्रले ५ खेलमा ७२ रन जोडे। उनले एक खेलमा सर्वाधिक २३ रनसम्म बनाएका थिए। नेपाल क्रिकेट संघ–क्यानको कारबाहीपछि संघारमै रहेको प्रधानमन्त्री कपमा ज्ञानेन्द्रको व्यक्तिगत प्रदर्शन प्रतीक्षाको विषय थियो।

प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा ज्ञानेन्द्र २२ औं स्थानमा रहे। शीर्षस्थानमा रहेका एपीएफका आसिफ शेखले २ अर्धशतकसहित २ सय २७ रन जोडेका थिए ।

ज्ञानेन्द्रले पहिलो खेलमा लुम्बिनी प्रदेशविरुद्ध १९ रन बनाएका थिए। दोस्रो खेलमा एपीएफविरुद्ध ६ रनमै आउट भएका उनले मधेस प्रदेशविरुद्ध २० र गण्डकी प्रदेशविरुद्ध ४ रन बनाएका थिए। सेमिफाइनलमा उनले नेपाल पुलिसविरुद्ध २३ रन जोडेका हुन्।

अनुशासन उल्लंघन गरेको भन्दै कप्तान र उपकप्तानबाट हटाइएका ज्ञानेन्द्र र दीपेन्द्र सिंह ऐरी प्रमुख प्रशिक्षक पुबुदु दासानायके जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेको केही दिनसम्म पनि बन्द प्रशिक्षणमा फर्कने र नफर्कने टुंगो थिएन।

बन्द प्रशिक्षण सुरु भइसक्दा पनि ३० मध्ये १४ जना खेलाडी ज्ञानेन्द्र र दीपेन्द्रसहित कारबाहीमा परेका ४ जना खेलाडीको पक्षमा उभिँदै नेपाल क्रिकेट संघ(क्यान)लाई दबाब दिएका थिए।

अन्ततः खेलाडीहरु कारबाही स्वीकार्दै बन्द प्रशिक्षणमा सहभागी हुन राजी भए। भलै क्यानले खेलाडीले उठाएका केही विषय सम्बोधन गर्ने आश्वासन दियो। प्रशिक्षक दासानायकेले पनि निर्णायक भूमिका खेले।

कारबाहीमा परेकामध्ये दीपेन्द्रको प्रदर्शन भने बेजोड रह्यो। उनले टोलीमा आफू नियमित बलरको भूमिका रहन सक्नेसमेत देखाएका छन्। दीपेन्द्र प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बने भने उनी सर्वाधिक रन जोड्ने ब्याटरको सूचीमा पाँचौं स्थानमा रहे।

दीपेन्द्र आबद्ध नेपाल पुलिस फाइनलसम्म पुगेर उपाधि भिडन्तमा एपीएफसँग पराजित भएको थियो। दीपेन्द्रले फाइनलमा पनि ब्याटिङतर्फ ६५ रन र बलिङतर्फ ३ विकेट लिएका थिए। सेमिफाइनलमा उनले १० रन खर्चिएर पाँच विकेट लिएका थिए, बागमतीविरुद्ध। फाइनलमा पनि दीपेन्द्रले माथिल्लोक्रमका तीन ब्याट्सम्यानको विकेट लिएका थिए।

क्यानले कप्तान फेर्ने निर्णय मात्र परिवर्तन नहुने जनाएको छ। उपकप्तानका विषयमा भने केही बोलेको छैन। त्यसो त ट्वान्टी-२० विश्वकपको ग्लाेवल क्वालिफायरका लागि १६ जनाकाे अन्तिम टोलीमा सन्दीप लामिछानेलाई कप्तानका रुपमा उल्लेख गरिए पनि उपकप्तानको जिम्मेवारी भने कसैलाई दिइएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *