संस्कृति बचाउ अभियानमा नवलपुरमा थारु महिला,विद्यार्थी आफैं जुटाउँछन् स्राेत (भिडिओ) – Nepal Press

संस्कृति बचाउ अभियानमा नवलपुरमा थारु महिला,विद्यार्थी आफैं जुटाउँछन् स्राेत (भिडिओ)

रुपन्देही । आधुनिक संस्कृतिले पुरानो मौलिक सांस्कृतिक परम्परा लोप हुन लागेको भन्दै थारु समुदायमा नयाँ पुस्ताका महिलाहरु यसको संरक्षणमा लागेका छन् । कलेज तहमा अध्ययनरत बालिकाहरु आमा समूहसँग मिलेर परम्परागत थारु संस्कृति संरक्षणमा लागि जुटेका हुन् ।

नवलपुर जिल्लाको गैडाकोट वडा नं १२ मटकुरीकी १९ वर्षीय स्मृति महतो अहिले १२ कक्षा पास गरेकी छन् । अध्ययनलाई निरन्तरता दिएकी स्मृति आफ्नो कलेज समयबाहेकको समयमा स्थानीय थारु आमा समूहसँगै हिंडेर विभिन्न ठाउँमा बोलाइने थारु संस्कृति प्रदर्शन गर्न निरन्तर हिँडिरहन्छिन् ।

त्यसो त मटकुरीमा स्मृतिजस्तै धेरै कलेज तहमा अध्ययनरत थारु समुदायका छात्राहरु यहाँको मटकुरी थारु आमा समूहको साथमा समाजका विभिन्न स्थानमा हुने थारु संस्कृति प्रदर्शनका लागि हिंड्ने र निश्चित रकम जुटाएर आफ्नो समाजको कोष बनाउन निरन्तर लागिरहेका छन् ।

‘सुरु–सुरुमा सिक्ने समयमा त धेरै दुःख भयो, कहिले लठ्ठी नाच देखाउँदा हातमै लागेर समस्या हुन्छ, घर छाडेर बाहिर जानुपर्छ तर हामी सबै समूहमा जाने भएकाले सबै एकजुट भएर हिँडेका छौं, गाउँमा जानलाई समस्या हुँदैन’ स्मृतिले भनिन् ।

गैडाकोट मट्कुरीकै मेलिना महतो ब्याचर पास गरेकी छन् । मेलिना पनि स्मृतिजस्तै मटकुरी आमा समूहबाट थारु संस्कृति प्रदर्शन गर्न विभिन्न स्थानमा समूहबाटै जाने गरेकी छन् । ब्याचर पास गरेपनि नयाँ पुस्तामा आफ्ना पुर्खादेखि गाउँदै बजाउँदै आएको थारु नाच, लठ्ठी नाच, झुमरा नाचलगायतका विभिन्न नाचहरु देखाउन समूहबाट गाउँगाउँमा जाने गरेको मेलिना बताउँछिन् ।

‘गाउँमा यो समूहबाट हामीले कोष बनाएका छौं, यसबाट धेरै सामाजिक कामहरु गरेका छौं, विशेषगरी हाम्रो समुदायमा नयाँ पुस्ताले थारु समुदायमा संस्कृति सिक्न छाडिसकेका छन्, त्यसकारण हामीले यसलाई सिकेर अरुलाई पनि सिकाउन खोजेका हौं’ मेलिनाले भनिन् ।

स्मृति, मेलिनाजस्तै स्थानीय तुलिमाया महतोले पनि आफ्नो संस्कृति संरक्षणका लागि आफूले अध्ययन गर्ने बाहेकको समय निकालेर समूहबाट हिंड्ने गरेकी छन् । मट्कुरी थारु आमा समूहमा अहिले १६ जनाको टीम छ । यसमा उनीहरुले समूह बनाएर आफ्नो प्रदर्शन गर्ने र निश्चित रकम त्यसरी बोलाउने व्यक्ति, संस्था वा कार्यालयहरुबाट लिने गर्छन् ।

आमा समूहले आफ्नै ड्रेसमा सजिएर यसका लागि आवश्यक सामग्रीहरु लिएर यसरी बोलाइएको स्थानमा जाने गरेका छन् । यो आमा समूहलाई यहाँका जनप्रतिनिधि रहेकी ३५ वर्षीय हिमकुमारी चौधरीले साथ दिएकी छन् । गैडाकोट नगरपालिका वडा नं १२ की वडा सदस्य हिमकुमारी १६ जनाको यो समूहमा रहेर थारु संस्कृति प्रदर्शनका लागि विभिन्न स्थानमा जाने गरेकी छन् ।

 

वडामा रहेका विभिन्न सामाजिक कामहरु सकेर उनले आफ्नो समुदायको संस्कति संरक्षणका लागि यो अभियानमा निरन्तर लागिरहेको बताउँछिन् ।

मटकुरी आमा समूहमा रहेका १६ जना महिला समूहलाई सोही क्षेत्रमा केही पुरुषहरुले निरन्तर साथ दिएर उनीहरुलाई प्रोत्साहन गरिरहेका छन् । स्थानीय ४३ वर्षका छन्नुराम महतो नेपाल आर्मीबाट सेवानिवृत्त हुन् ।

अहिले उनले आफ्नो जातीय संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न विभिन्न स्थानमा उनीहरुलाई लिएर हिँड्ने गरेको बताउँछन् । ‘१६ वर्ष सेनामा काम गरेँ तर अहिले यो अभियानमा लाग्दा मन निकै खुसी भएको छ, कलेज पढ्ने छोरीहरुले सिक्न थालेका छन्, छोराहरुले पनि सिक्दैछन्, नयाँ पुस्ताले नसिकेपछि त सबै लोप भएर गइहाल्छ नि’ छन्नुरामले भने ।

मटकुरी आमा समूहमा रहेका १६ जना महिलाहरु नाच्न र आफ्नो कला प्रदर्शन गर्नसकेपनि ठूलो बाजा बजाउन भने अझै पुरुष अगुवाको साथ लिइरहेका छन् । मटकुरी आमा समूहलाई बाजा बजाउनका लागि स्थानीय झगडु महतोले सहयोग गरिरहेका छन् । झगडु थारु समुदायका सबै संस्कृतिमा बजाइने बाजा बजाउन निपूर्ण मानिन्छन् । उनी यो कलाको प्रशिक्षक पनि हुन् ।

दिउँसोको समयमा अन्य क्षेत्रमा काम गरेपनि साँझको समयमा उनले समुदायका लागि समय दिने गरेका छन् । १५ वर्षदेखि निरन्तर बाजा बजाएर थारु संस्कृति संरक्षण अभियानमा हिडेका झगडु मटकुरी आमा समूहका अभिभावकजस्तै हुन् । गीत गाउँदा र नाच्दा कसैले ताल बिगारे तत्काल सुधार्न लगाइहाल्छन् ।

पुस्ता फेरिएसँगै पुराना संस्कृति हराउने भएकाले पनि आफूले अरु काम छोडेर यही काममा लागेको उनको भनाइ छ । ‘म देशका अधिकांश स्थानमा यो कला देखाउन र सिकाउन गएको छु, अहिले आफ्नै गाउँमा आमा समूहले यो काम थालेपछि झनै खुसी लागेको छ, अब आफ्नो समुदाय भएको स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनका लागि सबैको साथ चाहिन्छ’ झगडुले भने ।

परम्परागत कला संस्कृतिको धनी भएको थारु समुदायमा आधुनि संस्कृतिले पुराना संस्कृति हराउँदै गएकाले पनि नयाँ पिँढी र त्यसमाथि प्रायः आफ्नो क्षेत्रमै बस्ने महिलाहरुलाई सिकाउनका लागि लागिपरेको स्थानीय नेत्र चौधरी बताउँछन् । उनका अनुसार अहिले धेरैजसो जिल्लामा खुलेका होमस्टे, ठूला होटलहरु तथा अन्य सामाजिक क्षेत्रका कार्यक्रममा थारु संस्कृति प्रदर्शनका लागि निम्तो आउने गर्दछ ।

ती कार्यक्रममा समूहगत रुपमा आउने रकमबाट केही रकम कलाकारका लागि खर्च गरिन्छ भने केही रकम संस्थागत विकासका लागि कोषमा राख्ने गरिएको छ । अहिले नयाँ पुस्ताले यो संस्कृति संरक्षणमा देखाएको चासोले यसको संरक्षणमा लागेकाहरु खुसी देखिएका छन् ।

नवलपुर थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो । यहाँ धेरै पहिलेदेखि नै यो समुदायले आफ्नो कला संरक्षण गर्दै आएको छ तर पछिल्लो समय पुरानो पुस्ताले उमेरका कारण हिंड्न, नाच्न नसक्ने र नयाँ पुस्ताले यसमा चासो नदेखाउँदा धेरै कम हुन थालेकाले पनि आमा समूहले यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन खोजेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *