पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडेकोप्रति पत्रकार महासंघ रुपन्देहीको आपत्ति – Nepal Press

पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडेकोप्रति पत्रकार महासंघ रुपन्देहीको आपत्ति

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ को सञ्चार क्षेत्रका लागि छुट्याएको परिमार्जित बजेट विनियोजनप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले आपत्ति जनाएको छ । महासंघले लोककल्याणकारी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरेको भन्दै आपत्ति जनाएको हो । यसबारे नेपाल प्रेसले लगातार समाचार प्रकाशन गर्दै आएको छ ।

सोमबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै तुरुन्त सच्याउन जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरी बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमको नामै तोकेरै बजेट विनियोजन गरिँदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको छ । तसर्थ विधि पद्धति र आर्थिक अनुशासन विपरीत छुट्याइएको सञ्चारसम्बन्धी बजेटलाई तुरुन्त सच्याइ प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।’

यस्तै महासंघले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ति जनाउँदै उक्त कोषको रकमलाई थप वृद्धि गर्न माग गरेको छ । साथै, लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक तुरुन्त फिर्ता लिइ संविधानको मर्म, भावना र पूर्णप्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न पनि महासंघ रुपन्देहीले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *