मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांसदबीच चर्काचर्की – Nepal Press

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांसदबीच चर्काचर्की

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ ।

सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो ।

जनमतका सांसद सिंहले माघ ८ मा सप्तरीमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको सांघातिक हमला भएको सम्बन्धमा चित्तबुझ्दो जवाफ नपाएको र अर्थ मन्त्रालयमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए ।

उनले सरकार गैरजिम्मेवार बनेकाले संसद चल्न नदिने अडान लिए ।

सभामुख मण्डलले पटक पटक संसदको कामकारबाही अगाडि बढाउन दिन आग्रह गरे । तर, जनमतका सांसदहरु उठेर विरोध गरिरहे । सो क्रममा एमाले सांसद ठाकुरले सप्तरी घटना दुःखद रहेको तर त्यसको निहुँमा संसद अवरुद्ध गर्न नहुने धारणा राखेपछि जनमतका सांसदहरुले प्रतिवाद गरेका थिए ।

सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए ।

प्रतिपक्षी दलका सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर