एमाले सिन्धुलीको नेतृत्वकाे लागि अघि सरे पाँच नेता – Nepal Press

एमाले सिन्धुलीको नेतृत्वकाे लागि अघि सरे पाँच नेता

सिन्धुली । नेकपा एमाले सिन्धुलीको नवौं जिल्ला अधिवेशन चैत २८ देखि हुँदैछ । अधिवेशनको मिति नजिकिएसँगै अध्यक्षमा पाँच नेताले दाबी गरेका छन् ।

हाल जिल्ला अध्यक्ष रहेका कुमारबहादुर कार्की (रामकुमार)सहित वर्तमान सचिव नारायण बराल, नेताहरु खड्ग खत्री, महेन्द्रदेव श्रेष्ठ र डम्बर कार्कीले नेतृत्वमा दावी गरेका छन्।

जिल्लाको कमलामाई नगरपालिकाका अध्यक्षसमेत रहेका महेन्द्र र पूर्वप्रदेश कमिटी सदस्य डम्बरले त अध्यक्षमा आफूलाई मतसमेत माग्न थालिसकेका छन् । महेन्द्रले पार्टीमा पुस्तान्तरण र युवा नेतृत्व अपरिहार्य रहेको मुद्दासहित मत मागिरहेका छन् ।

डम्बरले पार्टीलाई विधि, पद्धति र लेनिनवादी संगठनात्मक पद्धतिअनुसार दण्ड र पुरस्कारलाई संस्थागत गरेर अगाडि बढ्नुपर्ने भन्दै नेतृत्वको लागि नेता कार्यकर्ताबीच छलफल चलाइरहेका छन् ।

यसैगरी अनेरास्ववियुको राजनीतिबाट आएका वर्तमान पार्टी सचिव नारायण अघिल्लो कार्यकालका सर्वसम्मत सचिव भएकाले पनि अहिले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताउँछन् । सकेसम्म अध्यक्ष बन्न प्रयत्न गर्ने र नभए सचिवमै दोहोरिने उनी निकटहरु बताउँछन् ।

पार्टीको सर्वसम्मत नेतृत्व चयनमा जोड दिनुपर्ने भन्दै केही नेताहरु आफ्नो पक्षमा सर्वसम्मत हुने आफ्ना निकटवर्तीहरुमार्फत बाहिर ल्याइरहेका छन् । यस्तो अवस्थामा अध्यक्ष हुन कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्ग खत्री पनि सक्रिय देखिन्छन् ।

वर्तमान अध्यक्ष कुमार पछिल्लो कार्यकाल पूरा नभएकाले पनि पुनः अध्यक्षमा आफ्नो दाबी रहेको बताउँछन् । ‘मैले युवा, बुढापाका सबै नेता कमरेडहरूसँग काम गरेको छु‘, उनले भने, ‘सबैलाई मिलाएर जाने, पार्टी संगठनलाई मजबुत बनाउन म सक्षम छु ।’

कुमार गएको सातौं अधिवेशनमा आफ्नै ज्वाइँ प्रदीप कटुवाललाई चुनावी प्रतिस्पर्धामा पराजित गरेर अध्यक्ष निर्वाचित भएका थिए।उनै कुमारलाई यस पटक भने ज्वाइँ प्रदीपकै साथ रहने बताइएको छ ।

सर्वसम्मत नभइ निर्वाचन हुने अवस्था आएमा कुमार र डम्बरमध्ये एकसँग महेन्द्रको चुनावी प्रतिस्पर्धा हुने सिन्धुली एमाले वृत्तमा चर्चा छ ।

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष कर्ण घिसिङबाहेक कसेले आकांक्षा देखाएका छैनन् ।

अहिलेसम्म सचिवमा अनेमसंघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराई, कार्यालय सचिव नवराज थिङ, दीपेश बराल, वेदराज दाहाल र तारानिधि पोखरेल आकांक्षी देखिएका छन् । उपसचिवमा दर्जन बढी आकांक्षी छन्।

चैत २८ र २९ गते हुने जिल्ला अधिवेशनमा आयोजक १२७ सहित करिब ७४० प्रतिनिधि सहभागी हुने प्रचार उपसमिति संयोजक सञ्जयकुमार दाहालले जानकारी दिए । उनका अनुसार ४७७ भूगोल, ९९ सल्लाहकार परिषद् तथा जनवर्गीय संगठनबाट प्रतिनिधि छनोट भइसकेका छन् । पाँच प्रतिशत मनोनीत गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर