पार्टी दुई चिरा हुँदा कोपभाजनमा परिन् इन्दिरा- संसदीय दलमा हावी हुन यस्ताे छ रञ्जिताकाे रणनीति – Nepal Press

पार्टी दुई चिरा हुँदा कोपभाजनमा परिन् इन्दिरा- संसदीय दलमा हावी हुन यस्ताे छ रञ्जिताकाे रणनीति

कैलाली । अल्पमतमा परिसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २६ गते नागरिक उन्मुक्ति पार्टीका तीन सांसदलाई मन्त्री बनाए । तीमध्ये एक थिइन्- इन्दिरा गिरी । गिरीलाई मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यो बेलासम्म नाउपाकै कैलाश चौधरी उक्त जिम्मेवारीमा थिए ।

आफ्नै पार्टीकालाई विस्थापित गरेर राज्यमन्त्री भएकी गिरीले ठीक एक महिनामै सांसद पद गुमाउनु परेको छ । नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशम चौधरीबीच शक्ति संघर्ष सुरू भएपछि इन्दिरा रेशमको पक्षमा उभिएकी थिइन् । रञ्जिता पक्षका कैलाश चौधरीलाई बर्खास्त गरेर मुख्यमन्त्री शाहले गिरीलाई मन्त्री नियुक्त गरेका थिए ।

गिरीमाथि केन्द्रीय अध्यक्षले पटक-पटक स्पष्टीकरण माग्दा नदिएको, पार्टी केन्द्रको निर्देशन उल्लंघन गरेको, सम्पर्कमा नरहेकोलगायतका आरोप छन् । समानुपातिक मार्फत सांसद भएकी उनलाई कारबाहीको लागि अध्यक्ष श्रेष्ठले चैत २१ गते नै प्रदेशसभा सचिवालयमा पत्र पठाएकी थिइन् ।

‘नागरिक उन्मुक्ति पार्टीबाट मनोनीत प्रदेशसभा समानुपातिक सांसद माननीय इन्दिरा गिरीज्यूलाई पार्टीको केन्द्रीय कमिटीको निर्णय बमोजिम प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय भएको हुँदा उहाँलाई आजैको मितिबाट लागू हुने गरि फिर्ता पठाउन अनुरोध गरिन्छ’, अध्यक्ष रन्जिता श्रेष्ठले २१ गते सभामुख भीम भण्डारीलाई लेखेको पत्रमा उल्लेख छ ।

त्यसै पत्रलाई आधार मानेर सभामुखले सूचना टाँस गराएर सोमबार इन्दिरालाई पदमुक्त गरेका हुन् ।

सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवालयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । सातमध्ये पाँचजना कांग्रेस नेतृत्वको सरकारमा मन्त्री थिए । दुई सांसद एमाले-माओवादीसहितको सत्ता गठबन्धनको पक्षमा उभिनुपर्ने भन्दै रञ्जिताको पक्षमा छन् । ५ जना भने कांग्रेसलाई साथ दिनुपर्ने भन्दै रेशमको कित्तामा छन् ।

अहिले नाउपाकी सांसद गिरीको पदमुक्त सँगै यहाँको राजनीति थप रोचक बनेको छ । प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गतेसम्म बहुमतकै सरकार गठनका लागि आव्हान गरिसकेका छन् । सत्ता गठबन्धनका दलहरू मुख्यमन्त्री दाबी गरिरहेका छन् भने कांग्रेस नाउपाभित्रै किचलो निम्त्याएर फेरि आफ्नै नेतृत्वको सरकार बनाउने रणनीतिमा लागेको छ ।

अब गिरीको स्थानमा नियुक्त हुने नाउपाका अर्का सांसदको अंकगणितले नाउपाभित्रको मात्र होइन सरकार निर्माणको समीकरणमा पनि फरक पार्ने देखिन्छ । अब तत्कालै एक सांसद नियुक्त गर्ने जनाइएको छ । रेशम पक्षका गिरी पदमुक्त हुँदा रन्जिता पक्षका सांसदको इन्ट्री हुने भएकाे हाे ।

यस्तो अवस्थामा नाउपाका रञ्जिता पक्षका तीन सांसद र रेशम पक्षका चार सांसद रहन्छन् । पार्टी केन्द्रीय नेतृत्वको जोडबलबाट थप एक सांसद तानेर चार पुर्याउने र संसदीय दलको नेता परिवर्तन गर्ने रणनीति रहेको स्रोतको दाबी छ ।संसदीय दलको नेता परिवर्तन गर्दा सांसदलाई ह्विप लगाउन सकिने अवस्था हुन्छ ।  हुँदा सबै सांसदलाई एकै ठाउँमा उभ्याउने प्रयास भइरहेको बताइन्छ । सुदूरपश्चिममा नयाँ सत्ता गठबन्धनमा एमालेका १०, माओवादीका सभामुखबाहेकका १०, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर