संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्दोषको फैसला गर्न पाइँदैन : कांग्रेस – Nepal Press

संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्दोषको फैसला गर्न पाइँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आफूहरूले दिएको अल्टिमेटमा आजबाट सकिएको घोषणा गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म संसदीय समिति लिएर आउन सरकारलाई आग्रह गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको रोष्ट्रमबाट गृहमन्त्री निर्दोष रहेको फैसला गरेकोप्रति आपत्ति जनाए ।

उनको भनाइ जस्ताको तस्तैः

यहाँ म कसैलाई दोषी ठहर गर्न उभिएको छैन । रोष्ट्रम कसैलाई दोषी ठहर गर्ने थलो होइन । सँगैमा म अपील गर्छु यहाँ कसैले पनि निर्दोष हुनुहुन्छ भनेर अदालतले जस्तो फैसला सुनाउन पाइँदैन । प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्रीमाथि निर्दोष हुनुहुन्छ । रोष्ट्रममा उभिएर भन्नुभयो । केही सांसदहरूले पनि भन्नुभयो । गृहमन्त्रीलाई पनि रोष्ट्रममा उभिएर ठूलो स्वरमा भन्न मन छ म निर्दोष छु । को दोषी को निर्दोष रोष्ट्रमबाट वा फ्लोरबाट छुट्याउने विधि होइन । हामी चाहन्छौं संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई आफू निर्दोष साविक हुन पाउने हक दिऔं ।

हामीले प्रतिपक्ष दलको रूपमा मात्रै होइन सहकारी पीडितको पक्षबाट पनि भनेका छौं आजबाट हाम्रो अल्टिमेटम सकिएको छ । संसद अवरुद्ध कसरी कसरी भएका छन् हामीले हेरेका छौं । हामीले गरेको विनम्रतापूर्वक उठाएको प्रश्न गलत लाग्यो ? आजको बैठकपछाडि सरकारले आउँदै गर्दा सरकारले संसदीय छानविन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ हुने छैनौं । कसैलाई भ्रम नपरोस् यो मुद्दा अब टुंगिदैछ ।

सत्ता समीकरणको नयाँ चाल कांग्रेसले गरिरहेको कतिपयलाई लागिरहेको छ । त्यो चालेको कुरा छैन । प्रधानमन्त्री पद कसैलाई प्रस्ताव गरिएको छ भनिएको भए त्यो पनि लिएर आउनुहोला । पार्टीको महामन्त्री पनि भएको नाताले मैले उभिएर भन्छु, हाम्रो संस्थागत निर्णय प्रतिपक्षमा बस्ने भन्ने हो । यदि हामी कहिँ कतैबाट टेलिफोन आएको छ भन्ने भ्रम छ भने त्यसलाई खारेज गरिएको घोषणा गर्छु । सभापति वा महामन्त्रीहरूले निर्णय नगरी कसैले प्रस्ताव गरिएको छ भन्ने भ्रमबाट मुक्त हुनु भन्न चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर