रविसँग कांग्रेसको भय कि कुण्ठा ? – Nepal Press

रविसँग कांग्रेसको भय कि कुण्ठा ?

रवि लामिछानेलाई सहकारी विवादमा जबरजस्ती तानिएको एक वर्षभन्दा बढी भयो । यसबीचमा उनले पटक पटक आफूले गल्ती नगरेको स्पष्टीकरण दिए । सरकारकै अनुसन्धानमा पनि कुनै कैफियत भेटिएको छैन । तर, रविको नामैसँग चिड्चिडाहट भएको एउटा तप्का उनलाई जसरी पनि दोषी करार गर्न उद्यत छ । रविलाई बदनाम गरेर चाँडोभन्दा चाँडो सत्ताबाट ओराल्नु र सकेसम्म राजनीतिबाटै लखेट्नु यो तप्काको एक सूत्रीय एजेन्डा हो ।

सहकारीको विवाद अदालत पुग्दासम्म उनलाई प्रतिवादी बनाइएको छैन । आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण हुन्थ्यो भने कानूनी कारबाहीको भागीदार हुन कसैले रोक्न सक्थेन । उनी ‘पावर’ मा आएको कति नै भयो र ! आज संसदीय समितिको माग गर्दै संसद अवरोध गर्ने कांग्रेस फागुन २१ गते अघिसम्म सरकारमै थियो । आफैं सरकारमा हुँदा रविलाई दोषी नदेखेको कांग्रेसले अहिले यसरी रडाको गर्नुमा सत्ता गुमाएको पिरलोबाहेक केही होइन भन्ने सहज अनुमान गर्न सकिन्छ ।

कांग्रेसले रविलाई यसरी घेर्नुअघि आफ्नो अनुहार ऐनामा राम्ररी हेरेको भए हुन्थ्यो । भ्रष्टाचारले डुङडुङ्ती गन्हाएका नेताहरु सबैभन्दा बढी कांग्रेसमै छन् । कांग्रेसका नेता को भ्रष्टाचारी हुन् भन्ने प्रश्नभन्दा अगाडि को होइनन् भन्ने प्रश्न बढी सान्दर्भिक हुनसक्छ । नेतृत्व पंक्तिका दुई-चारबाहेक सबै नेता भ्रष्टाचारको चास्नीमा डुबुल्की मारेरै आएका हुन् । रविले भटाभट ठूला माछा समात्न थालेपछि आफूहरु पनि निशानामा पर्ने डरले त कांग्रेस नेताहरु तिल्मिलाएका होइनन् ? कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवासमेत छानबिनमा तानिनसक्ने चर्चाले कांग्रेसको डाँको ठूलो भएको त होइन ? यस्ता आशंकाहरु पनि फजुल नहोलान् ।

सुरुमा उपप्रधान एवं गृहमन्त्रीबाट रविको राजीनामा नै मागेको कांग्रेस प्रधानमन्त्रीको जवाफपछि संसदीय छानबिन समितिको अडानमा झरेको हो । प्रधानमन्त्रीले बलिया तर्कसहित स्पष्ट शब्दमा रवि बेकसुर रहेको बताइसकेपछि कांग्रेस अप्ठेरोमा परेको थियो । प्रधानमन्त्रीले चैत ६ गते संसदमा जवाफ दिँदै सहकारीको मुद्दालाई अनावश्यक राजनीतीकरण नगर्न कांग्रेसलाई आग्रह गरेका थिए । सरकारको सबैभन्दा ठूलो दल एमालेले संसदीय समितिको माग इन्कार गरिसक्यो । कांग्रेसले न रविका विरुद्ध जनमत नै सिर्जना गर्न सकेको छ ।

प्रधानमन्त्री र एमालेको समेत बलियो साथ पाएका रवि आफैंले पनि आत्मविश्वासपूर्वक कांग्रेसको प्रतिवाद र प्रतिरोध गरेका छन् । अब पार नलाग्ने बुझेर कांग्रेसका केही नेता ‘संसदीय छानबिन समितिले सधैंका लागि रविलाई चोख्याएर सजिलो बनाइदिए भइहाल्यो नि’ भन्दै नरम भाषा बोल्दैछन् । अर्थात्, कांग्रेस गल्दो छ र फेससेभिङको खोजीमा छ ।

आफू सरकारमा हुँदा चुप बसेको कांग्रेसले रास्वपा सरकारमा सहभागी भएपछि रविबारे अनावश्यक राजनीतीकरण गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । सत्ता सहयात्री एमालेले पनि कांग्रेसको मागलाई राजनीतिक पूर्वाग्रहले ग्रसित भनेको छ ।

कांग्रेसले मुद्दा जति नै चर्काउन खोजे पनि हालसम्मका तथ्य र प्रमाणले सहकारी प्रकरणमा रविको संलग्नता नदेखिएको यथार्थ हो । पोखराको सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन । यो दरखास्तउपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरियो । यो मुद्दा अदालतमा अझै विचाराधीन छ । ती १९ मध्ये चारजना पक्राउ परेका छन् । बाँकीको प्रहरीले खोजी गरिरहेको छ । मूल उजुरी परेको ६ महिनापछि रविविरुद्ध व्यापक मिडियाबाजी सुरु भयो । त्यसपछि माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा रविसमेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाएर पूरक जाहेरी दिइएको हो, त्यो पनि विनाकुनै प्रमाण ।

चैत ६ गते संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे जवाफ दिँदै प्रधानमन्त्री दाहालले भनेका थिए- ‘मूल उजुरीपछि थप प्रमाण भेटिएमा पूरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ । तर, उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेश गरिएको छैन । एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाणविनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नै हुँदैन । त्यसैले प्रहरीले कानूनबमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्नसमेत उपयुक्त ठानेन । यो कुरा उहाँ सरकारमा आउनुअघिको विषय हो । त्यतिबेलाको सरकारमा त अहिले प्रश्न गर्ने कांग्रेस स्वयम् सहभागी थियो ।’

आफू सरकारमा हुँदा चुप बसेको कांग्रेसले रास्वपा सरकारमा सहभागी भएपछि रविबारे अनावश्यक राजनीतीकरण गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । सत्ता सहयात्री एमालेले पनि कांग्रेसको मागलाई राजनीतिक पूर्वाग्रहले ग्रसित भनेको छ । आइतबार सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए, ‘प्रधानमन्त्रीको निम्ति आफैंले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधबाहेक अरु केही हुन सक्दैन ।’

फागुन २१ गते प्रधानमन्त्रीले सत्ता समीकरण फेर्दै कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई गलहत्याइदिनु कांग्रेसका लागि अकल्पनीय दुर्दशा थियो । त्यसपछि जसरी पनि प्रचण्डसँग ‘बदला’ लिन उद्यत कांग्रेसका केही नेताले लामिछानेलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको सत्य हो । यदि, रवि तयार भएको भए यो समीकरण पनि भत्किएर नयाँ बन्नसक्ने अवस्था थियो र कांग्रेस फेरि सत्तामा फर्किन सक्थ्यो । तर, रवि आफ्नो ललिपपमा नलोभिएपछि कांग्रेस विक्षिप्त बनेको बुझ्न सकिन्छ । होइन भने आफैंले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्री अस्वीकार्य मान्नुपर्ने कुनै कारण छैन । प्रधानमन्त्रीमा योग्य व्यक्ति गृहमन्त्रीमा अयोग्य हुन्छ ?

कांग्रेसका केही नेता रविले आफ्नो ‘एक्सन’ कांग्रेस लक्षित नगर्ने प्रतिबद्धता जनाए यो माहोल क्रमशः मत्थर हुने अनौपचारिक कुराकानीमा बताउने गर्छन् । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गराउने र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्न कसैलाई नछोड्ने रविको प्रतिबद्धताले कांग्रेसभित्र आतंक छाएको देखिन्छ ।

अझ रोचक त कांग्रेसका युवा भनिएका नेता रविविरुद्ध सबैभन्दा बढी खनिएका छन् । कांग्रेसले लामिछानेको राजीनामा वा संसदीय छानबिन समिति गठनबारे संस्थागत निर्णय गरेको छैन । तर, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले रविको बद्नामीलाई नै मानौं जीवनमरणको मुद्दा बनाएका छन् । किन ? किनकि रविको राजनीतिक छवि र उचाइ बढ्दा उनीहरुको स्वतः घट्छ । भनिन्छ नि, साथी पास हुनुभन्दा ‘फस्ट’ हुनुले बढी पिरोल्छ । उनीहरुको मनोदशा पनि यस्तै देखिन्छ । होइन भने उनीहरुले कांग्रेस सरकारमा र रवि प्रतिपक्षमा हुँदा नै उनलाई कारबाही गर्न यसरी दबाब किन दिएनन् ?

रविले कांग्रेसका युवा नेता, खासगरी गगन थापालाई नै लक्षित गरेर खुला चुनौती दिएका छन् । गगनको निर्वाचन क्षेत्र ‘काठमाडौं ४’ मै आफ्नो मुद्दामाथि बहस गर्न कांग्रेस नेताहरुलाई रविको आमन्त्रण छ ।

शनिबार काठमाडौंको कालिमाटीमा आयोजित पार्टी कार्यक्रममा रविले भने- ‘एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ । म उहाँहरुलाई भन्न चाहन्छु- तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ ? सदनमा त मलाई बोल्न दिनुभएको छैन । मैले आफ्ना कुरा राख्न पाएको छैन । ठीक छ, जनताको माझमा खुला रूपमा बहस गरौं । तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस् । तपाईं भएभरका सबै लयर र प्रभावशाली नेताहरू बोकेर आउनुहोला । सबै प्रमाणहरु लिएर आउनुहोला । म एक्लै आउँछु ।’

उनले थपे, ‘सहकारीको विषयमा अदालतमा मुद्दा गएको छ, रवि लामिछाने प्रतिवादी हो कि होइन ? हेरोस् । अनिमात्रै सदनमा कुरा गरोस् । जुन मुद्दामा बहस चलेको छ, त्यो सबै प्रमाण बोकेर आओस् । मलाई प्रमाणित गरिदिए हुन्छ, तत्काल के गर्नुपर्ने त्यहीबाट गरौंला । मेरो चुनौती छ । यति भन्दिनुस्, म कहाँ आउँ बहस गर्न ? एक्लै हरेक जिज्ञासाको जवाफसहित समाधान दिन्छु । यो बहस अझै काठमाडौं- ४ मा भयो भने मलाई सहज हुन्थ्यो ।’

रविप्रति कांग्रेसको बेचैनीका कारणलाई तीन बुँदामा समेट्न सकिन्छः

पहिलो- सत्ता सहयात्री बदलेर आफूलाई सरकारबाट गलहत्याएका प्रधानमन्त्रीमाथि नैतिक दबाब थोपर्नु ।

दोस्रो- रविलाई राजीनामाका लागि बाध्य पार्न सकिए रास्वपा सरकारबाट बाहिरिने र सरकारकै आयु छोट्याउन सहज हुने आँकलन ।

तेस्रो- रविको लोकप्रियता खुम्च्याउनु र उनले चाल्नसक्ने कदमबाट कांग्रेसतर्फ हुने क्षति रोक्नु ।

कांग्रेसका केही नेता रविले आफ्नो ‘एक्सन’ कांग्रेस लक्षित नगर्ने प्रतिबद्धता जनाए यो माहोल क्रमशः मत्थर हुने अनौपचारिक कुराकानीमा बताउने गर्छन् । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गराउने र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्न कसैलाई नछोड्ने रविको प्रतिबद्धताले कांग्रेसभित्र आतंक छाएको देखिन्छ । पछिल्लो समय कांग्रेस नेतृत्व रविसँग संवादको पक्षमा रहेको तर यथास्थितिमा रवि छलफलका लागि तयार नरहेको उच्च स्रोतको भनाइ छ ।

रास्वपा नेताहरुले रविलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको प्रमाण आफूहरुसँग रहेको दाबी गर्दै आएका छन् । जुन दिन उनीहरुले त्यो प्रमाण सार्वजनिक गर्छन्, त्यस दिन कांग्रेस नराम्ररी एक्सपोज हुने निश्चित छ । रविको बद्ख्वाइँले मूल मुद्दालाई विषयान्तर गरिरहेको तथ्य कांग्रेसले बुझ्न जति ढिला गर्छ, उसको राजनीतिक स्खलन त्यति तीव्र हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *