लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिनेमा दोधार – Nepal Press

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिनेमा दोधार

रुपन्देही । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभाको चौथो अधिवेशन चैत २२ गते बिहीबार दिनको ४ बजे बस्नेगरी आह्वान गरेपछि प्रदेश सभाले सूचना प्रकाशित गरेर अधिवेशन बोलाएको हो । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सबै सांसदहरुलाई सूचना गरिसकेको जनाएका छन् ।

यसअघि तेस्रो अधिवेशन ३ दिन मात्रै बसेर चैत १ गते आकस्मिक रुपमा अन्त्य गरिएको थियो । बिहीबारको सभा अल्पमतमा रहेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने वा सो सभालाई सम्बोधन गरेर राजीनामा दिने विषयमा केन्द्रित हुनेछ ।

बुधबार मुख्यमन्त्रीले आफ्नो पार्टीका केही नेताहरुसँग सल्लाह गरेका थिए तर त्यसले के गर्ने भन्ने निचोड निकालेको छैन । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले बिहीबार दिउसो १ बजे दलको बैठक बसेर बहुमत पुग्ने भए विश्वासको मत लिने र नभए सदनमा सम्बोधन गरेर राजीनामा दिने विषयमा सल्लाह गरिने जनाए ।

प्रदेश सभाको तेस्रो अधिवेशन ६ महिनापछि फागुन १८ गते बोलाइएको थियो । त्यसको पहिलो बैठकमा ५ मिनेट सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुख कार्यालयबाट आएका पत्र पढेर सुनाएर सकिएको थियो । १९ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रदेश सभामा विशेष सम्बोधन भएर सकिएको थियो भने २० गते पनि मुख्यमन्त्री नबसेपछि दलका नेताहरु नबोली सकिएको थियो ।

सामान्य औपचारिकताका लागि ६ महिनापछि बसेको हिउँदे अधिवेशन चैत ४ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर चैत ४ गते बोलाइएको बैठक मन्त्रिपरिषद बैठकले चैत १ गते नै स्थगित गर्ने निर्णयपछि २ गते स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर