केन्द्रीय सहमति कार्यान्वयन गर्ने एमाले लुम्बिनीको निर्णय – Nepal Press

केन्द्रीय सहमति कार्यान्वयन गर्ने एमाले लुम्बिनीको निर्णय

रुपन्देही । नेकपा एमाले लुम्बिनीले सत्ता गठबन्धन दलहरूले केन्द्रमा गरेको सहमति कार्यान्वयन गर्दै गठबन्धनलाई बलियो बनाउने निर्णय गरेको छ ।

संसदीय दलको बिहीबार दिउँसो देउखुरीमा बसेको बैठकले सहमति कार्यान्वयन गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

आजै दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची रहेकाले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न दलको बैठक बसेको उनले बताए । तर मुख्यमन्त्री चौधरीले बहुमत नपुग्ने अवस्था हेरेर राजीनामा गर्ने तयारी गरिसकेका छन् ।

‘अहिलेसम्म विश्वासको मत लिने भनिएको छ, त्यस कारण हामीले त्यही तयारी गरेर सरकारको विपक्षमा मतदान गर्ने र अन्य साना दलसँग पनि सहकार्य गर्ने निर्णय भएको हो ’ उनले भने ।

संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा बसेको बैठकले नयाँ गठबन्धनमा सत्ता साझेदारी तथा सहकार्य र साना दलसँगको सहकार्यका विषयमा छलफल भएको छ ।

लुम्बिनीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने विषयमा समझदारी गरेसँगै एमाले असन्तुष्ट रहेको विषय बाहिर आएको थियो । त्यो विषयलाई साम्य पार्न एमालेले केन्द्रको निर्णयअनुसार अघि बढ्ने निर्णय गरेको हो ।

८७ सदस्यीय प्रदेश सभामा २९ सांसदसहित एमाले पहिलो र ११ सांसदसहित माओवादी तेस्रो दल रहेका छन् ।

यसअघि एमाले नेताहरूले अब सरकारको नेतृत्व गर्ने माओवादी केन्द्र तथा अन्य साझेदार गर्ने दलका नेताहरूसँग अलग अलग छलफल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर