माल्दिभ्स र श्रीलंकाको आज भाग्य-परीक्षा, भारतलाई जित्नुपर्ने दबाब – Nepal Press

माल्दिभ्स र श्रीलंकाको आज भाग्य-परीक्षा, भारतलाई जित्नुपर्ने दबाब

माले । साफ च्याम्पियनसीपअन्तर्गत आज विहीबार दुई महत्वपूर्ण खेल हुँदैछन् । माल्दिभ्सको एकमात्र राष्ट्रिय रंगशालामा आयोजना हुन लागेको प्रतियोगितामा आज घरेलु टिम माल्दिभ्स र श्रीलंकाको भाग्य-परीक्षा हुनेछ ।

नेपाल र बंगलादेशसँग पराजय भोगेको श्रीलंकालाई प्रतियोगितामा रहिरहन भारतविरूद्ध आज हुने खेल जसरी पनि जित्नुपर्ने बाध्यता छ । श्रीलंका अंक तालिकाको पुछारमा छ । ऊ यसअघि दुई खेलमा पराजित भइसकेको छ भने उसले एक अंक पनि बटुलेको छैन ।

सातपटकको च्याम्पियन भारत पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरीमा रहँदै स्तब्ध भएको थियो । १० खेलाडीमा खुम्चिएको बंगलादेशले यासिर अराफातको हेडिङ गोलमा भारतसँग अंक खोसको थियो । कप्तान सुनिल क्षेत्रीको गोलमा भारतले २६ मिनेटमा बनाएको अग्रता दोस्रो हाफमा कायम रहन सकेन । ५४ मिनेटमा डिफेन्डर विश्वनाथ घोष रातो कार्ड पाएर १० खेलाडीमा सीमित भएको बंगलादेशले ७४ मिनेटमा अराफातको अप्रत्याशित गोलमा बराबरी गरेको थियो ।

भारतलाई पनि प्रतियोगिताको फाइनलमा पुग्न आजको खेल महत्वपूर्ण मानिएको छ । यसपछि उसको प्रतिस्पर्धा प्रतियोगितामा सबैभन्दा बलियो देखिएको नेपाल र घरेलु माल्दिभ्सविरूद्ध हुनेछ ।

बलियो टिम हुँदाहुँदै श्रीलंका दुई खेलमा पराजित भइसकेको छ । विदेशी क्लबबाट व्यवसायिक फुटबल खेल्ने तीन मिडफिल्डर मार्विन ह्यामिल्टन, डिल्लन डि सिल्भा र अहमद वासिम राजेक आजको खेलमा पनि भारतका लागि टाउको दुखाइ बन्न सक्छन् । बंगलादेशसँग रातो कार्ड पाएर नेपालविरूद्ध खेल्न नपाएका डिफेन्डर डक्सन पुस्लास भारतविरूद्धको खेलमा मैदानमा उत्रिँदै छन् ।

यस्तै, प्रतियोगिताको अर्को बलियो टोली बंगलादेशविरूद्धको खेल माल्दिभ्सका लागि ‘गर या मर’ को स्थितिमा छ । प्रतियोगितामा आफ्नो दावेदारी कायम राख्न डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले कुनै पनि हालतमा बंगलादेशसँग अंक खोस्नु जरुरी छ ।

माल्दिभ्स आफ्नो पहिलो खेलमै साफ च्याम्पियनसीपमा पहिलोपटक नेपालसँग ०-१ ले स्तब्ध भएको थियो । नेपालका लागि मनिष डाँगीले ८६ मिनेटमा गोल गरेका थिए । भेट्रान स्ट्राइकर असफाक अली सम्मिलित माल्दिभ्सले हालसम्म अंक जोड्न सकेको छैन । बंगलादेशपछि माल्दिभ्सले अन्य खेल भारत र श्रीलंकाविरूद्ध खेल्नु पर्नेछ ।

बंगलादेशले अघिल्लो दुई खेलबाट ४ अंक बटुलेको छ । आजको खेल जितेको खण्डमा बंगलादेशको फाइनल पुग्ने अभियानमा थप बल मिल्ने छ भने माल्दिभ्स लगभग प्रतियोगिताबाट बाहिरिने छ ।

हालसम्म नेपाल दुई खेल जितेर ६ अंकका साथ शीर्षस्थानमा छ । यसपछि बंगलादेश दोस्रो स्थानमा र भारत १ अंकसहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *