पूर्वराजाको स्वागतमा भिड उराल्न सफल ज्ञानेन्द्र शाही भन्छन्- जुम्ली जनता राजतन्त्रको पक्षमा जागे – Nepal Press

पूर्वराजाको स्वागतमा भिड उराल्न सफल ज्ञानेन्द्र शाही भन्छन्- जुम्ली जनता राजतन्त्रको पक्षमा जागे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजो नागरिक अभिनन्दनका लागि खलंगामा उत्रिदा नसोचेको भिड जम्मा भयो । यो जनप्रदर्शनका पछाडि मुख्य भूमिका थियो राप्रपाका जल्दाबल्दा नेता तथा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीको ।

शाहीकै पहल र संयोजनमा पूर्वराजाको जुम्ला भ्रमण तय भएको हो । यद्यपि, चलाखीपूर्वक उनले नागरिक अभिनन्दन आयोजक समितिमा आफू नबसेर अन्य पार्टीका मान्छेहरू राखेका थिए । कांग्रेस नेताको संयोजकत्वमा गठन गरिएको समितिमा एमाले मात्र होइन, माओवादीका मान्छे पनि अटाए ।

स्थानीय प्रशासन भने यो भ्रमणलाई लिएर अलि सशङ्कित थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारीले कार्यक्रम गर्न अनुमतिसमेत दिएका थिएनन् । नगरपालिकाले पनि नगर्न भनेको थियो । तर, जनता उर्लिएपछि कसैले रोक्न सक्ने अवस्था रहेन ।

शाही पूर्वराजाको भ्रमण सफल पारेकोमा निकै उत्साहित देखिएका छन् । करिब ५० हजार मानिसहरू पूर्वराजाको अभिनन्दन कार्यक्रममा उपस्थित भएको उनको दाबी छ ।

शाहीले भने, ‘यति संख्यामा मान्छेहरू अहिलेसम्म जुम्लामा कुनै पनि राजनीतिक दलले जुटाउन सकेका थिएनन् । यो अहिलेसम्मकै ठूलो जनप्रदर्शन हो ।’

५० हजार मान्छे अट्ने ठाउँ थियो र ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘किन नअट्नु ? त्यो ठाउँको लम्बाइ मात्रै ३ सय मिटर बराबर छ । काठमाडौंका दुईवटा टुँडिखेलभन्दा ठूलो छ । स्थानीय प्रशासनको असहयोगका कारण राम्रोसँग तयारी पनि गर्न नपाएकाले यति धेरै मान्छे आउने हामीले नै सोचेका थिएनौँ ।’

जुम्लाको प्रदर्शनले देशभरमा ठूलो सन्देश गएको शाहीको भनाइ छ । जुम्ली जनताले अहिलेको गणतन्त्रभन्दा राजतन्त्र ठिक हो भन्ने बुझिसकेको उनले बताए ।

‘जुम्लामा राजतन्त्रकालमा नै धेरै विकासका कामहरू भएका थिए । २९ सालमै त्यहाँ एयरपोर्ट बनेको हो । राजा ज्ञानेन्द्रको सक्रियतामा २०५९ सालदेखि कर्णाली राजमार्ग बनाउन थालिएको हो । विद्युतदेखि शिक्षा र स्वास्थ्यसम्ममा धेरै कामहरू भएका थिए । १० वर्षे युद्ध र राजनीतिक दलहरूको कुशासनले जुम्लालाई पछाडि पारेको यहाँका जनताले बुझिसकेका छन् । त्यसैले उनीहरू राजतन्त्रको पक्षमा जागेका हुन्,’ शाहीले व्याख्या गर्दै भने ।

शाहीले पूर्वराजालाई जुम्ला लैजाने प्रयास पोहोर साल पनि गरेका थिए । त्यसबेला सबै तयारी भइसकेर पनि मौसमको खराबीले जहाज उड्न नसकेपछि भ्रमण स्थगित भएको उनको भनाइ । त्यही थाँती रहेको कार्यक्रम अहिले गरिएको उनले बताए ।


प्रतिक्रिया

3 thoughts on “पूर्वराजाको स्वागतमा भिड उराल्न सफल ज्ञानेन्द्र शाही भन्छन्- जुम्ली जनता राजतन्त्रको पक्षमा जागे

  1. यहि राजाको ३ वर्ष प्रत्यक्ष शासन हेरेको ह‍ोईन ?

    1. ३ वर्ष चलाउन कहाँ दियो? भारत र उस्को दलाल भ्रष्ट पुराना पार्टी मिलेर काम गर्न नै दिएनन। राजा हटाएर सिक्किम निलेजस्तै इतिहास नेपालमा दोहोराउन चाहन्छ भारत!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर