कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस – Nepal Press

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस

विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् ।

कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा पुगेको छ ।

कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले औपचारिक आव्हान नगर्दै गठबन्धनले दाबी प्रस्तुत गरेको हो । मुख्यमन्त्री कार्की राजीनामा पनि नबुझाउने र विश्वासको मत पनि नमाग्ने अडानमा छन् ।

‘सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०८०।०३।२८ गतेको शेरबहादुर देउवासमेत रिट निवेदन सम्माननीय राष्ट्रपतीको कार्यालय समेत प्रत्यर्थी भएको उत्प्रेषण परमादेशको रिट निवेदनमा भएको फैसलाको बुँदा नम्बर ६७ को व्याख्या एवं नेपालको संविधानबमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीज्यूले बहुमत सदस्यको विश्वास गुमाइसकेकोले कोशी प्रदेशसभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्की ज्यू लाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तीका लागि आवश्यक प्रकृया अगाडी वढाउन माननीय प्रदेश प्रमुख ज्यू समक्ष दावी प्रस्तुतिका साथ अनुरोध गर्दछौं’, एमाले कांग्रेसको संयुक्त मागदाबीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर