अर्थतन्त्रको बाह्य क्षेत्रमा व्यापक वृद्धि, विदेशी मुद्रा सञ्चितिको ऐतिहासिक रेकर्ड कायम – Nepal Press

अर्थतन्त्रको बाह्य क्षेत्रमा व्यापक वृद्धि, विदेशी मुद्रा सञ्चितिको ऐतिहासिक रेकर्ड कायम

रेमिट्यान्समा पनि वृद्धि, अरु के के भए ?

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चितिले ऐतिहासिक रेकर्ड बनाएको छ । फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति बढेर १४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १६ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यता रेमिट्यान्स पनि २१.० प्रतिशतले बढेर ।९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

यस्तै चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले घटेर ३ अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको थियो ।

शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर