गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न प्रधानमन्त्रीलाई विष्णु पौडेलको चेतावनी – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न प्रधानमन्त्रीलाई विष्णु पौडेलको चेतावनी

काम रोके लुम्बिनीका जनताको विरोध सामना गर्न चुनौती

रूपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।

अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेको भन्दै पौडेलले आक्रोश व्यक्त गरे । उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शनिबार भैरहवामा बोल्दै पौडेलले अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी)सँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाउन आग्रहसमेत गरे ।

‘हामीले सेकेन्ड फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो’, पौडेलले भने, ‘एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ तर सरकारले काम अगाडि बढाएन ।’

पौडेलले थपे, ‘गत असार महिनामा मैले ‘सेकेन्ड फेज’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको थिएँ । त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता पनि गरिएको छैन । काउन्टर पार्टस् फन्डको निर्णय पनि गरेको छैन । योजनाको काम सरकारले होल्ड गरेर बस्यो ।’

उनले विमानस्थलको काम रोकिएमा लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन सरकारलाई चुनौती दिए । पहिलो चरणको निर्माणको काम चलिरहेको अवस्थामा केपी शर्मा ओली र पौडेलले विमानस्थलको स्थलगत अवलोकनपछि विमानस्थललाई अन्तर्राष्ट्रिय क्षमताको बनाउने प्राविधिकहरूको सुझावअनुसार ५०० विगाहा जग्गा अधिग्रहण गरिएको थियो ।

अघिल्लो ओली नेतृत्वको सरकारकै पालामा जग्गा अधिग्रहणको काम सकिएको थियो । सोहीअनुसार पहिलो फेजको काम सक्ने र दोस्रो फेजको काम अगाडि बढाइएको थियो ।

विमानस्थललाई देशकै मुहार फेर्ने आयोजनाका रूपमा लिइएको छ । पौडेलले अहिलेको सरकार केही अपेक्षा गर्न लायक नभएको बताए पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर