स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग आवश्यक छ : श्रममन्त्री अर्याल (भिडिओ) – Nepal Press

स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग आवश्यक छ : श्रममन्त्री अर्याल (भिडिओ)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु,घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताएका छन् ।

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए ।

उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरुप गर्ने तयारी रहेको बताए । उनले विदेशबाट फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमुलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे ।

उनले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेको बताए । उनले सरकारको अबको प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए ।

‘मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु घरेलु तथा साना उद्योग स्थापना गर्नु अहिलेको आवश्यकता हो । हामीले हरेक दिन विमानस्थलका फोटाहरु सामाजिक सञ्जालमा देख्ने गरेका छौं । तर विदेशमा गएर फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि रोजगार सिर्जना गर्नको लागि सीपमुलक क्षेत्रमा काम गरेको देखिएन । श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेका छौं’, उनले भने, ‘सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर हामीले आयोजना गर्दैछौं । अबको हाम्रो प्रयास भनेको देशमा नै रोजगारी सिर्जना गर्नु हो । त्यसको लागि सरकारले सीप सिकाउन जरुरी हुन्छ । आउने दिनमा सीटीभीटी र सीप विकास प्रशिक्षणमार्फत सीप सिकाउने प्रयास गरिरहेका छौं । नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरी ल्याउने प्रयासमा छौं ।’

उनले सरकारले सीटीभीटी र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरुलाई सीप सिकाउने प्रयास गरेको बताए । उनले नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *