बझाङमा भण्डारीलाई जिताउन एमालेको आह्वान – Nepal Press

बझाङमा भण्डारीलाई जिताउन एमालेको आह्वान

कैलाली । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि बझाङ १ मा पार्टीको उम्मेदवार दमन भण्डारीलाई जिताउन एमालेले आह्वान गरेको छ ।

आज कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै एमालेका नेताहरूले निर्वाचन जिताउने गरी लाग्न नेता कार्यकर्ताहरूलाई सामूहिक आह्वान गरेका हुन् ।

प्रदेश सभा क को उपनिर्वाचन विशेष भेला तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमकाका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्ण थापाले सुदूर प्रदेश सरकारमा नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक रहेको बताए ।

उनले नयाँ वर्षमा नयाँ कामको सुरुवात गर्नु पर्ने भन्दै आगामी वर्षको सुरुवात बझाङमा एमाले विजयी भएको खबरबाट हुनुपर्ने बताए । बझाङमा एमाले विजयी हुँदा सुदूरपश्चिम प्रदेश सरकार सजिलै बन्ने र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार हुने उनको भनाइ थियो ।

बझाङ र इलामको निर्वाचनले ०८४ को सङ्केत गर्ने हुँदा दुवै ठाउँमा एमालेका उम्मेदवारलाई विजयी बनाएर मिसन ०८४ सङ्केत गर्न समेत उनले आग्रह गरेका थिए ।

सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बझाङ बाहिर रहेका मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन र एमालेको उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । उनले नयाँ सरकार निर्माणको चरणमै रहेको भन्दै बझाङबाट भण्डारी निर्वाचित भएर आए मन्त्री बन्ने प्रबल सम्भावना रहेको बताए ।

केन्द्रीय सदस्य ऐन महरले सबैलाई एमालेको पक्षमा जनलहर तयार गर्न आग्रह गरेका थिए । उनले बझाङको उपनिर्वाचनमा चुनाव जित्न सहज भएको भन्दै सबै आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका थिए ।

उनले निर्वाचनको समय धेरै नभएको भन्दै बझाङ जान र एमालेका उम्मेदवारलाई जिताउने गरी लाग्न समेत आग्रह गरे। कार्यक्रममा उम्मेदवार रहेका भण्डारीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार गर्ने गरी लाग्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा राजेन्द्रसिंह रावल, भैरवसिंह, आशा विक, एलवि रावल,राजेश खाती लगायतले धारणा राखेका थिए । उनीहरूले बझाङको उपनिर्वाचन मार्फत एमालेले एक सिट थप गर्ने बताए । त्यसका लागि सबै नेता कार्यकर्ताहरू एकजुट भएर निर्वाचनमा होमिनु पर्ने उनीहरूको साझा धारणा थियो । कार्यक्रम किसान महासङ्घका प्रदेश अध्यक्ष मदन रेग्मीले सञ्चालन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर