फिल्म हललाई ५० प्रतिशत अकुपेन्सीमा चल्न दिने काठमाडौं प्रशासनको निर्णय – Nepal Press

फिल्म हललाई ५० प्रतिशत अकुपेन्सीमा चल्न दिने काठमाडौं प्रशासनको निर्णय

हल छिर्न खोप कार्ड अनिवार्य, चपली हाइटलाई राहत

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामबारे काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी आदेशहरु जारी गरेका छन् ।

आदेशको पाँच नम्बर बुँदामा फिल्म हल, रेष्टुरेन्ट, रंगशाला, हवाइयात्रा, पार्क, कार्यालय र होटलमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

आदेशको चौंथो नम्बर बुँदामा २५ जनाभन्दा बढी मानिसको उपस्थिती हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु गर्न र नगराउन भन्ने छ ।

जिल्ला प्रशासन कार्यालयका यी आदेशलाई लिएर नेपाली फिल्म वृत्तमा देखिएको अन्यौलतलाई प्रशासनले स्पष्ट पारेको छ । बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंकी सहायक सीडीओ सुप्रभा खनाल ढुंगेलले २५ जनाभन्दा बढी भेला हुन नपाइने प्रावधान फिल्म हलको लागि लागू नहुने बताइन् ।

फिल्म हलको क्षमताको ५० प्रतिशत दर्शकको उपस्थितीमा मात्र फिल्म देखाउन पाइने प्रशासनको नियम रहेको उनले बताइन् । ‘२५ जनामात्र भेला हुने नियम फिल्म हललाई लागू हुँदैन । ५० प्रतिशत दर्शक क्षमतामा मात्र फिल्म देखाउन पाइन्छ । अनुगमन गर्दा यो नियम पालना नगरेको पाइए हल संचालकलाई कार्वाही हुन्छ’ ढुंगेलले भनिन् ।

उनका अनुसार माघ ७ गतेदेखि फिल्म हलभित्र प्रवेश गर्ने जोसुकैले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । अनुगमनमा कुनै दर्शक खोप कार्ड बिना प्रवेश गरेको पाइए हल संचालकलाई कोभिड कानूनअनुसार कार्वाही गर्ने समेत उनले जनाइन् ।

‘हामीले प्रहरी र प्रतिनिधिमार्फत हलको नियमित अनुगमन गर्नेछौं । कोभिड मापदण्डसहित अकुपेन्सी र खोप कार्डको नियम पालना नभए कार्वाही गर्छौं’ ढुंगेलले नेपाल प्रेससँग भनिन् ।

‘चपली हाइट ३’ लाई राहत

उपत्यका जिल्ला प्रशासनले फिल्म हल संचालनलाई निरन्तरता दिने निर्णय गरेपछि रिलिज तयारीमा रहेको ‘चपली हाइट ३’लाई तत्कालको लागि राहत मिलेको छ ।

तर, कोभिडको महामारीबीच दर्शक हलसम्म पुग्ने त्रास चाहिँ चपली हाइटको चुनौति बन्नसक्छ । अर्जुन कुमारले निर्माण गरेको फिल्म चपली हाइट ३ पुस ३० गते रिलिज तयारीमा छ ।

मंगलबार काठमाडौं उपत्यकामा कोभिडका १२८६ संक्रमित थपिएका छन् । फैलँदो संक्रमणलाई लिएर आगामी साता पुनः बस्ने सीडीओहरुको बैठकले थप प्रतिबन्धहरु लगाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *