देउवालाई अफर : सडकदेखि सत्तासम्म, आजदेखि भोलिसम्म सहकार्य गरौं – Nepal Press

देउवालाई अफर : सडकदेखि सत्तासम्म, आजदेखि भोलिसम्म सहकार्य गरौं

देउवाले भने–तपाईंहरुसँग संयुक्त आन्दोलन हुन्न, सत्ताको कुरा संसदमै ल्याउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत आमनिर्वाचनका दौरान अधिकांश चुनावी सभामा एउटै कुरा भने – कम्युनिष्टले जिते भने रुन पनि दिन्नन् ।

आफूसंगको सत्ता सहकार्य छोडेर माओवादीले एमालेसंग चुनावी गठबन्धन गरेपछि देउवा निकै आक्रोशित थिए । प्रधानमन्त्रीका रुपमा सत्ता साझेदार दललाई ‘कन्फिडेन्ट’ मा लिन नसकेको आरोप देउवालाई पार्टीभित्रबाटै लागेको थियो ।

अकस्मात परेको यस्तो राजनीतिक दवावका बीच देउवाले कुनै महत्वाकांक्षी योजना बाँडेर मत मागेनन् । जहाँ पुगे त्यहीँ भने, ‘कम्युनिष्टले जितेपछि अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन ।’

अहिले देउवाजति खुसी को होला र ? तीसौं वर्ष कांग्रेसलाई पाखा लगायौं भनेर दावी गर्ने कम्युनिष्ट नेताहरु तिनै देउवासंग राजनीतिक सहयोगको ‘याचना’ गरिरहेका छन् र प्रधानमन्त्री, मुख्यमन्त्री जे–जे चाहिने हो दिन्छौं भनिरहेको छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ‘विभाजन’ ले मुलुकको राजनीतिलाई अन्यौलग्रस्त बनाएकै छ । यद्यपि कांग्रेस सभापति देउवालाई भने राजनीतिक रुपमा सन्तोष मिलेको छ । निकटस्थहरुका अनुसार देउवाको ‘कन्फिडेन्ट’ बढेको छ ।

पार्टीलाई पुरानै अवस्थामा फर्काउने इच्छाशक्ति बढेको छ । कम्युनिष्टले जिते रुन पनि पाइँदैन भनेको भएपनि नेकपाको विवाद , विभाजन र संसद विघटनले देउवालाई ‘राजनीतिक हाँसो’ प्रदान गरेको छ ।
प्रतिनिधिसभा विघटनलाई देउवाले ‘असंवैधानिक र अलोतान्त्रिक’ कदम भनेका छन् । कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको व्याख्या उनले विरोध सभामा गर्ने गरेका छन् । यद्यपि यसलाई अवसरको रुपमा पनि देउवाले बुझेका छन् । यहीकारण चर्को आन्दोलन र आँधीबेहेरीको कुरा देउवा गर्दैनन् ।

कम्युनिष्टले जिते रुन पनि पाइँदैन भनेको भएपनि नेकपाको विवाद, विभाजन र संसद विघटनले देउवालाई ‘राजनीतिक हाँसो’ प्रदान गरेको छ ।

संसद पुनःस्थापना हुँदा वा नहुँदा दुवै अवस्थामा राजनीतिक लाभको सन्निकट उभिएका देउवाको ‘दुवै हातमा लड्डु’ छ । संसद पुनःस्थापना भएपनि प्रतिनिधिसभाको अंकगणितले देउवालाई पाँचौ पटक मुलुकको ‘प्रधानमन्त्री’ बनाउन सक्छ ।

कारणवश संसद पुनःस्थापना नभए निर्वाचनबाटै पार्टीले सरकारको नेतृत्व हासिल गर्नसक्ने देउवाको बुझाई छ । पार्टीभित्र र बाहिर अनेक टिप्पणी भएपनि नेपाली राजनीतिको ‘रिमोट’ घुम्दैफिर्दै देउवाकै हातमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमबाट नेकपा विभाजनको संघारमा पुग्नु देउवाका लागि लाभको विषय हुँदै हो । संसद पुनःस्थापना भए ‘चुनावी सरकारको नेतृत्व सुम्पने’ आश्वासन पनि देउवाले पाएकै छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरु मार्फत देउवालाई संसद पुनःस्थापना भए सरकारको नेतृत्व वा आसन्न निर्वाचनमा सहकार्यको प्रस्ताव पठाइसकेका थिए । बुधबार मात्रै संसद विघटनको विरुद्धमा रहेको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पनि देउवालाई अफर गरे ।

देउवासंग वार्ताका लागि प्रयास गरेको लामो समयपछि दाहाल र नेपाल बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवास पुगे । जहाँ उनीहरुले देउवालाई ‘सडकदेखि सत्तासम्म, आजदेखी भोलीसम्म’ को लाभको अफर गरे ।

बैठकमा सहभागि नेता रमेश लेखकका अनुसार नेकपा दाहाल–नेपाल पक्षले संसद पुनःस्थापनाको लागि संयुक्त आन्दोलन गर्न सहमत भए संसद पुनःस्थापनापछि प्रधानमन्त्री बनाउने अफर देउवासामु राखेका छन् ।

त्यस्तै अहिले आन्दोलनमा सहकार्य गरे निर्वाचन नै हुने अवस्थामा पनि देउवालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर गठबन्धन गर्न सकिने अफर गरिएको छ । नेकपाको दुवै पक्षबाट प्राप्त अफरमा देउवाले ‘सिग्नल’ दिइसकेका छैनन् ।

रमेश लेखकका अनुसार नेकपा दाहाल- नेपाल पक्षले संसद पुनःस्थापनाको लागि संयुक्त आन्दोलन गर्न सहमत भए संसद पुनःस्थापनापछि प्रधानमन्त्री बनाउने अफर देउवासामू राखेका छन् ।

यद्यपि संयुक्त आन्दोलन गर्ने प्रस्ताव देउवाले ठाडै इन्कार गरेका थिए । ‘हामी संयुक्त आन्दोलनमा जाँदैनौ । अदालतको आदेश मान्छौं । संसद पुनःस्थापना भए पुनःस्थापित संसदभित्रको सम्भावनाहरु खुला छन् । संसद पुनःस्थापना नभए चुनावको सम्भावना पनि खुल्लै छ’, देउवालाई उधृत गर्दै लेखकले भने ।

भेटका दौरान दाहाल र नेपालले स्थानीय तहदेखि, प्रदेश हुँदै केन्द्रीय सरकारसम्म दीर्घकालीन सहकार्यको प्रस्ताव राखेका थिए ।

आमनिर्वाचनको जनमतका कारण प्रमूख प्रतिपक्षको रुपमा खुम्चिएको अपजस देउवाले पाएकै थिए । पार्टीभित्र र बाहिरबाट देउवाको भूमिकामाथि प्रश्न गरिएको थियो । यद्यपि ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेजस्तो देउवाकै सामु राजनीतिको चक्र घुमिरहेको छ ।

देउवाका सामु नेकपाको दुवै पक्षबाट गरिएका अफरहरुको खात छ । यद्यपि देउवा तत्कालै यसमा अल्मलिने पक्षमा छैनन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा राजनीतिक प्रलोभनका पछाडी कांगे्रस नेतृत्व नकुद्ने बताउँछन् ।

‘जनमतको कदर नगरी संसद विघटन गराउनुमा नेकपाको दुवै पक्ष दोषी छन् । दुवैतिरका दोषीले अहिले गरेका अफरको अर्थ छैन । कांग्रेस आफ्नै राजनीतिक अडान र अभियानबाट जे प्राप्त हुन्छ त्यसमै सन्तुष्ट हुनेछ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
कांग्रेसभित्र आन्दोलन वा निर्वाचन भन्ने विषयमा बहस जारी छ । बहसकै बीच कांग्रेसले संसद विघटनको कदमविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ । यद्यपि अदालतको आदेश नै अन्तिम अस्त्र हुने देउवाको बुझाई छ ।

आन्दोलनबाट संसद पुनःस्थापनाको हुने सम्भावना देउवाले कम देखेका छन् । अदालतले पुनःस्थापना गरे संसदमै सत्ताको गणित मिलाउने देउवाको तयारी छ । अदालतबाट संसद पुनःस्थापित नभए ‘कम्युनिष्टहरु विभाजित भएको बेला’ सत्ताको नेतृत्व गर्न पुग्ने शक्ति जनमतबाटै आर्जन हुनेमा देउवा विश्वस्त छन् । यही कारण नेकपाको दुवै खेमासंग सहकार्य नगरी ‘राजनीतिक लाभ’ आर्जनको बाटो देउवाले रोजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *