निकुञ्जको बाघ खोरमा थुनेर देखाउनु कति उचित ? – Nepal Press

निकुञ्जको बाघ खोरमा थुनेर देखाउनु कति उचित ?

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बुधबार भरतपुर १३ देवनगरस्थित वन्यजन्तु उद्दार केन्द्रको तामझामपूर्वक उद्घाटन गर्यो । जिल्लाका सबैजसो सरकारी निकायका प्रमुख तथा प्रतिनिधिसहितको उपस्थितिमा वन्यजन्तु उद्दार केन्द्रको उद्घाटन भयो ।

दुई नरभक्षी बाघ जसलाई उद्दार गरि खोरमा राखिएको छ । भरतपुर महानगरपालिकाले खोरमा राखिएको बाघ हेर्न चितवन आउनुस् भनेर सार्वजनिक आह्वान समेत गरेको छ ।

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले बुधबारको सार्वजनिक कार्यक्रममा नै बाघ मात्रै होइन गैँडा समेत ल्याएर खोरमा राखेर पर्यटकलाई देखाउने तयारी गरिरहेको बताइन् ।

चितवन राष्ट्रिय निकुञ्जले ५० लाख खर्च गरेर बनाएको खोरमा दुई वटा भाले बाघ राखिएको छ । दुईवटा मध्ये एउटा बर्दियाबाट नियन्त्रणमा लिइएको बाघ हो । जसको उमेर ११ वर्षको छ । भने, अर्को ८ वर्षको बाघ ‘इन्क्लोजर’ मा राखिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्दार केन्द्रमा दुई वटा कोठाका खोर छन् । खोरको लम्बाइ ५३ र चौडाइ ४० फिट रहेको छ । प्रत्येक कोठालाई २६.५ फिट र ४० फिटका दुई भागमा विभाजन गरिएको छ ।

प्रत्येक खण्डमा पानी पोखरी राखिएको छ । भने १३/१३ को मासु खुवाउने प्रयोजनको कोठा पनि बनाइएको छ । भवनको पूर्व र पश्चिममा अवलोकनको लागि दुई वटा मचान बनाइएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनेको उक्त उद्दार केन्द्रमा बाघ अवलोकनको लागि दुई मचान र मुल सडकबाट उद्दार केन्द्रसम्म जाने बाटो भरतपुर महानगरपालिकाको बजेटमा निर्माण गरेको हो । भने कर्मचारी बस्ने भवन र बाघको खोर वन्यजन्तु विभागको बजेटबाट निर्माण गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

हल्ला हुने ठाउँमा राख्दा बाघलाई तनाव हुने जोखिम

चितवन राष्ट्रिय निकुञ्जले उद्दार केन्द्र बनाउन थाल्दा भरतपुर भ्रमण वर्षको तामझाम थिएन । करिब ६ वर्षअघिदेखि निकुञ्जभित्रबाट समस्याग्रस्त उद्दार गरिएका जंगली जनावर राख्ने खोर पर्याप्त नभएपछि केन्द्रीय बजेट मार्फत नै बनाउने तयारी गरिएको थियो ।

चालु आर्थिक वर्षमा भ्रमण वर्षको चर्चा आउन थालेपछि मात्रै यसलाई भरतपुर भ्रमणवर्षसँग जोड्ने योजना बनेको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन चितवन राष्ट्रिय निकुञ्ज ऐन २०२९ को पाँचौ संशोधनले व्यवस्था गरेअनुरुप उद्दार केन्द्रलाई भरतपुर भ्रमण वर्षसँग जोडिएको बताउँछन् ।

ऐनको दफा १५ चिडियाखाना, वन्यजन्तु उद्दार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्न सकिने व्यवस्था छ । सो व्यवस्था अनुसार कुनै संस्था, निकाय वा स्थानीय तहलाई अनुमति लिएर चिडियाखाना, उद्दार केन्द्र, वन्यजन्तु अस्पताल सञ्चालन गर्न सकिनेछ भनिएको छ ।

पुनले भने, ‘हामीले उद्दार केन्द्रको रुपमा थालनी गरेका थियौँ, पछि गएर केही निर्माण सहयोग गरि भरतपुर महानगरले पर्यटनसँग जोड्न चाहनुभएको कुरा स्वीकार गरेका हौँ । यद्यपि कुन मोडलमा उद्दार केन्द्र सञ्चालन गर्ने भन्ने दुबै पक्षले निर्णय भने गरेका छैनन् ।’

बुधबार भएको उद्घाटनमा जिल्लाका करिब दुई सय बढी मानिसको सहभागिता थियो । उक्त क्रममा बाघले निकै होहल्ला र तनाब महसुस गरेको सार्वजनिक भएका भिडियोहरुमा पनि देख्न सकिन्छ ।

निकुञ्जले उद्दार गरिएका बाघ सर्वसाधारणलाई देखाउने गरि गरेको तयारीले बाघ थप तनावमा पर्नसक्ने जोखिम विज्ञहरुले औल्याएका छन् । चितवन राष्ट्रिय निकुञ्जको स्थापनाकालका प्रमुख संरक्षण अधिकृत रामपृत यादव निकुञ्जले खोर बनाएर भन्दा बन क्षेत्रलाई नै प्राकृतिक वासस्थान जस्तोगरि व्यवस्थापन गरेर राख्नुपर्ने धारणा राख्छन् ।

‘बाघ शान्तस्थल मन पराउने जनावर हो । उद्दार गरेर ल्याइएका बाघलाई बानी सुधार गराएर पुरानो बासस्थानमा फर्काउन सकिने सम्भावना पनि हुन सक्थ्यो ।’ उनी भन्छन्,’मैले त खोर होइन मध्यवर्ती क्षेत्रका जंगललाई नै व्यवस्थापन गरेर राख्नुपर्छ भनेको थिएँ । यसरी मानिसको आवतजावतले बाघलाई झन् तनाव बढ्न सक्छ ।’

वन्यजन्तु विज्ञ डा.बाबुराम लामिछाने उद्दार गरि ल्याइएका बाघ लगायतका जनावरलाई मान्छेलाई शिक्षाको हिसाबले देखाउन प्रयोग गर्न सकिने भएपनि भविष्यमा पर्यटन प्रवद्धन भन्ने हिसाबले निकुञ्जकै जनावर समातेर भने ल्याउन नहुने बताउँछन् ।

बाघ व्यवस्थापनको हिसाबले संरक्षण स्थलमा राखेर यसको व्यवस्थापकीय खर्च जुटाउन खोज्नु राम्रो पक्ष होला उनले भने,’ तर, मानिसहरुको भीडभाड हुनेगरि वन्यजन्तुलाई तनाव उत्पन्न हुने अवस्था भने बनाउनु हुँदैन ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकाल समस्यामा रहेका बाघलाई स्थानीय तहसँगको समन्वयमा व्यवस्थापनको लागि उद्दार केन्द्रमा पर्यटन जान सक्ने व्यवस्था गरिएको बताउँछन् ।

तर, निकुञ्जले निकुञ्जभित्र प्राकृतिक वासस्थलमा रहेका जनावरलाई देखाउनको लागि उद्दार केन्द्र स्थापना नभएको दाबी गरे । ‘समस्याग्रस्त वन्यजन्तु उद्दारको लागि उक्त केन्द्र बनाइएको हो, प्रवक्ता ढकाल भन्छन्, ‘ पूर्वधार र व्यवस्थापनको लागि स्रोत साधन कम भएको कारणले स्थानीय वा प्रदेश स्तरमा पनि समन्वय गरेर जाने तयारी गरिरहेका छौँ ।’

उनले उक्त उद्दार केन्द्रमा बाघ बाहेक अरु जनावर राख्ने योजना नभएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर