प्रदेशकाे नेतृत्वमा सहमतिसँगै गठबन्धन दलमा असन्तुष्टि बढ्याे- लुम्बिनीमा एमाले, कर्णालीमा माओवादी चिढियाे – Nepal Press

प्रदेशकाे नेतृत्वमा सहमतिसँगै गठबन्धन दलमा असन्तुष्टि बढ्याे- लुम्बिनीमा एमाले, कर्णालीमा माओवादी चिढियाे

रुपन्देही । सत्तारुढ दलहरुबीच प्रदेश बाँडफाँडमा सहमति जुटेको छ । सहमतिअनुसार माओवादीले लुम्बिनी र एमालेले कर्णाली प्रदेशको नेतृत्व लिने भएका छन् ।

माओवादीले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादीभित्रै विवाद सुरु भएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको र त्यसको सर्कुलर आइसकेको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बताए ।

सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले लुम्बिनी माओवादी र कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेवले नेपाल प्रेसलाई बताए ।

कर्णालीमा मंगलबार मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए । यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

कर्णालीमा एमालेले मुख्यमन्त्री पाएसँगै लुम्बिनीमा माओवादी नेतृत्वको सरकार बन्ने छ । लुम्बिनीमा माओवादी केन्द्र भन्दा एमालेका सांसद संख्या तेब्बर बढी पनि पार्टीकै शीर्ष नेतृत्वले माओवादीलाई सुम्पिने गरी सहमति गरेको भन्दै एमाले नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनीमा एमालेका २९ र माओवादीका १० सांसद रहेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ सांसदको आवश्यक पर्दछ । यहाँ केन्द्रीय गठबन्धनमा रहेको जसपाका ३ र नेकपा एसको १ को मात्रै साथले सरकार बन्दैन अन्य साना दलको पनि साथ खोज्नुपर्ने छ ।

सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् भने लुम्बिनीमा हाल कांग्रेसको नेतृत्वमा सरकार छ । कांग्रेस नेतृत्वको सरकार ढलेपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनको तयारी छ ।

यसैगरी एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ। मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई बताए । ‘लुम्बिनी र कर्णालीको सहमति भयो र अन्यमा पनि मोटामोटी सहमति भएको छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर